+
+
Shares

महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थासँग कांग्रेसले माग्यो लिखित जवाफ

समयसीमा तोकेरै महाधिवेशन गर्न दिएको निर्देशन पनि अवज्ञा भएपछि कांग्रेस सभापति र महामन्त्रीको बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थासँग सात दिनभित्र लिखित जवाफ माग्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १८:४८

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको छलफलले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने निर्णय गरेको हो ।

देउवानिवास बुढानीलकण्ठमा भएको छलफलले महाधिवेशन गर्न नसक्नुको कारण र हालसम्म गरेका कार्यको विवरण माग्ने निर्णय पनि गरेको छ । हालसम्मको कार्य प्रगतिबारे भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टीबाट गठन भएको निर्देशक समिति र सम्बन्धित संस्थाको अध्यक्षले लिखित जवाफ पठाउनुपर्ने छ । बैठकमा मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि सहभागी थिए ।

लामो समयदेखि महाधिवेशन गर्न नसकेका भ्रतृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने तयारीमा कांग्रेस छ । त्यसअघि सात दिनभित्र लिखित जवाफ मागिएको एक नेताले जानकारी दिए ।

कांग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

पार्टीले उपलब्ध गराएको समयसीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समिति समेत छैन ।

प्रमुख भ्रातृ संस्थाका रुपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् ।

कांग्रेसका एक पदाधिकारी अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थाहरू भंग हुनेछन् । ‘अधिवेशन गराउने छाँटकाँट नै देखिएन । १/२ महिना थपौं भनेपनि प्रक्रिया नै सुरु गरेका छैनन्,’ उनले भने, ‘अहिले नेतृत्व गरिरहेकाहरूको कार्यसमिति भंग नगरी पार्टीसँग अर्को विकल्प नै छैन ।’

भ्रातृ संस्थाहरूमा नयाँ समिति कुन विधिबाट ल्याउने बारे पार्टी बैठक बसेर मात्रै निर्णयमा पुगिने उनले बताए ।

यसबीचमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपाङमा संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपाङ संघले पहिलोपटक महाधिवेशन गरेका हुन् ।

नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् ।

नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?