+

एनएसएल २०२५ : चितवनलाई हराएपछि काठमाडौंको प्लेअफ सम्भावना कायम

२०८२ वैशाख  १ गते १७:०३ २०८२ वैशाख १ गते १७:०३

लगातार दोस्रो हारपछि चितवनलाई अब फ्लेअफको यात्रा समेत कठिन बनेको छ । ५ खेलबाई २ जित उति नै हार र १ बराबरीबाट ७ अंक रहेको चितवन चौथो स्थानमा झरेको छ ।

एनएसएल २०२५ : चितवनलाई हराएपछि काठमाडौंको प्लेअफ सम्भावना कायम

१ वैशाख, काठमाडौं । सेनेगलका खेलाडीहरू चम्किएको दिन काठमाडौं रेजर्सले सोमबार नेपाल सुपर लिग (एनएसएल)२०२५ मा एफसी चितवनमाथि महत्वपूर्ण जितसहित प्लेअफ सम्भावना कायम राखेको छ ।

सेनेगलका दुई खेलाडी बकारी माने र अमादोउ डिओपको गोलमा काठमाडौंले दश खेलाडीमा समेटिएको चितवनलाई २–० ले पराजित गरेको हो । यसै खेलमार्फत एनएसएलमा डेब्यु गरेका सेनेगलकी गोलकिपर चिएख गुएले पनि केही राम्रो बचाउ गरे ।

काठमाडौंका लागि बकारी मानेले ३२औं मिनेटमा फ्रिकिकमा उत्कृष्ट गोल गरे । यस्तै अमादोउ डिओपले ७१औं मिनेटमा रोहन कार्कीको पासमा गोल गरे ।

लिग चरणमा सबै ६ खेल खेल्ने पहिलो टिम बनेको काठमाडौं मिश्रित नतिजापछि ८ अंक जोडेर चितवनलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो । काठमाडौंले २ खेल जित्दा २ खेलमै पराजित भयो भने उति नै खेल बराबरी खेलेको थियो । काठमाडौंको यो पोजिसन कायम रहन्छ कि रहँदैन भन्ने थाहा पाउन भने लिग चरणका बाँकी चार खेलको नतिजा पनि पर्खनुपर्नेछ ।

काठमाडौंका कप्तान प्याट्रिक डे वाइल्डले जितले सधैं खुसी दिने बताउँदै अब अर्को खुसीका लागि कुर्नुपर्ने बताए । ‘हरेक जितपछि खुसी हुन्छौं । अब अर्को खुसीका लागि हामीले अर्को नतिजा कुर्नुपर्छ,’ पोष्ट म्याच कन्फ्रेन्समा उनले भने, ‘म खेलाडीहरूबाट प्रभावित छु । उनीहरूले जित्नका लागि खेले ।’

लगातार दोस्रो हारपछि चितवनलाई अब फ्लेअफको यात्रा समेत कठिन बनेको छ । ५ खेलबाई २ जित उति नै हार र १ बराबरीबाट ७ अंक रहेको चितवन चौथो स्थानमा झरेको छ ।

चितवनको लागि भने आजको खेल बिर्सन लायक नै रह्यो । कप्तान अन्जन विष्टले सुरुमै गोल गर्ने अवसर गुमाउनु अनी घाइते हुँदै पहिलो हाफमा मैदान छाड्नु । दोस्रो हाफमा युसुफ मलिक रातो कार्ड पाउँदै मैदान बाहिरिनु । यसअघि राम्रो प्रदर्शन गर्दै गोल समेत गरेका टोरिक जेबरिक आजको खेल खेल्न नसक्नु । चितवनका विदेशी खेलाडीहरूको लागि राम्रो रहेन । अझ अमेरिकन डिफेण्डर जोनी क्याम्पबेल काठमाडौंविरुद्ध पहिलो रोजाइमा नखेल्ने यसअघि मिडफिल्डमा खेल्दै आएका नोदिर माभलोनोभले समेत काठमाडौं विरुद्ध डिफेन्समा झरेर खेल्नुपरेको थियो ।

आज पहिलो रोजाईमा खेलेका युसुफले ५६औं मिनेटमा रातो (दोहोरो पहेँलो) कार्ड पाउँदै मैदान छाडेका थिए ।

पछिल्दा दुई खेलमा हारपछि चितवनका प्रशिक्षक नविन न्यौपाने निरशा छन् । ‘हाम्रो लागि आज ३ अंक महत्वपूर्ण थियो । त्यही योजनाअनुसार आएको हो । तर, हाम्रा खेलाडी थाकेको जस्तो देखिए । उनीहरू (काठमाडौं) ले ३ अंकका लागि खेले । ’

न्यौपानेले आफ्नो टिमलाई विदेशी खेलाडीको चोटले सताएको र अट्याकरले पनि राम्रो खेल्न नसकेको बताए । ‘टोरिकको अभाव देखियो । अट्याकिङमा अञ्जन, भिक्टवर र शिशिर लेखीले पनि राम्रो गर्न सकेनन् ।’

उनले अन्तिम खेलमा धनगढीविरुद्ध जितकै लागि खेल्ने प्रतिक्रिया दिए ।

लगातार दोस्रो हारपछि चितवनलाई अब फ्लेअफको यात्रा समेत कठिन बनेको छ । ५ खेलबाई २ जित उतिनै हार र १ बराबरीबाट ७ अंक रहेको चितवन चौथो स्थानमा झरेको छ ।

चितवनले अब अन्तिम लिग खेल धनगढी एफसीसँग खेल्न बाँकी छ । चितवनलाई शीर्ष चारमा रहन धनगढीलाई हराए पुग्नेछ । तर अन्तिम खेल जित्नैपर्ने अवस्था आउनुअघि चितवनले अब आफू भन्दा तल रहेका पोखरा थण्डर्स र झापा एफसीको खेलको नतिजामा पनि नजर राख्नेछ ।

आजै झापा एफसीले धनगढी एफसीसँग खेल्नेछ ।

आजको खेलपछि लिगमा जम्मा ३ खेल बाँकी रहनेछ । मंगलबार पोखरा थण्डर्सले प्लेअफ होडबाट बाहिरिसकेको बुटवल लुम्बिनीसँग खेल्नेछ ।

उक्त खेल पोखराले जितेमा उसको पनि ८ अंक हुनेछ । तर पोखरालाई चितवनले यसअघि हराइसकेकोले पोखराको जितले खासै असर नगर्न सक्छ ।

यस्तै बुधबार प्लेअफ पुगिसकेको ललितपुर सिटी र झापा एफसीबीच खेल हुनेछ । लिगको अन्तिम खेल बिहीबार धनगढी र चितवनबीच हुनेछ ।

चितवनले अन्तिम खेल खेल्ने भएकोले आफू अनुकुल नतिजाका लागि खेल्ने अवसर पाउनेछन ।

अहिलेसम्म साविक विजेता ललितपुरले मात्र प्लेअफमा स्थान पक्का गर्दा बुटवल लुम्बिनीको यात्रा सकिसकेको छ । अब प्लेअफको तीन सथ्नका लागि ५ टिम होडमा छन् ।

चितवनको आजको हारले ललितपुर सिछीलाई समेत फाईदा पुगेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरेको ललितपुर अब शीर्ष दुईमा रहने समेत पक्का भएको छ भने पहिलो क्वालिफायर खेल्नेछ ।

एनएसएल २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय