
१ वैशाख, काठमाडौं । वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी कारागार मुक्त भएका छन् ।
सोमबार बिहान १० बजेतिर गिरी डिल्लीबजार कारागारबाट छुटेका हुन् । ‘राति अबेर सफाइ पाएको भन्ने फैसलाको कागजात आइपुगेपछि उहाँ आज बिहान छुट्नु भएको हो,’ डिल्लीबजार कारागारका सहायक प्रशासक शेरबहादुर थापाले अनलाइनखबरसँग भने ।
उच्च अदालत पाटनले आइतबार गिरीलाई वैवाहिक बलात्कारको कसुरबाट सफाइ दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएपछि उनी छुटेका हुन् ।
गिरीलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरिएकी थिइन् । त्यसपछि न्याय परिषद्ले उनलाई निलम्बन समेत गरेको थियो ।
जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने फैसला सुनाएको थियो।
उक्त मुद्दामा जिल्ला अदालत, काठमाडौंले गत २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्लाले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो। जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए।
तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो। पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्ट्याउँदै उच्चले सफाइ दिएको थियो ।
जाहेरीमा २०७९ चैत को २७ गते रातिदेखि २८ गते दिउँसोसम्म ८ पटक बलात्कार गरेको भन्ने थियो । तर, जाहेरीवालाले बकपत्रमा भने २८ गते बिहानको खाना सँगै पकाएर खाएको बताएकोले यो अभियोग शंकारहित तवरबाट स्थापित हुन नसक्ने अदालतको ठहर छ ।
उक्त परिस्थितिमा गिरीमाथिको अभियोग वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेकोले काठमाडौं जिल्ला अदालतको सुरुको फैसला उल्ट्याएर सफाइ दिइएको हो ।
प्रतिक्रिया 4