+
+
Shares
पानीट्यांकीमा बालिकाको शव :

सीसीटीभी फुटेजमा देखियो शंकास्पद गतिविधि, ८ जना तारेखमा

बाबु-आमासहित ८ जनालाई तारेखमा राखेर अनुसन्धान गरिएको छ । बालिका हराएको भनिएकै दिन एक व्यक्तिको शंकास्पद गतिविधि सीसीटीभीमा देखिएको छ । यसलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ वैशाख १ गते २२:२४

१ वैशाख, काठमाडौं । ललितपुरको मंगलबजार नजिक खपिन्छेँ टोलस्थित एक घरको पानीट्यांकीमा मृत भेटिएकी ११ वर्षीया बालिकाको अनुसन्धानको क्रममा प्रहरीले ८ जनामाथि विशेष निगरानी राख्दै अनुसन्धान अघि बढाएको छ ।

बझाङ घर भई खपिन्छेँमा बस्दै आएकी बालिका दुर्गा बोहरा मृत्युको अनुसन्धानको क्रममा प्रहरीले ८ जनालाई तारेखमा राख्दै अनुसन्धान अघि बढाएको हो ।

यो घटनामा मृतक बालिकाका बाबुआमालाई समेत शंकाको घेरामा राख्दै अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बतायो । बाबुआमाले भने आफूलाई केही थाहा नभएको प्रहरीसमक्ष दाबी गरेका छन् ।

बालिका पहिला पनि पटक–पटक लामो समय हराउने र फेरि आउने गरेकाले प्रहरीमा खबर पनि नगरेको उनीहरूको भनाइ छ । बाबुआमा समेत छुट्टाछुट्टै बस्ने गरेको पाइएकोले उनीहरूको पारिवारमा बेमेल देखिएको प्रहरीको भनाइ छ ।

बाबुआमा बाहेक अन्य ६ जनालाई पनि तारेखमा राखेर अनुसन्धान अघि बढाइएको एक अधिकृतले बताए । तारेखमा राखिएकामध्ये केही नाबालक समेत छन् । बालिकाको साथी भनिएकाहरूलाई प्रहरीले तारेखमा राखेको छ ।

‘८ जना संदिग्ध व्यक्तिहरूलाई तारेखमा राखेर अनुसन्धान गरिरहेका छौँ । अन्यमाथि पनि सोधपुछ जारी छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

मकवानपुरका सञ्जय बोगटी डेरा सरेर खपिन्छेँ टोलको एक घरमा पुगेका थिए । १६ चैतमा डेरा सरेका बोगटीले पानीट्यांकीबाट बाहिर किरा आउन थालेपछि ट्यांकी सफा गर्न खोज्दा बालिकाको शव भेटिएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार यो घटना गत बिहीबारको हो ।

रगतको टाटा भेटिनुलाई महत्त्वपूर्ण क्लु मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर रगतको टाटा बालिकाको भएको आशंका गरेर अनुसन्धान अघि बढाइए पनि त्यसको पुष्टि हुन भने बाँकी नै छ ।

शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । कपडाले छोपेको शवमाथि इँटा समेत राखिएको थियो । शवको प्रकृति हेर्दा हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृत भेटिएकी बालिका ४  चैतदेखि हराएको प्रहरीको भनाइ छ । मृत फेला परेकी ती बालिका आमासँगै उक्त घरमा बस्दै आएकी थिइन् । करिब २०–२५ दिनअघि मात्रै उनीहरू त्यहाँबाट डेरा सरेका थिए । डेरा छोडेर गएकै घरको पानीट्यांकीमा शव भेटिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।

घरमा भेटियो रगतको टाटा

अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव भेटिएको घरमा रगतका केही टाटाहरू समेत फेला पारेको छ । एक अधिकृतले पानीट्यांकीको केही बाहिर रगतको टाटा भेटिएको बताए । ‘रगतका टाटाहरू पनि फेला पारेका छौं । घटना निकै शंकास्पद देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

रगतको टाटा फेला परेपछि बाहिर हत्या गरेर शव लुकाउन पानीट्यांकीमा हालेको आशंका प्रहरीले गरेको छ । रगतको टाटा समेत भेटिएकाले बालिकामाथि कुटपिट वा कुनै धारिलो हतियार प्रहार भएको आशंका पनि प्रहरीले गरेको छ ।

रगतको टाटा भेटिनुलाई महत्त्वपूर्ण क्लु मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । तर रगतको टाटा बालिकाको भएको आशंका गरेर अनुसन्धान अघि बढाइए पनि त्यसको पुष्टि हुन भने बाँकी नै छ ।

शव सडेकाले अनुसन्धानमा कठिनाइ

मृत भेटिएकी बालिकाको शव पुरानो रहेको आशंका गरिएको छ ।

‘शव किरा परिसकेको मासुको सबै गलिसकेको अवस्थामा बरामद भएको थियो । मासु जति सबै गलिसकेको र किराले खाइसकेको थियो भने अर्कोतर्फ हड्डीहरू मात्रै बाँकी रहेको थियो,’ एसएसपी अधिकारीले भने, ‘जसका कारण अनुसन्धानमा निकै कठिनाइ भइरहेको छ ।’

शव सडिसकेकाले पोस्टमार्टम रिपोर्टमा समस्या हुने चिकित्सकले बताएको प्रहरीको भनाइ छ । सडिसकेको शव भएकाले कुटपिट गरेर हत्या गरेको हो वा अन्य कारणबाट हत्या गरियो भन्ने यकिन हुन पनि कठिनाइ हुने बताइएको छ । यद्यपि, प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

सीसीटीभी फुटेजमा देखियो शंकास्पद गतिविधि

बालिकाको शव भेटिएको घर वरपरको क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा) को फुटेल केलाउँदै प्रहरीले अनुसन्धान अघि बढाएको छ । सो क्रममा बालिका हराएको भनिएको दिनमै एक व्यक्ति उक्त घर वरपर देखिएको महत्त्वपूर्ण क्लु प्रहरीले फेला परेको छ ।

ती व्यक्ति को हुन् भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । गतिविधि पनि शंकास्पद जस्तो देखिएको अनुसन्धान अधिकृतहरूको भनाइ छ । ‘जुन दिन बालिका हराएको भनिएको छ, त्यही दिन एक व्यक्ति उक्त घर वरपर देखिन्छ । ती व्यक्तिमाथि अनुसन्धान जारी छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

यसका साथै अन्य प्राविधिक कोणहरूबाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

म्यानुअल्ली र प्राविधिक रूपमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घर वरपरका मान्छेसँग सोधपुछ गर्नेदेखि प्राविधिक विश्लेषण गर्नेसम्मको काम भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?