
१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९औं महिना (साउन–चैत) कट्दा विकास बजेट १ खर्ब नाघेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । जुन यस वर्ष सरकारले लिएको लक्ष्यको तुलनामा मात्र २९.२ प्रतिशत हो । सरकारले यसवर्ष ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ बराबर विकास खर्च विनियोजन गरेको छ ।
आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा खर्च गर्नुपर्ने रकम भने ७० प्रतिशत भन्दा धेरै बाँकी छ । यसले सरकारको विकास प्राथमिकता माथि प्रश्न खडा गरेको छ ।
सरकारले पछिल्ला आर्थिक वर्षहरूमा पूँजीगत खर्चको ६० प्रतिशत हाराहारी मात्र खर्च गर्न सकेको देखिन्छ । अर्थ मन्त्रालयले विकास बजेट खर्च गर्न नसक्ने भए बाँकी बजेट सरेन्डर गर्न विकासे मन्त्रालयहरूलाई भनिसकेको छ ।
उता, समग्र बजेट खर्च भने झन्डै १० खर्ब पुगेको छ । जसमा चालु खर्च अधिक छ । कुल बजेट खर्च ९ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ५३.६७ प्रतिशत हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ ।
चालु खर्च ६ खर्ब ७८ अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ । जुन लक्ष्यको ५९.४५ प्रतिशत हो । यस वर्ष सरकारले ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बराबर चालु खर्चको लक्ष्य राखेको छ । वित्तीय व्यवस्थातर्फको बजेट समेत लक्ष्यको ५९.२३ प्रतिशत खर्च भइसकेको छ ।
उता राजस्व संकलनमा भने सरकारले लक्ष्य भेटाउन असफल भएको छ । चैतसम्म १० खर्ब माथिको राजस्व संंकलनको लक्ष्य रहेकोमा ८ खर्ब ४० अर्ब रुपैयाँ हाराहारी मात्र राजस्व उठेको छ । यस वर्ष सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4