
१ वैशाख, काठमाडौं। सामान्यत मान्छेको मृत्युपछि सद्गत गरिन्छ । यो भनेको जलाउने वा गाड्ने प्रक्रिया हो । तर वरिष्ठ पत्रकार भैरव रिसालको हकमा यसो भएन । ९७ वर्षको उमेरमा दिवंगत पत्रकार रिसालको निर्जीव शरीर अहिले पनि जस्ताको तस्तै राखिएको छ ।
निधन भएको २४ घण्टा बित्न नपाउँदै रिसालकै इच्छाबमोजिम परिवारले उनको शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बुझाएको छ ।
किन त ?
उनले जीवित छँदै आफ्नो शेषपछि शरीर दान दिने मन्जुरी दिएका थिए । नेपाली सन्दर्भमा यो दुर्लभ अभ्यास हो । अहिलेसम्म एकाध व्यक्तिहरूले मात्र यसरी आफ्नो शरीर दान दिएका छन् ।
नेपालमा अंगदान सम्बन्धी कानुनी व्यवस्था आउनु आठ वर्षअघि नै रिसालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान गर्ने घोषणा गरेका थिए ।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार रिसालको मृत शरीरलाई सड्न नदिनका लागि नसाबाट विभिन्न केमिकल दिएर राखिएको छ ।
मानिसको स्वाभाविक मृत्यु भएको तीन दिनदेखि भित्री अंगहरू सड्न थाल्छन् । शरीर दान गर्नेहरूको शरीरलाई भने लामो समयसम्म राख्नुपर्ने हुँदा नसड्ने गरी औषधि र रसायनमा राख्नुपर्ने हुन्छ, जसलाई ‘इम्बामिल्ङ’ पनि भनिन्छ ।
‘इम्बाल्मिङ’ गर्दा शरीरको प्रत्येक कोषमा रसायन पुगेको हुन्छ । यसले वर्षौंसम्म अंगलाई सड्न दिँदैन ।
वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीका अनुसार शवलाई कुहिन नदिनका लागि नसाबाट दुई/चार लिटर केमिकल हालिन्छ ।
‘नसाबाट हालेपछि सबै अंगमा केमिकल पुग्छ । शरीर कडा बन्छ र वषौंसम्म पनि कुहिँदैन,’ डा. वस्तीले अनलाइनखबरसँग भने, ‘मानव शरीरको आकार पनि बिग्रिंदैन ।’
शाक्यका अनुसार रिसाल परिवारकै अनुरोधमा निधन भएको दुई दिनसम्म विदेशबाट आउने आफन्तले मुख हेर्नका लागि रिसालको पार्थिव शरीरलाई शव गृहमा राखिएको थियो । अहिले उनको निर्जीव शरीरलाई एनाटोमी विभागले ‘ट्यांक’मा डुबाएर राखेको छ ।
मानिसको शव अध्ययनको लागि राखिने ट्याङ्कलाई ‘फर्मलिन ट्याङ्क’ वा ‘केमिकल प्रिजर्भेसन ट्याङ्क’ पनि भनिन्छ। यी ट्याङ्कहरूमा फर्मलिन जस्ता रसायनहरू भरिएका हुन्छन्, जसले शवलाई सड्नबाट जोगाउँछन्।
उनको शरीरका विभिन्न अंगको मेडिकल विद्यार्थीबाट मात्र नभएर अनुसन्धानकर्ताबाट पनि अध्ययन गरिने डा. शाक्यले बताए ।
एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीका लागि ‘एनाटोमी डाइसेक्सन’ अध्ययनका लागि शव अनिवार्य हुन्छ ।
मेडिकल कलेजमा विद्यार्थीलाई विभिन्न अंग चिरफार (डाइसेक्सन) गर्न लगाइन्छ । यो अभ्यास नगरी डाक्टर बन्न सकिंदैन । यस्तै अभ्यास गरेर नै विद्यार्थी दक्ष डाक्टर बन्दछन् ।
‘उहाँको मृत शरीरलाई अहिले विशेष रसायनयुक्त ट्यांकमा डुबाएर राखिएको छ,’ डा. शाक्यले अनलाइनखबरसँग भने, ‘अब मेडिकल विद्यार्थी र अस्पतालको विभिन्न विभागले अध्ययन अनुसन्धान गर्न प्रयोग गरिन्छ ।’
डा. शाक्यका अनुसार रिसालको शव अस्पतालको क्यालेन्डर अनुसार पालैपालो प्रयोग गरिनेछ ।
‘हामीलाई वर्षमा दुई तीन वटा शव मेडिकल विद्यार्थीको अध्ययन गराउनका लागि आवश्यक पर्छ,’ शाक्यले अनलाइनखबरसँग भने, ‘अब छिट्टै नै उहाँको शरीरलाई मेडिकल विद्यार्थीले प्रयोगशालाको रूपमा प्रयोग गर्नेछन् ।’
चिकित्साशास्त्रका विद्यार्थीलाई शरीरका नसा, मुटु, कलेजो, मिर्गौला, फोक्सोलगायतका विभिन्न अंग प्रत्यङ्ग प्रत्यक्ष रूपमा देखाएरै पढाइन्छ र त्यही निर्जीव शरीरमा प्रयोगात्मक अभ्यास गरेर परीक्षा लिने काम गरिन्छ ।
‘विद्यार्थीले अंग खेलाउँदा–खेलाउँदा दुई वर्षमा नरम तन्तुको क्षयीकरण हुन्छ । अन्तिममा हड्डी बाँकी रहन्छ । जुन सयौं वर्ष रहन्छ,’ डा. वस्तीले भने ।
चिकित्सकहरूका अनुसार निश्चित अवधि शरीरलाई अध्ययन गरेपछि अस्पताल परिसरमै शव गाड्ने गरिन्छ । बाँकी रहेको हड्डी थप अध्ययनका लागि राखिन्छ ।
मृत शरीरको अध्ययन कति प्रभावकारी ?
वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. वस्ती शरीर दानबाट फरेन्सिक चिकित्सा क्षेत्रका लागि ठूलो सहयोग हुने बताउँछन् ।
उनका अनुसार शरीर दान कसरी गर्ने भन्ने कार्यविधि स्पष्ट नभए पनि कानुनमा रहेको अंग दानसम्बन्धी व्यवस्था अनुसार गर्ने गरिएको छ ।
नेपालको मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि शव वा अंग दान गर्न पाउने व्यवस्था गरेको छ ।
‘कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अंग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन दान दिने गरी लिखित रूपमा इच्छा व्यक्त गर्न सक्नेछ,’ ऐनको दफा ३८ को उपदफा (१) मा भनिएको छ ।
दान गरिएको शरीर कुनै प्रयोजनका लागि प्रयोग हुन नसक्ने अवस्थामा त्यसलाई दाहसंस्कार गर्नुपर्ने व्यवस्था उक्त दफाको उपदफा (३) मा व्यवस्था गरिएको छ ।
शरीर दान गर्नका लागि इच्छाएको व्यक्तिले कुनै अस्पताल वा मेडिकल कलेजमा गएर इच्छापत्र लेख्न सक्छन् । त्यसका लागि परिवार वा आफन्तको रोहबर आवश्यक पर्ने चिकित्सक बताउँछन् ।
‘मृत्यु हुनुपूर्व लिखित वा मौखिक रूपमा व्यक्तिले इच्छा जाहेर गरेको वा आफन्तले मञ्जुरी गरेको अवस्थामा शरीर दान गर्न सक्छन्,’ डा. वस्ती भन्छन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीको दम्पतीको निर्जीव शरीर किष्ट मेडिकल कलेजका चिकित्सा शास्त्रका विद्यार्थीले प्रयोगशाला रूपमा प्रयोग गरिसकेका छन् ।
किष्ट मेडिकल कलेजका एनाटोमी एवं फरेन्सिक विभागका प्रमुख प्रा. डा. किशोर सिंह बस्नेत अनुसार जोशी दम्पत्तिको शरीर मेडिकल विद्यार्थी र विभागीय चिकित्सकहरूबाट अध्ययन भइसकेको छ ।
‘जोशी दम्पत्तिको शरीरमाथिको अध्ययन सकिसकेको छ । तर अनुसन्धानको क्रममा खासै यस्तो भिन्नता देखिएन,’ डा. बस्नेतले अनलाइनखबरसँग भने ।
२५ साउन २०७५ मा निधन भएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधिले पनि जीवित छँदै शरीर दान गर्न इच्छापत्रमा हस्ताक्षर गरेका थिए ।
उनको इच्छा बमोजिम नै परिवारले दाहालको शव अध्ययन प्रायोजनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई बुझाएको थियो ।
डा. वस्तीले अगाडि थपे, ‘कतिपय आत्महत्या गरेका व्यक्तिले समेत मृत्युपर्यन्त आफ्नो शरीर अध्ययन प्रयोजनका लागि सुसाइड नोटमा लेखेका आधारमापनि शरीरको अध्ययन गरिन्छ ।’
उसो त, ११ जेठ २०७२ मा ज्ञानेश्वरस्थित आफ्नै निवासमा आत्महत्या गरेका पूर्वन्यायाधीश भरतराज उप्रेतीको शव पनि अध्ययन प्रायोजनका लागि अस्पताललाई दिइएको थियो ।
उप्रेतीले मृत्युअघि लेखेको पत्रमा ‘मेरो शवलाई अध्ययनमा प्रयोग गर्न शिक्षण अस्पताललाई दिनु र काजकिरिया बापतको ५ लाख रुपैयाँ राहत कोषमा जिम्मा गरिदिनु’ भनेका थिए ।
तर हालसम्म शरीर दान कतिले गरे भने यकीन तथ्यांक छैन ।
शरीर दानका लागि इच्छुकले मेडिकल कलेजमा नाम टिपाउन सकिने त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरी बताउँछन् । त्यसपछि आवश्यकता अनुसार अस्पतालले स्वीकृति दिन्छ । तर त्यसका लागि परिवारको सहमति पनि अनिवार्य हुन्छ ।
‘विद्यार्थीले एक शवलाई एकदेखि दुई वर्षसम्म अध्ययन गर्न सक्छन् । त्यसपछि शरीरलाई गाडिन्छ,’ चौधरी भन्छन्, ‘गाडेको ६ महिनापछि मासु सबै कुहिसकेको हुन्छ । हड्डी निकालेर अध्ययन गरिनुका साथै संग्राहलयमा राखिन्छ ।’
अधिकांश बेवारिसे शव चिकित्सा अध्ययनका लागि प्रयोग गरिने डा. चौधरीले जानकारी दिए । यसरी त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा मात्रै वार्षिक ८० देखि १०० वटा बेवारिसे शव आइपुग्छन् ।
बेवारिसे लास भेटेपछि प्रहरीले नजिकैको पोस्टमार्टम हुने अस्पतालमा लैजान्छ र आफन्तको खोजी गर्छ ।
३५ दिनसम्म खोजी गर्दा पनि आफन्त नभेटे त्यो लासलाई प्रहरीले फरेन्सिक मेडिसिन विभागमा बुझाइदिन्छ ।
यसरी प्रहरीसमक्ष आएका बेवारिसे लासमध्ये अध्ययनका लागि मेडिकल कलेजले २५/३० वटा लैजाने गरेको डा. चौधरीले बताए ।
उनका अनुसार अध्ययनमा प्रयोग हुने पनि बेवारिसे शव नै हुन् । तर, यसका लागि सग्लो र स्वाभाविक मृत्यु भएको शव चाहिन्छ ।
‘बेबारिसे शवलाई कानुनले तोके अनुसार निश्चित अवधिसम्म फ्रिजमा राख्छौं, त्यसपछि चाहिँ अध्ययन प्रयोजनका लागि प्रयोग मेडिकल कलेजलाई दिने गरेका छौं,’ डा. चौधरीले भने ।
फोरेन्सिक विज्ञ डा. वस्ती पहिलेको तुलनामा मानिसहरूमा शरीर दान गर्नु हुँदैन भन्ने अन्धविश्वास कम हुँदै गएको बताउँछन् ।
उनका अनुसार शरीर दान विशुद्ध अध्ययन प्रयोजनका साथै अंग दानका लागि प्रयोग गरिन्छ ।
‘खरानी भएर जाने अंग चिकित्साशास्त्रको विद्यार्थीलाई अध्ययन गर्न सहयोग गर्नुका साथै अंग चाहिएको व्यक्तिलाई दिएर नयाँ जीवन दिन सकिन्छ,’ डा. वस्ती भन्छन्, ‘शरीर दान गरिएका मानिसको आँखाको नानी र छाला भने अन्य व्यक्तिमा प्रयोग समेत गर्न सकिन्छ ।’
आठ जनाको जीवन बचाउन सकिन्छ !
शरीर दानको साथसाथै मस्तिष्क मृत्यु भएकाले पनि अंगदान गर्न सक्छन् । यो दुई प्रकारले गर्न सकिन्छ– जीवित दाताले गर्ने र मृतकले गर्ने अंगदान ।
जीवित अवस्थामै कसैको ज्यान बचाउन एउटा मिर्गौला, कलेजोको केही खण्ड दान गर्न सक्छन् ।
त्यस्तै मस्तिष्क मृत्युपछि मुटु, आँखा, फोक्सो, प्याङ्क्रियाज, मिर्गौला, सानो आन्द्रा, कलेजो, छालालगायत अन्य अंग दान गर्न सकिन्छ ।
२८ वैशाख २०७४ मा मस्तिष्क मृत्यु भएकाले अंगदान गर्ने प्रक्रिया सुरु भयो ।
हालसम्म दुर्घटनामा परेर ‘मस्तिष्क मृत्यु’ भएका पाँच जनाको अंग दानबाट १० जनालाई मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको छ ।
चिकित्सकहरूले मस्तिष्क मृत्यु भएको घोषणा गरेपछिको अवस्थालाई चिकित्सा विज्ञानले पूर्ण मृत्यु मान्छ । किनकि मस्तिष्क मृत्यु भएको खण्डमा कुनै पनि उपचारबाट बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिन्न ।
युरोप, अमेरिकालगायत विकसित देशमा ८० प्रतिशतभन्दा बढी अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ ।
नेपालमा सडक दुर्घटनामा परेर हरेक वर्ष दुई हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ । तीमध्ये झण्डै आधाको मस्तिष्क मृत्यु हुने अनुमान छ ।
नेपालमा अंगदान दिने संख्या किन कम छ त ? जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरू भन्छन् – जनचेतनाको अभाव र मस्तिष्क मृत्यु भएको जानकारी नपाउनु ।
चिकित्सकहरूका अनुसार टाउकोको गहिरो चोट, मस्तिष्कघात (स्ट्रोक), मस्तिष्क रक्तस्राव (ब्रेन हेमरेज), ब्रेन ट्युमरका कारण मस्तिष्क मृत्यु हुनसक्छ । तर दुर्घटनामा परेकाहरूको मस्तिष्क मृत्यु भएको समयमै पत्ता लगाउन सहज छैन । पत्ता लाग्दा पनि परिवारका सदस्यहरू अंगदान गर्न हत्तपत्त मान्दैनन् ।
दाहसंस्कार बिना आत्माले शान्ति नपाउने धार्मिक विश्वासका कारण पनि मानिसहरू अंग दानका लागि तयार नहुने चिकित्सक बताउँछन् ।
खरानी भएर जाने वा गाड्ने अंगबाट मृत्युको मुखमा पुगिसकेको व्यक्तिको जीवन बचाउन सकिन्छ भने किन अंगदान नगर्ने भनेर बुझाउन नसकिएको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन् ।
उनी भन्छन्, ‘धेरैजसो मानिसमा जनचेतनाको अभाव छ । हामीले मस्तिष्क मृत्यु भएका बाँच्न सक्दैनन् भनेर बुझाउनै सकेका छैनौं । बुझेका मानिसले पनि पीडामा परेका कारण अंगदान गर्न मान्दैनन ।’
जनस्तरमै चेतना बढाउन सके अंगदान बढ्ने चिकित्सकहरू बताउँछन् ।
प्रतिक्रिया 4