+
+
Shares

बिसु पर्वमा एकअर्कालाई सिस्नो लगाए एमाले नेताहरूले

सिस्नु लगाइसकेपछि नेताहरुले आपसमा मिठाई खाएर बिसु पर्वको मौलिकताबारे भट्टबाट सुनेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १६:५७

१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो दिनको अवसर पारेर एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा बस्दा उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एउटा रमाइलो प्रसंग झिके ।

बितेका वर्षमा भएका मनोमालिन्य तथा विवाद यहीं बिर्संदै सम्बन्धमा न्यानोपन सुरु गरौं भन्ने सुदूरपश्चिमको बिसु पर्वको महत्व बुझाउँदै उनले सहयोगीहरूलाई मिठाई मगाए । तर मिठाईभन्दा पहिले हात लाग्यो सिस्नो ।

भट्टले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका हातमा सिस्नु थमाए । अनि पालैपालो अरू नेताहरूलाई पनि सिस्नु बाँडे । त्यसपछि ओलीले नेताहरूलाई सिस्नो लगाए । नेताहरुले पनि ओलीलाई, अनि एकआपसलाई सिस्नो लगाए ।

पार्टीका एक पदाधिकारीले रमाइलो मान्दै सुनाए, ‘सिस्नु लगाइयो, हामीलाई पनि सिस्नु लगाए साथीहरूले । पहिले हामीले गर्ने आलोचना आत्मालोचना भन्दा यो सिस्नु अझै मौलिक र प्रभावकारी संस्कार लाग्यो ।’

सिस्नु लगाइसकेपछि नेताहरूले आपसमा मिठाई खाएर बिसु पर्वको मौलिकताबारे भट्टबाट सुनेका थिए ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले विगतका अक्षम्य खालका गल्ती भुलचुक आदिमा पश्चाताप गर्दै अब यसो नगर्ने भन्दै लुगामा वा शरीरको कुनै अंगमा सिस्नो लगाउने त्यहाँको प्रचलनलाई पार्टी बैठकमा अभ्यास गर्दा रमाइलो अनुभूति भएको बताए । अनलाइनखबरसँग उनले भने, ‘गल्तीहरुलाई स्वीकार गर्ने र अब त्यसो नगरी सौहार्दतामा जाने कस्तो राम्रो अभ्यास हाम्रै परम्परामा रहेछ । आज रमाइलो अनुभूति बन्यो ।’

एमालेले बिसु पर्वसँगै अरु मौलिक पर्वहरूलाई पनि यसैगरी ठाउँ दिंदै जाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?