+

असुरक्षित यौन सम्पर्कबाट हुनसक्छ गोनोरिया, के हुन्छ लक्षण ?

२०८२ वैशाख  १ गते १७:१४ २०८२ वैशाख १ गते १७:१४
Shares
असुरक्षित यौन सम्पर्कबाट हुनसक्छ गोनोरिया, के हुन्छ लक्षण ?

अधिकांश जोडीहरूमा एउटा भ्रम छ – यौनसम्पर्क गर्दा कण्डम गर्भधारणबाट जोगिनका लागि मात्रै लगाउनुपर्छ । यदि गर्भ बस्ने जोखिम छैन भने कण्डम लगाउन जरुरी ठान्दैनन् । कतिपयले यसलाई अनावश्यक झन्झटका रुपमा लिन्छन् ।

यदि यस्तै अभ्यास गर्नेमा पर्नुहुन्छ भने तपाईं यौनजन्य संक्रमणको जोखिममा हुनुहुन्छ । किनकि, यसले गर्भ बस्नबाट बचाउने मात्र होइन, यौनजन्य संक्रमणको जोखिम पनि कम गर्छ ।

असुरक्षित यौन सम्बन्ध राख्दा संक्रमितबाट सर्ने रोग मध्ये एक हो, गोनोरिया ।

गोनोरिया के हो ?

गोनोरिया एक प्रकारको यौनजन्य संक्रमण हो । नेपालीमा धातुमेह भनिन्छ । जुन ‘निसेरिया गोनोरिया’ नामक ब्याक्टेरियाको कारणले एकबाट अर्कोमा सर्छ ।

असुरक्षित वा अप्राकृतिक तरिकाले यौन सम्बन्ध स्थापित गर्दा यो समस्या हुनुसक्छ ।

यो समस्या पुरुष र महिला दुवैको गुप्तांग र त्यस वरपरको क्षेत्रमा हुनसक्छ ।

कहिलेकाहीँ आँखा, घाँटी, मूत्रनली र मलद्वार लगायतका क्षेत्रमा समेत संक्रमण गराउन सक्छ ।

यद्यपि, यो रोग हात मिलाउँदा वा शौचालयको सिट प्रयोग गर्दा सर्दैन । यो अप्राकृतिक र असुरक्षित यौन सम्पर्कको कारणले मात्र सर्दछ।

सर्ने कारण

– अप्राकृतिक तरिकाले मलद्वारमा यौनसम्पर्क गर्नु ।

– सम्बन्ध बनाउँदा गर्भनिरोधक साधन जस्तै-कण्डमको प्रयोग नगर्नु ।

– एकभन्दा बढी यौनसाथी बनाउनु ।

-मुख, योनि वा मलद्वारमा गरिने मैथुन ।

– लागूपदार्थको प्रयोगले पनि व्यक्तिलाई असुरक्षित यौन व्यवहारमा संलग्न हुने सम्भावना रहनु ।

–  नियमित स्वास्थ्य जाँच र यौन रोगको स्क्रिनिङ नहुँदा यो रोग फैलिन सक्नु ।

कसरी लाग्छ ?

यदि संक्रमित पुरुषसँग महिलाले असुरक्षित यौनसम्पर्क गरेमा सर्ने सम्भावना एकदमै धेरै हुन्छ। तर, संक्रमित महिलाले असुरक्षित यौनसम्बन्धबाट गोनोरिया पुरुषमा सर्ने सम्भावना करिब २० प्रतिशत हुन्छ।

गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ

गर्भवती महिला गोनोरिया संक्रमित भएमा बच्चामा पनि रोग सर्ने सम्भावना धेरै रहन्छ। जसले गर्दा जन्मिएको शिशुमा आँखा रातो हुने, पिप बग्ने समस्या हुन सक्छ । समयमा आँखाको उपचार नगरे बच्चाको आँखामा स्थायी रुपमा अन्धोपन हुन सक्छ ।

यो समस्या हावाबाट, हात मिलाउँदा वा साझा शौचालय प्रयोग गर्दा सर्दैन । यो विशेष रूपमा यौनसम्पर्क वा संक्रमितको वीर्य, योनी स्रावको को सम्पर्कबाट मात्र सर्छ ।

लक्षण

यो पुरुष र महिला दुवैमा देखिने समस्या भए पनि लक्षण भने फरक-फरक देखिन सक्छ ।

पुरुषमा देखिने लक्षण

– पिसाब गर्दा दुखाइ वा पोल्नु ।

– लिंगबाट असामान्य स्रावः सेतो, पहेँलो वा हरियो रङको जस्तो तरल पदार्थ निस्कनु ।

– अण्डकोषमा दुखाइ वा सुन्निनु ।

– लिंगको टुप्पो रातो हुनु वा सुन्निनु ।

– बारम्बार पिसाब लाग्नु ।

महिलामा देखिने लक्षण

– योनिबाट पातलो असामान्य स्राव निस्कनु ।

– पिसाब गर्दा दुखाइ वा पोल्नु ।

– तल्लो पेट दुख्नेः पेल्भिक इन्फ्लेमेटरी डिजिजको संकेत हुनु ।

–  यौनसम्पर्क गर्दा पीडा हुनु ।

– महिनावारी नभएका बेलामा पनि रक्तस्राव हुनु ।

अन्य लक्षण

घाँटीको गोनोरिया : मुखमैथुनले गर्दा घाँटीमा संक्रमण भई घाँटी दुख्ने वा खसखस हुने हुन सक्छ । यो प्रायः लक्षणरहित हुन्छ ।

मलाशयको गोनोरिया : मलद्धार मैथुनबाट यो रोग मलाशयमा सर्दा दुखाइ, चिलाउने वा स्राव हुन सक्छ ।

आँखाको गोनोरिया : विशेषगरी नवजात शिशुमा आँखा रातो हुने, आसु बग्ने वा गम्भीर कन्जंक्टिभाइटिस हुन्छ ।

यदि उपचार नगरेमा, गोनोरियाले जोर्नी दुख्ने, छालामा घाउ, वा रक्तसंचार प्रणालीमा फैलिएर मेनिन्जाइटिस वा मुटुको भल्भमा क्षति समेत हुनसक्छ ।

यी लक्षण देखिएमा तुरुन्त चिकित्सकीय परीक्षण आवश्यक छ ।

कहिले अस्पताल जाने ?

यदि गोनोरियाको लक्षणहरू जस्तै पिसाब गर्दा दुखाइ, असामान्य स्राव, वा निजी अंगमा समस्या भएको महसुस हुन्छ भने जाँच गराउनुपर्छ ।

यदि कन्डमबिना असुरक्षित यौनसम्पर्क गर्ने बानी छ भने पनि गोनोरियाको जोखिम हुन सक्छ, त्यसैले जाँच गराउनु राम्रो हुन्छ ।

धेरै यौन साझेदार भएका व्यक्तिहरूले पनि गोनोरियाको जाँच नियमित रूपमा गराउनुपर्छ ।

यदि अरू कुनै यौन सञ्चारित रोग भएको शंका छ वा गोप्य अंगमा दुखाइ वा सुन्निने समस्या छ भने चिकित्सकको परामर्श लिनुपर्छ ।

के परीक्षण गर्ने ?

गोनोरियाको परीक्षण विभिन्न तरिकाले गरिन्छ । चिकित्सकले पुरुषहरूको जाँचका लागि सामान्यतया पिसाबको नमूना लिन सिफारिस गर्न सक्छन् । कहिलेकाहीँ वीर्यको नमूना पनि जाँचका लागि लिइन्छ।

महिलाहरूका लागि योनि स्रावको नमूना लिइन्छ । कहिलेकाहीँ मूत्रमार्गबाट पनि नमूना लिनुपर्ने हुनसक्छ । यदि घाँटीमा गोनोरियाको संक्रमण भएको शंका छ भने घाँटीको स्वाब लिइन्छ ।

उपचार

यदि गोनोरिया पुष्टि भएमा चिकित्सकले एन्टिबायोटिक इन्जेक्सन (जस्तै-:सेफ्ट्रियाक्सोन) र मुखबाट लिने एन्टिबायोटिक (जस्तै-:एजिथ्रोमाइसिन) दिन सक्छन् ।

यो रोग निको हुन केही दिन वा एक हप्ता समय लाग्न सक्छ । यो समयमा यौनसम्पर्क गर्नुहुँदैन । चिकित्सकले दिएको औषधि नियमित खानुपर्छ ।

औषधिको कोर्स पूरा भएपछि पनि कम्तिमा एकदेखि दुई हप्तासम्म यौन सम्पर्कबाट टाढा रहनुपर्छ । यदि यो संक्रमण लागेको छ भने, यौन साझेदारले पनि गोनोरियाबाट बच्न जाँच गराउनुपर्छ ।

गोनोरियासँगै क्लामाईडिया जस्ता अन्य यौन प्रसारित रोग पनि हुन सक्ने भएकाले त्यसको पनि उपचार गरिन्छ ।

डाक्टरको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गर्न भने हुँदैन । किनभने जथाभावी औषधिको प्रयोगले ब्याक्टेरियालाई प्रतिरोधी बनाउन सक्छ । जुन स्वास्थ्यको दृष्टिकोषले सही होइन ।

उपचार नगरेमा के हुन्छ ?

यदि संक्रमितको उपचार भएन भने महिलाको हकमा बाँझोपन हुनसक्छ । किनकी, गोनोरियाको संक्रमण पाठेघर र डिम्बवाहिनी नलीमा फैलिन सक्छ, जसले पेल्भिक इन्फ्लामेटरी डिजिज निम्त्याउँछ। यो समस्याले नलीमा क्षति पुर्‍याउन सक्छ, गर्भावस्थासम्बन्धी जटिलता बढाउन सक्छ र बाँझोपनको जोखिम बढाउँछ।

त्यस्तै, पुरुषहरूमा पनि यसले गोनोरियाले अण्डकोषको पछाडि र माथि रहेको नली सुन्निन सक्छ, जसलाई एपीडीडीमाइटिस भनिन्छ । उपचार नगरे यो बाँझोपनको कारण बन्न सक्छ।

गोनोरिया निम्त्याउने ब्याक्टेरिया रक्तसञ्चारमार्फत शरीरका अन्य भाग, विशेषगरी जोर्नीहरूमा फैलिन सक्छ । ज्वरो, दाग, छालामा घाउ, जोर्नी दुख्ने, जस्ता सम्भावित लक्षण हुन्।

एचआईभी/एड्सको जोखिम बढ्छ । गोनोरिया भएका व्यक्तिलाई एचआईभी संक्रमणको जोखिम बढी हुन्छ । गोनोरिया र एचआईभी दुवै भएका व्यक्तिले यी दुवै रोग सजिलै आफ्ना पार्टनरमा सर्न सक्छन्।

संक्रमितबाट जन्मिएको शिशुमा गोनोरिया सरेर अन्धोपन, टाउकोमा घाउ र अन्य संक्रमण हुन सक्छ ।

के गोनोरियालाई सही खानपानले पनि निको हुन्छ ?

गोनोरियाको उपचारमा केही खास भिटामिनहरूले रोगबाट छिटो निको हुन मद्दत गर्छ । जिंकयुक्त खानेकुराले केही हदसम्म मद्दत गर्न सक्छ ।

जिंकयुक्त खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यस्ता खानेकुराले शरीरमा एन्टिबडी र सेता रक्तकोषहरू बढाउँछन्, जसले गोनोरियाका लक्षणहरू कम गर्न सहयोग गर्छ ।

जिंकयुक्त खानेकुराहरू जस्तै तिलका परिकारहरू, चिनी नहालेको तिलको लड्डु वा डार्क चकलेट खान सकिन्छ ।

भिटामिन सी खानु पनि फाइदाजनक हुन्छ । भिटामिन सीयुक्त खानेकुराहरू जस्तै-:सुन्तला, हरियो सागसात, ब्रोकाउली र पालुंगो खान सकिन्छ ।

भिटामिन सीले एन्टिअक्सिडेन्टको काम गर्छ र ब्याक्टेरियाको प्रभाव कम गर्न मद्दत गर्छ ।

गोनोरियाबाट कसरी बच्ने ?

– यौनसम्पर्क गर्दा गर्भनिरोधक साधनहरू जस्तै कण्डम प्रयोग गर्नुपर्छ ।

– धेरै यौन साथी बनाउनु हुँदैन । किनभने यस्तो गर्नाले गोनोरियासहित विभिन्न यौन सञ्चारित रोगहरू लाग्ने जोखिम हुन्छ ।

– मुख मैथुन वा अप्राकृतिक तरिकाले यौनसम्पर्क गर्नबाट पनि बच्नुपर्छ ।

– यौनसम्पर्क गरेपछि पुरुष र महिलाले आफ्नो गोप्य अंगको सफाइ गर्नुपर्छ, किनभने यसले संक्रमणको जोखिम कम गर्छ ।

– यदि उपचारपछि पनि गोनोरियाका लक्षणहरू रहिरहन्छन् भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

यो रोग निको भएपछि पनि जाँच गराएर गोनोरियाको ब्याक्टेरिया पूर्णरूपमा हट्यो कि हटेन भनेर पक्का गर्नु उचित हुन्छ । किनकी, यो रोग एकपटक भएपछि फेरि नहुने भन्ने हुँदैन । त्यसैले, सधैँ सावधानी अपनाउनुपर्छ ।

गोनोरिया मुख मैथुन यौनसम्पर्क
प्रा. डा. सविना भट्टराई
लेखक
प्रा. डा. सविना भट्टराई
छाला तथा कस्मेटिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २७०१ एमबीबीएस (कोलकाता मेडिकल कलेज), एमडी (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) काठमाडौं मेडिकल कलेजकी पूर्वउपाध्यक्ष तथा विभागीय प्रमुख, हाल काठमाडौंको नागपोखरीस्थित लाभना स्किन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय