
काठमाडौं । ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ बनाउने भएका छन् । नेपाली नयाँवर्ष २०८२ को अवसरमा सोमबार उनले नयाँ सोसल ड्रामा एवं फिचर फिल्म निर्देशन गर्ने जनाएका हुन् ।
यसबारे जानकारी दिन उनले थिम पोस्टर ल्याएका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।
सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ । पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन ।
निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ । २०८२ सालभित्र प्रदर्शन लक्ष्य राखिएको जनाइएको छ । कलाकारबारे विस्तृत जानकारी चाँडै दिइने भएको छ ।
शेर्पाले ‘कार्साङ’मा भएका कमी कमजोरीबाट पाठ सिक्दै दर्शकले खोजे र चाहेजस्तै फिल्म बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4