
१ वैशाख, चितवन । वाचन पण्डित दिनबन्धु पोखरेलले नेपालमा धार्मिक पर्यटनको प्रचार र प्रवर्द्धन मात्रै गर्न सके देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ३५ प्रतिशत योगदान पुग्न सक्ने बताएका छन् ।
चितवनको नारायणगढमा सोमबार आयोजित एक कार्यक्रममा पण्डित पोखरेलले भगवान गौतमबुद्ध जन्मिएको लुम्बिनी र भगवान पशुपतिनाथ, मुक्तिनाथ लगायत क्षेत्रको विश्वभर प्रचारप्रसार र प्रवर्द्धन गर्न सके लाखौं धार्मिक पर्यटक नेपाल भित्रिने सम्भावना आफूले गरेको अध्ययनबाट देखिएको बताए ।
‘साउदी अरबको जनसंख्या जम्मा २ करोड ५० लाख जति छ, हरेक वर्ष विश्वभरिका करोडौं मुस्लिमहरू त्यहाँ पुग्छन्, इजरायलका ९० लाखको हाराहारीमा जनसंख्या छ, हरेक वर्ष ५ करोडभन्दा बढी क्रिश्चियनहरू त्यहाँ पुग्छन्,’ पण्डित पोखरेलले भने, ‘हामीले बुद्ध धर्म मान्नेहरूका लागि बुद्धजन्मभूमि लुम्बिनी र हिन्दूका लागि भगवान पशुपतिनाथको बारेमा प्रचारप्रसार गर्ने हो भने लाखौं भक्तजन नेपाल आउँछन् ।’
उनले योग र ध्यानको केन्द्र, अध्यात्मको उद्गम थलो, ऋषिमुनिहरूले ध्यान तपस्या गरेको ठाँउ नेपाल मात्रै भएको बताए ।
विश्वलाई नै योग र ध्यानका माध्यमबाट आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने भन्दै पण्डित पोखरेलले देशका प्रधानमन्त्रीदेखि सबैलाई भेटेर नेपालको धार्मिक पर्यटनका बारेमा आफूले जानकारी गराएको सुनाए ।
आध्यात्मिक र भौतिक ज्ञान बाँडेर समाजलाई सही दिशातर्फ लैजानुपर्ने उनको भनाइ छ ।
नेपालमा पछिल्लो समयमा वृद्धाश्रमहरू खोल्ने क्रम बढेको स्मरण गर्दै पण्डित पोखरेलले वृद्धाश्रम बनाउने उद्देश्यले गरिने कुनै पनि कार्यक्रममा वाचक भएर आफू नजाने घोषणा नै गरेको उनले बताए ।
प्रतिक्रिया 4