
१ वैशाख, काठमाडौं । सगरमाथाको ‘डेथ जोन’ भनिने क्षेत्रबाट एकजना मलेसियन आरोहीलाई साहसिक उद्धार गरेका ङिमा टासी शेर्पा अन्नपूर्ण हिमालमा एक हप्तादेखि बेपत्ता भएका छन् । चैत २५ गतेदेखि बेपत्ता भएका उनी अब सकुशल भेटिने आश मारेर खोजीकार्य बन्द गरिएको छ ।
उनी आबद्ध सेभेन समिटका म्यानेजर थानेश्वर गुरागाईंका अनुसार आरोहीका सामान पुर्याउन क्याम्प टुबाट थ्रीमा जाँदै गर्दा हिम पहिरोमा परेर ङिमा टासी शेर्पा र रिमा रिन्जी शेर्पा बेपत्ता भएका हुन् ।
बेपत्ता भएको दिनदेखि नै दुई हेलिकोप्टर र पाँच शेर्पाहरुको टोलीले खोज्दा पनि फेला नपरेपछि अब सकुशल भेटिने आश मारेको गुरागाईंले बताए । उनले भने, ‘तीन–चार दिन लगाएर खोज्नेजति सबै खोज्यौं तर भेट्न सकेनौं । अब सम्भावना छैन भनेर नियमित कामतिर लागेका छौं ।’
गेल्जे र ङिमाले गरेको ‘चमत्कार’
२०८० सालको जेठ पहिलो साता सोलुखुम्बुको खुम्बुपासाङ गाउँपालिकाको थामे घर भएका २९ वर्षीय ङिमा र सोलुखुम्बुकै सोलुदूधकुण्ड नगरपालिका तात्तिङ घर भएका ३० वर्षीय गेल्जे शेर्पाले सगरमाथाको करिब ८ हजार ४०० मिटर उचाइमा अलपत्र फेला परेका मलेसियन नागरिकलाई बोकेर उद्धार गरेका थिए ।
त्यतिबेला गेल्जेको राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा बढी चर्चा भए पनि ङिमाको भने कम चर्चा भएको थियो ।
पंक्तिकारको अनुरोधमा ङिमा अनलाइनखबरको स्टुडियोसम्म आएर उद्धार गर्दाको अनुभव साझा गरेका थिए । उनले भनेका थिए, ‘डेथ जोनबाट एक जनालाई जीवितै तल ल्याउन सकियो । शेर्पाहरुको प्रचार भयो । देशका लागि ठूलो काम गर्न सकेको जस्तो लागेको छ ।’
आरोहीहरुका अनुसार सगरमाथाको बालकोनी भनिने आठ हजार भन्दा बढी उचाइबाट कसैलाई उद्धार गर्नु असम्भव जस्तै मानिन्छ । यही क्षेत्रमा धेरै आरोहीको ज्यान समेत जाने गरेकाले यसलाई ‘डेथ जोन’ भन्ने गरिन्छ ।
तर ङिमा र गेल्जेले बालकोनी क्षेत्रमा अलपत्र फेला परेका मलेसियन नागरिकलाई सकुशल उद्धार गर्दा पर्यटन विभागका एक अधिकारीले ‘चमत्कार’ भएको भनेर अनलाइनखबरलाई प्रतिक्रिया दिएका थिए ।
पर्यटन विभागको पर्वतारोहण शाखाका तत्कालीन अधिकृत विज्ञान कोइराला ‘क्याम्प टु’भन्दा माथिबाट कसैलाई उद्धार गर्नु असम्भव जस्तै हुने बताएका थिए । ‘क्याम्प टुभन्दा माथिबाट कसैलाई उद्धार गर्नु भनेको धेरै दुर्लभ हो । यसलाई मिराकल नै भन्न सकिन्छ,’ कोइरालाले अनलाइनखबरसँग भनेका थिए ।
त्यतिबेला ङिमा र गेल्जेले हिउँ जमेको ठाउँमा घिसार्दै र चट्टान भएको ठाउँमा बोक्दै मलेसियन नागरिकलाई तल झारेका थिए । त्यसपछि ‘रवि’ भनेर बोलाइने ती मलेसियन नागरिकलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाएर उपचार गरी उनकै देश फर्काइएको थियो ।
उनै ङिमाले मलेसियन आरोहीलाई बोकेर हिँडेको फोटो र भिडियो गेल्जेले सामाजिक सन्जालमा पोष्ट गरेर एकजना विदेशी आरोहीलाई उद्धार गरेको लेखेका थिए । ती आरोहीलाई कालो म्याट र स्लिपिङ ब्यागमा बेरेर, डोरीले बाँधेर गेल्जे र ङिमाले बोकेर हिँडेको फोटो/भिडियो एकैछिनमा भाइरल भएको थियो । विश्वका प्रतिष्ठित मिडियाहरुमा नेपाली शेर्पा गाइडहरुको उच्च प्रशंसासहित समाचार प्रकाशित भएको थियो ।
त्यतिबेला ङिमाले अनलाइनखबरसँग भनेका थिए, ‘म त्यो विदेशीलाई बोकेर हिँडिरहेको थिएँ । त्यहीबेला गेल्जेले फोटो र भिडियो खिचेर इन्स्टामा हाल्यो, त्यही भाइरल भयो ।’
अन्नपूर्ण हिमालमा कसरी बेपत्ता भए ?
२०८१ चैत २५ गते अर्थात् सन् २०२५ अप्रिल ७ मा अन्नपूर्ण हिमालको शिखरसम्म अक्सिजन सिलिण्डर पुर्याउन ङिमा र रिमासहित पेमा थेन्डुक, नवाङ थिन्दु, निमा वाङ्दाक, लाक्पा तेम्बा र मिङ तेम्बा खटिएका थिए ।
तर दिउँसो करिब १२ बजे क्याम्प टुमा गएको हिमपहिरोमा परेर ङिमा र रिमा बेपत्ता भएको सेभेन समिट ट्रेकका म्यानेजर थानेश्वर गुरागाईंले बताए ।
अर्का आरोही पेमा थेन्डुकलाई पनि हिम पहिरोले बगाएको थियो । तर उनी मुस्किलले जोगिए । त्यसपछि उनीसहित पाँच जना साथी मिलेर हराइरहेका ङिमा र रिमाको खोजी सुरु गरेका थिए । तर हराइरहेकाहरुको पत्ता लागेको छैन ।
‘हराइरहेका व्यक्तिहरुको कुनै संकेत फेला परेको छैन,’ सेभेन समिट ट्रेकका म्यानेजर थानेश्वर गुरागाईंले अनलाइनखबरसँग भने, ‘हिमपहिरो गएको पहिलो दिनदेखि नै हेलिकप्टरमार्फत खोजी सुरु गरिएको थियो । कप्तान सोभित गौचनले साँझसम्म खोजी उडान गरे । त्यसपछिका दिनहरुमा थप हेलिकप्टर र स्थल टोली परिचालन गरी खोजियो तर, हिमपहिरोले क्याम्प २ र क्याम्प ३ बीचको बाटो पूर्णरूपमा ध्वस्त भएकाले खोजी र उद्धार कार्य अत्यन्तै कठिन भयो ।’
जीवित भेटिने आश मर्यो, खोजीकार्य बन्द
अब भने सेभेन समिटको टोलीले ङिमा र रिमा सकुशल नभेटिने निष्कर्ष निकालेर खोजी कार्य बन्द गरेको छ ।
‘हिम र बरफको थुप्रोमा लामो समयसम्म कोही जीवित रहन सक्दैन,’ सभेन समिट ट्रेकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यस्तो ठाउँमा खोजी प्रयास जारी राख्नु भनेको अन्य शेर्पा र सदस्यहरूको ज्यान जोखिममा राख्नु हो । यसकारण, गहिरो दुःखका साथ हामीले खोज प्रयासलाई रोक्ने र ङिमा टासी र रिमा रिन्जीलाई बिदाइ गर्ने कठिन निर्णय लिएका छौं । हामीले हाम्रा उत्कृष्ट दुई शेर्पा गाइडहरू गुमाएका छौं ।’
सेभेन समिटले यो घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
सातपटक सगरमाथा चढेका थिए ङिमा
ङिमा र रिमा दुवै कुशल शेर्पा गाइड थिए । उनीहरु सेभेन समिट ट्रेक्ससँग पूर्णकालीन सेवामा आबद्ध थिए ।
ङिमाले थुप्रै ठूला हिमालहरुमा डोरी फिक्सिङको नेतृत्व गरेका थिए । उनले ७ पटकसम्म सगरमाथा आरोहण समेत गरेका थिए । ७ हजार र ६ हजार मिटरका अरु कयौं हिमालहरु पनि आरोहण गरेका थिए।
सन् २०२४ नोभेम्बर २७ मा ङिमा टासीले फुरा छिरिङसँग मिलेर ६ हजार १४१ मिटर अग्लो सोलुखुम्बुको यासा थाक हिमालको पहिलो आरोहण गरेका थिए । यासा थाक आरोहणका लागि खुला गरिएको नयाँ हिमाल हो ।
ङिमा र रिमाले हालै अन्नपूर्ण हिमाल आरोहणको तयारी स्वरुप चुलु वेस्ट हिमालको सफल आरोहण समेत गरेका थिए ।
प्रतिक्रिया 4