
सुरुमै भनिहालौं, यो रक्सीको गुणगान होइन । न त रक्सीको प्रवर्द्धन नै । यद्यपि रक्सी पिएपछि मान्छेले एक किसिमको आनन्द महसुस गर्छन् । डर र लाजबाट मुक्त भएको अनुभूत गर्छन् । किन ? सम्भवत पियक्कडहरूले पनि यो प्रश्नको उत्तर खोजेका छैनन् होला ।
वास्तवमै रक्सीको त्यस्तो विशिष्ठ स्वाद हुँदैन, जसले गर्दा जिब्रोलाई लोभ्याइरहन्छ । बरु रक्सी पिएपछि मान्छेले जस्तो अनुभूत गर्छ, त्यसैको कारण पिउन मन गर्छन् । चाहे तितो होस् वा टर्रो, मान्छेले नाक थुनेर भए पनि रक्सी पिउँछ । किनभने, रक्सी पिएपछि प्राप्त हुने तामसिक आनन्दका लागि ।
रक्सी पिएपछि रमाइलो महसुस हुनुमा मस्तिष्कको ठूलो खेल छ । जसै मान्छेले रक्सी पिउँछन् त्यसले मस्तिष्कको रसायनिक प्रक्रिया, न्यूरोट्रान्समिटरहरूको सक्रियताले रमाइलो भएको अनुभूत गराउँछ ।
यस्तो किन गराउँछ ? भात वा अन्य खानेकुरा खाँदा किन गराउँदैन ?
यसको जवाफ खोज्नुअघि रक्सीमा हुने विशेष किसिमको रसायनलाई बुझ्न जरुरी हुन्छ ।
रक्सी के हो ?
रक्सीको मुख्य घटक इथानोल हो । यो एक साइकोएक्टिभ पदार्थ हो । यस्तो पदार्थ जब हामी पिउँछौं, त्यो रगतमा मिसिन्छ र मस्तिष्कसम्म पुग्छ । यसले मस्तिष्कको विभिन्न भागलाई प्रभाव पार्न थाल्छ ।
यसले खासगरी मस्तिष्कमा डोपामाइन, सेरोटोनिन र ग्लुटामेट जस्ता हर्मोनलाई प्रभाव पार्छ । यी न्यूरोट्रान्सिमटरहरूले हाम्रो भावना, व्यवहार र अनुभवलाई नियन्त्रण गर्छन् ।
जब रक्सीको मात्रा बढ्न थाल्छ यी रसायनिक प्रक्रिया तीव्र हुन्छ । अन्ततः हामीलाई रमाइलो जस्तो महसुस हुन्छ ।
आनन्दको रसायन स्राव
रक्सीमा हुने इथानोलले मस्तिष्कको रिवार्ड प्रणालीलाई सक्रिय गर्छ । यो प्रणाली डोपामाइन न्यूरोट्रान्समिटरको रिलिजसँग सम्बन्धित छ । डोपामाइन यस्तो हर्मोन हो, जसले हामीलाई खुसी, उत्साह र सन्तुष्टि दिलाउँछ । त्यसैले यसलाई ‘आनन्दको रसायन’ भनिन्छ ।
रक्सीले डोपामाइनको उत्पादन बढाउँछ । यही कारण मान्छेले हल्का र उत्साहित महसुस गर्छन् । यो प्रभाव सामान्यत: रक्सी पिएको पहिलो १५ मिनेटदेखि ३० मिनेटमा देखिन्छ । यस अवस्थालाई हल्का नशा भनिन्छ । यस क्षण मान्छेहरू सामाजिक कुराकानीमा रुचि राख्ने, हाँसखेल गर्ने व्यवहार देखाउँछ्न् ।
तनावमुक्त अवस्था
मान्छेहरू भन्छन्, ‘साह्रै पीर परेको छ रक्सी पिउनुपर्यो ।’ वास्तवमा मान्छेले रक्सी पिएपछि तनाव कम भएको महसुस गर्छन् । रक्सीले मस्तिष्कमा गाबा रिसेप्टरहरूलाई प्रभावित पार्छ ।
गाबा मस्तिष्कको प्रमुख अवरोधक न्यूरोट्रान्सिमटर हो, जसले न्युरनहरूको गतिविधिलाई कम गर्छ र तनाव, चिन्ता र अति सक्रिय भावनालाई शान्त बनाउँछ ।
यसले मस्तिष्कको गतिविधिलाई सुस्त बनाउँछ । यही कारण मान्छेले तनाव वा चिन्ता भुलेको महसुष गर्छन् । यस स्थितीमा मान्छेहरू हाँस्ने, गाउने र रमाइलो गर्ने गर्छन् ।
यसैगरी रक्सीले ग्लुटामेट न्यूरोट्रान्समिटरलाई पनि प्रभावित बनाउँछ, जुन मस्तिष्कको प्रमुख उत्तेजक न्यूरोट्रान्सिमटर हो । यस अवस्थामा उनीहरू वर्तमान क्षणमा रमाउन थाल्छन्, जसलाई हाइपोफ्रान्टालिटी पनि भनिन्छ । यतिबेला मान्छेले आफूलाई स्वतन्त्र र कुनै दबाब नभएको महसुस गर्छन् ।
रक्सीले सेरोटोनिनको स्तरलाई पनि प्रभावित गर्छ । सेरोटोनिन मुड र सामाजिक व्यवहारसँग सम्बिन्धित न्यूरोट्रान्समिटर हो ।
शारीरिक पनि प्रभाव
रक्सीको रमाइलो केवल मस्तिष्कमा मात्र सीमित छैन । यसले शरीरको अन्य प्रणालीलाई पनि प्रभावित गर्छ । जस्तो, रक्सीले रक्तनलीहरूलाई फैलाउँछ । यसले आरमदायी र न्यानो अनुभव गराउँछ । हृदयगति र श्वासप्रश्वासलाई पनि हल्का बढाउने हुँदा मान्छेले उत्साहको अनुभव गर्छ ।
क्षणिक रमाइलो
रक्सी पिएपछि रमाइलो महसुस त हुन्छ नै । तर त्यसो हुनुको कारण मस्तिष्कमा हुने रसायनिक प्रतिक्रिया हो, जुन स्थायी हुँदैन । रक्सीले रमाइलो गराउने भनेको एकाध घण्टा हो ।
यदि त्यसपछि पनि रक्सीको मात्रा बढाउँदै लगियो भने रमाइलो भन्दा बढी नरमाइलो गराउँछ । चक्कर लाग्ने, वान्ता हुने, शरीर नै नियन्त्रणबाहिर हुने जस्ता समस्या हुन्छ । कतिपय अवस्थामा यसले बेहोस गराउँछ भने कतिपय अवस्थामा मृत्यु पनि ।
विश्वमा अनगिन्ती उदाहरण छन्, रक्सी पिएपछि मृत्यु भएको । त्यसैले सामाजिक पेयको रुपमा यसलाई केवल रमाइलोका लागि पिउन सकिए पनि यसको मात्रा र आफ्नो शारीरिक अवस्थामा ख्याल गर्नुपर्छ । साथै खल्तीको पनि विचार गर्नुपर्छ । किनभने रक्सीले दरिद्र बनाउन कुनै समय लगाउँदैन ।
प्रतिक्रिया 4