+
+
Shares

चितवनमा सिद्धार्थ हस्पिटालिटीको तेस्रो होटल, थप १५ करोड लगानी गर्ने

नयाँ होटलको नाम ‘सिद्धार्थ होटल चितवन’ राखिएको छ । सिद्धार्थले यो होटलमा थप १५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८२ वैशाख १ गते १५:१८

१ वैशाख, चितवन । नेपालको हस्पिटालिटी चेन ब्रान्ड ‘सिद्धार्थ हस्पिटालिटी’ आक्रामक बजार विस्तारमा लागेको छ ।

आतिथ्य सत्कार उद्योगमा कहलिएको सिद्धार्थ बिजनेस ग्रुपले होटल संख्या थप्दै जाने क्रममा चितवन नारायणगढमा नयाँ होटल सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थले नारायणगढमा रहेको होटल सेन्ट्रल पामलाई २५ वर्षका लागि भाडामा लिएर नयाँ नामबाट सञ्चालनमा ल्याएको हो । नयाँ होटलको नाम ‘सिद्धार्थ होटल चितवन’ राखिएको छ । सिद्धार्थले यो होटलमा थप १५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।

सिद्धार्थ बिजनेस ग्रुप अध्यक्ष लक्ष्मण न्यौपानेले पुरानो होटल भाडामा लिएर ‘रिनोभेट’ गरी कोठा संख्यादेखि सम्पूर्ण सेवा सुविधा थप्दै सिद्धार्थ होटल चितवन सञ्चालन ल्याइएको जानकारी दिए ।

उनका अनुसार होटलले करिब २५ रोपनी क्षेत्रफल ओगटेको छ । होटलमा हाल स्विट, सुपर डिलक्स र डिलक्स गरी ४४ कोठा छन् । होटलमा अहिले ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

होटलमा स्विमिङ पुलसहित थिएटर सेटअपमा ४ सय जना अट्ने सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि छ । कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको योजना बनाएको अध्यक्ष न्यौपानेले बताए ।

नारायणी नदी किनारमा रहेको प्रिमियम प्रपर्टीमा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको उनले बताए ।

‘सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले होटल व्यवस्थापनको जिम्मेवारी लिएका हौं,’ उनले भने, ‘प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेलाई यो उपयुक्त गन्तव्य हो भन्ने बुझाइ हाम्रो छ ।’

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेले अहिले भएको होटलमा थप १५ करोड रुपैयाँ लगानी गरिने जानकारी दिए ।

‘होटलमा हाल ४४ कोठा छन्, अब चाँडै ६० वटा बनाउने योजना छ भने  तीन वटा सम्मेलन हल र स्विमिङ पुल स्तरोन्नति गरिनेछ,’ सीईओ न्यौपानेले आज आयोजित पत्रकार सम्मेलनमा भने, ‘चारतारे होटलका रूपमा यसलाई अगाडि लैजान्छौं । होटलमा स्पा सुविधा सहित हेल्थ क्लब र पुलसाइड बारको सविधा पनि थप गर्छाैं ।’

सिद्धार्थ ग्रुपले सिद्धार्थ हस्पिटालिटी चेनअन्तर्गत हाल ३० भन्दा बढी होटल सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव, तीनतारे स्तरका सिद्धार्थ बाटिका अन्तर्गत विभिन्न होटल छन् ।

त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज रेस्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ । चितवनमा योसहित सिद्धार्थका तीन  होटल भएका छन् ।

इच्छाकामनाको चुम्लिङटारमा २६ कोठाको होटल २०७४ सालदेखि सञ्चालनमा छ । यसका कोठा थपेर ६२ पुर्‍याई चारतारे स्तरको बनाउने गरी काम भइरहेको सीईओ न्यौपानेले बताए ।

यस्तै सौराहामा सिद्धार्थ भिलासा वनवासस दुई वर्षदेखि सञ्चालनमा छ । हाल सिद्धार्थ ग्रुप अन्तर्गत २ हजार ५ सयभन्दा बढीले रोजगारी पाएका छन् । सन् २०३० सम्म ५ हजार जनालाई सिद्धार्थ ग्रुपले रोजगारी दिने लक्ष्य लिएको न्यौपानेले बताए ।

‘सिद्धार्थले भारतमा पनि चाँडै नै सेवा विस्तार गर्दैछ,’ उनले भने, ‘नेपाली ब्रान्डका रूपमा विभिन्न देशमा सिद्धार्थलाई लैजाने र ती देशबाट पर्यटक नेपाल ल्याउने योजना छ ।’

सिद्धार्थले गुल्मीमा व्यावसायिक कफी खेती पनि गरेको छ । यसलाई पाल्पामा विस्तार गर्ने तयारी छ । सूचना प्रविधि (आईटी), ट्रेडिङ तथा ट्राभलमा समेत सिद्धार्थले काम गरिरहेको सीईओ न्यौपानेले जानकारी दिए ।

मेघौलीको ‘होटल सारङ्ग’ लिँदै सिद्धार्थ

सिद्धार्थ हस्पिटालिटीले चितवनकै मेघौलीमा रहेको होटल सारङ्ग पनि लिने तयारी गरेको छ । सेन्ट्रल पाम होटलकै सञ्चालक सुबोध प्रधानको होटल सारङ्ग पनि सिद्धार्थ ग्रुपले लिने गरी तयारी अगाडि बढेको र निष्कर्षमा पुग्न बाँकी रहेको सीईयो न्यौपानेले जानकारी दिए ।

उनले चितवनमा पर्यटकीय होटलहरूको सम्भावना बलियो देखेर आफूहरू सौराहासँगै मेघौलीमा पनि केन्द्रित हुन लागेको बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?