+

मान्छे कसरी बुढो हुन्छ ?

२०८२ वैशाख  २ गते १८:०२ २०८२ वैशाख २ गते १८:०२
मान्छे कसरी बुढो हुन्छ ?

मान्छे उस्तै रहदैन । जस्तो पहिला थियो । उमेर ढल्किएसँगै मान्छेको रुप रङ परिर्वतन हुन्छ । मन पनि क्रमिक रुपमा परिवर्तन हुँदै जान्छ । इन्द्रीयहरू शिथिल हुँदै जान्छन् । बोली पनि पहिलाको जस्तो रहँदैन । एक चरणमा पुगे पछि शरीर गल्दै जान्छ ।

यस्तो, आखिर किन हुन्छ ?

यसरी उमरे ढल्केपछि देखिने शारीरिक परिवर्तनलाई बुढ्यौलीको संकेत भन्ने गरिन्छ । यस्तो संकेत हुनुमा केही जैविक प्रक्रिया जिम्मेवार छन् ।

कोशिकाहरू परिवर्तन

हाम्रो शरीर अरबौं कोशिकाहरूले बनेको हुन्छ । यी कोशिकाको कार्यक्षमता समयसँगै कमजोर हुँदै जान्छ । कोशिकाहरूमा डीएनएको अन्त्यमा ‘टेलोमेयर’ नामक संरचना हुन्छ, जसले डीएनएलाई क्षति हुनबाट जोगाउँछ ।

प्रत्येक कोशिका विभाजनसँगै टेलोमेयर छोटो हुँदै जान्छ । जब टेलोमेयर अति छोटो हुन्छ, कोशिकाले विभाजन गर्न छोड्छ । यो प्रक्रियाले कोशिका पुनःर्जीवित हुन कम गर्छ, जसले तन्तु र अंगहरूको कार्यक्षमता घटाउँछ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थको अध्ययनले टेलोमेयर घट्दै जाँदा बुढ्यौलीपनको लक्षण बढ्दै जाने देखाएको छ ।

डीएनए क्षति र मर्मतको कमी

उमेर बढ्दै गए पछि कोशिकाहरूमा डीएनए क्षति हुँदै जान्छ । यसो हुनुमा अत्याधिक तनाव, पराबैंगनी किरण र अन्य पर्यावरणीय कारकहरू पर्छन । युवा अवस्थामा शरीरले यी क्षतिहरू मर्मत गर्छ, तर बुढ्यौलीसँगै डीएनए मर्मत प्रणाली कमजोर हुन्छ । यसले कोशिकाको कार्यक्षमताको स्तर घटाउँछ ।

माइटोकन्ड्रियाको कार्यक्षमतामा ह्रास

माइटोकन्ड्रिया कोशिकाको ऊर्जा केन्द्र हो । बुढ्यौलीसँगै माइटोकन्ड्रियाको कार्यक्षमता कम हुन्छ, जसले ऊर्जा उत्पादन घटाउँछ ।यो प्रक्रियाले कोशिकाहरूलाई थप क्षति पुर्‍याउँछ।

प्रोटिनको असन्तुलन

प्रोटिन शरीरको संरचना, कार्य र नियमनका लागि आवश्यक हुन्छन् । बुढ्यौलीसँगै प्रोटिन सन्तुलनमा परिवर्तन आउँछ । प्रोटिनहरूले सही आकारमा रहनुपर्छ, तर बुढ्यौलीसँगै गलत फोल्डिङ बढ्छ । यस्ता प्रोटिनहरू जम्मा भएर तन्तुमा क्षति पुर्‍याउँछ, जुन अल्जाइमर र पार्किन्सन जस्ता रोगहरूको कारण बन्छ।

अटोफ्याजीमा कमी

अटोफ्याजी कोशिकाले सफाइको काम गर्छ । यसको काम भनेको शरीरमा भएको क्षतिग्रस्त प्रोटिन र कणहरूलाई हटाएर सफा पार्नु हो । बुढ्यौलीसँगै यो प्रक्रिया कमजोर हुन्छ, जसले कोशिकामा हानिकारक पदार्थहरू जम्मा हुन्छ ।

हर्मोनल परिवर्तन

हर्मोनहरूले शरीरको विभिन्न कार्यहरू नियन्त्रण गर्छन्, तर बुढ्यौलीसँगै यिनको स्तर र प्रभावमा कमी आउँछ । जस्तो कि, यौन हर्मोन । बुढो हुँदै गएपछि पुरुषमा टेस्टोस्टेरोन र महिलामा इस्ट्रोजेनको स्तर घट्छ।

यसले मांसपेशीको बल, हड्डीको घनत्व र यौन स्वास्थ्यमा प्रभाव पार्छ । महिलाहरूमा मेनोपजले इस्ट्रोजेनमा ठूलो कमी ल्याउँछ, जसले हड्डी कमजोर हुने जोखिम बढाउँछ ।
अर्को भनेको ग्रोथ हर्मोन र इन्सुलिन जस्तो वृद्धि कारण आइजीफ-१को स्तर घट्छ । जसले, तन्तु मर्मत र मांसपेशी विकासमा कमी ल्याउँछ ।

तनाव हर्मोन

तनाव हर्मोन कोर्टिसोलको स्तरमा असन्तुलनले तनाव बढाउँछ, जसले रक्तचाप, रोग प्रतिरोधक क्षमता र मेटाबोलिजममा असर गर्छ ।

रोग प्रतिरोधात्मक प्रणालीमा कमजोरी

बुढ्यौलीसँगै रोग प्रतिरोधक प्रणाली कमजोर हुन्छ, जसलाई ‘इम्युनोसेनेसेन्स’ भनिन्छ ।टी-कोशिका र बी-कोशिकाहरूको कार्यक्षमता घट्छ, जसले शरीरलाई संक्रमण र रोगहरूसँग लड्न कठिन बनाउँछ ।

मांसपेशी र हड्डीमा ह्रास

बुढ्यौलीले मांसपेशी र हड्डीको संरचनाको स्तर घट्छ । मांसपेशीको मात्रा र बल घट्ने प्रक्रियालाई सार्कोपेनिया भनिन्छ। यो सामान्यतया ३० वर्षपछि सुरु हुन्छ र ६० वर्षपछि तीव्र हुन्छ। मांसपेशी कोशिकाहरू मर्ने र हार्मोनल परिवर्तनले यो प्रक्रिया तीव्र बनाउँछ । यसले गतिशीलता र शारीरिक कार्यक्षमता कम गर्छ ।

उमेरसँगै क्याल्सियम र भिटामिन डीको अवशोषण घट्छ । जसले हड्डीको मर्मत प्रक्रिया बुढ्यौलीसँगै कमजोर हुन्छ । यसले हड्डी कमजोर हुने र फ्र्याक्चरको जोखिम बढाउँछ।

मुटु र रक्तसञ्चार प्रणालीमा प्रभाव

मुटु र रक्तनलीहरूमा पनि बुढ्यौलीका प्रभाव देखिन्छ । रक्तनलीहरूको लचिलोपन कम हुन्छ, जसले रक्तचाप बढाउँछ । मुटुको मांसपेशी बाक्लो र कडा हुन सक्छ, जसले रक्त पम्प गर्ने क्षमता घटाउँछ ।

त्यो मात्र नभई मुटुले काम राम्रोसँग गर्न नसक्दा कोलेस्टेरोल र फ्याट जम्मा भएर धमनीहरू साँघुरिन्छ, जसले मुटुको रोगको जोखिम बढाउँछ ।यी परिवर्तनहरूले शरीरमा थकान, सास फेर्न गाह्रो बनाउने र गतिशीलतामा कमी ल्याउँछ ।

मस्तिष्क र स्नायु प्रणाली

उमेर ढल्किएसँगै मस्तिष्क र स्नायु प्रणालीमा पनि बुढ्यौलीका प्रभावहरू देखिन्छन् । किनकी, विस्तारै शरीरको न्यूरोनहरूको संख्यामा कमी आउँछ, जसले स्मरणशक्ति र संज्ञानात्मक कार्यमा प्रभाव पार्छ ।

मुड सुधार गर्ने डोपामाइन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समिटरहरूको उत्पादन पनि घट्छ, जसले मूड र व्यवहारमा परिवर्तन ल्याउन सक्छ । यद्यपि, मानसिक र शारीरिक गतिविधिहरू कायम राख्ने हो भने मस्तिष्कको लचिलोपनले सिकाइ र अनुकूलनलाई सम्भव बनाउँछ ।

पाचन र मेटाबोलिजम

पाचन प्रणालीमा पनि बुढ्यौलीका प्रभाव देखिन्छ । किनकी विस्तारै पेटको अम्ल र इन्जाइमहरूको उत्पादन घट्छ, जसले पोषक तत्व अवशोषणमा कमी ल्याउँछ ।आन्द्राको गतिशीलता कम हुन्छ, जसले कब्जियतको जोखिम बढाउँछ । मेटाबोलिक दर पनि घट्छ, जसले तौल बढ्ने सम्भावना बढाउँछ । साथै, इन्सुलिन संवेदनशीलता कम भएर टाइप २ मधुमेहको जोखिम बढ्छ ।

छाला र बाह्य परिवर्तन

छाला बुढ्यौलीको सबैभन्दा देखिने संकेत हो । ‘कोलाजेन’ र इलास्टिनले छालालाई कसिलो र रसिलो राख्छ । तर, उमेर बढेसँगै यसको उत्पादन घट्छ, जसले छालालाई पातलो, सुख्खा र चाउरी बनाउँछ।

छालाको कोषहरू पुनःजीवित पार्ने प्रक्रिया ढिलो हुन्छ, जसले घाउ निको हुन पनि समय लाग्छ । त्यस्तै, अर्को लक्षण भनेको कपाल सेतो हुँदै जानु हो । यो प्रक्रिया पनि उमेरसँगै मेलानोसाइट कोशिकाहरूको कमी हुँदै गएर हुने गर्छ ।

आनुवंशिक र पर्यावरणीय कारकहरू

बुढ्यौलीमा आनुवंशिक कारकहरूले पनि भूमिका खेल्छ । कतिपय व्यक्तिहरूमा बुढ्यौली–विरोधी जीनहरू (जस्तै एसआइआरटी १) सक्रिय हुन्छन्, जसले बुढ्यौलीलाई ढिलो गर्छ।

तर, पर्यावरणीय कारकहरू-जस्तै खानपान, व्यायाम, धूम्रपान, तनाव र प्रदूषणले पनि बुढ्यौलीको गतिलाई प्रभाव पार्छ ।

बुढ्यौली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय