
२ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक व्यक्तिलाई आफ्नै हातले जुत्ता लगाइदिएको फोटो र भिडिओ अहिले भाइरल छ ।
मोदीले जुत्ता लगाइदिएका व्यक्ति को हुन् ? र मोदीले किन उनलाई आफैं जुत्ता लगाइदिए ? आउनुस् जानौं ।
प्रधानमन्त्री मोदीले सोमबार संविधान निर्माता बाबा साहेब डा. भीमराव अम्बेडकरको जयन्तीको अवसरमा हरियाणामा र्याली तथा सभालाई सम्बोधन गरेपछि कैथल जिल्लाको खण्ड सीवनस्थित खेड़ी गुलाम अली गाउँका रामपाल कश्यपलाई जुत्ता लगाइदिएका थिए । सोही फोटो/भिडियो भाइरल भएको हो ।
भारतीय मिडियाहरुका अनुसार रामपाल १४ वर्ष अघिदेखि नाङ्गै खुट्टा हिँडडुल गर्दै आएका थिए । गर्मी, जाडो, वर्षा र यहाँसम्म कि आफ्नै छोराको बिहेमा पनि उनले जुत्ता लगाएनन् । भनिन्छ उनले जबसम्म भारतमा भाजपा नेतृत्वको सरकार बन्दैन र जबसम्म मोदी प्रधानमन्त्री बन्दैनन् तबसम्म जुत्ता–चप्पल नलगाउने संकल्प गरेका थिए ।
दैनिक जागरणसँगको कुराकानीमा रामपाल कश्यपले भनेका छन्, ‘मैले सन् २०१२ मा प्रण गरेको थिएँ कि जबसम्म नरेन्द्र मोदीको नेतृत्वमा देशमा भाजपा सरकार बन्दैन र उनीसँग भेट हुँदैन, तबसम्म म जुत्ता लगाउने छैन ।’
यद्यपि उनको प्रण सन् २०१४ मै पुरा भएको थियो, तर उनले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट भएपछि मात्रै जुत्ता लगाउने अठोट गरेका थिए । यसबारेमा उनले सरकार र पार्टी संगठनका तहमा पटकपटक जानकारी गराएका थिए, तर संयोग जुरेको थिएन ।
सोमबार यमुनानगरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेट भयो, मोदीले उनलाई जुत्ता लगाइदिए ।
सुरुमा प्रधानमन्त्रीले उनलाई हात मिलाएर सोधे, ‘यस्तो किन गर्नुभयो ?’
रामपालले आफ्नो संकल्पबारे बताएपछि मोदीले भने, ‘आज हामी तपाईंलाई जुत्ता लगाइदिँदै छौं । अब फेरि कहिल्यै यस्तो नगर्नुहोला । काम गर्नुपर्छ ।’
आफूले आफैंलाई कष्ट दिनुहुँदैन भन्ने सन्देश दिँदै मोदीले रामपाललाई नयाँ जुत्ता दिएका थिए ।
अनि सोधेका थिए, ‘ठिक छ ?’
रामपालले भने, ‘प्रधानमन्त्रीसँग भेट होला भनेर कहिल्यै सोचेको थिइनँ ।’
त्यसपछि मोदीले भने, ‘तपाईंको संकल्प दृढ थियो ।’
यो क्षण निकै भावकु थियो, जसको प्रतीक्षामा रामपाल १४ वर्षसम्म नाङ्गो गोडा हिँडेका थिए ।
मोदी–रामपाल भेटघाटको सूत्रधार
प्रधानमन्त्री र रामपाल कश्यपको यो भेटघाटको सूत्रधार राज्यसभा सदस्य रेखा शर्मा हुन् । उनी गत साता त्यहाँको ब्राह्मण धर्मशालामा आयोजित एक अभिनन्दन कार्यक्रममा आएकी थिइन्, जहाँ रामपालसँग उनको भेट भएको थियो । उनले रामपाललाई प्रधानमन्त्रीसँग भेट गराइदिने आश्वासन दिइन् ।
त्यसपछि उनले रामपालको भिडियो रेकर्ड गरेर प्रधानमन्त्री कार्यालयमा पठाएकी थिइन् ।
१२ अप्रिलको साँझ करिब साढे चार बजे प्रधानमन्त्री कार्यालयबाट राज्य सभा सदस्य शर्मालाई फोन आयो र उनलाई १४ अप्रिलको दिन रामपाललाई लिएर यमुनानगर पुग्न भनियो । त्यहीँ आयोजित कार्यक्रमपछि मोदी बसेको कोठामा रामपाललाई बोलाइएको थियो ।
रामपाललाई सोफामा बसाउँदै मोदीले नयाँ जुत्ता दिएका थिए । अनि लेस बाँध्न सघाएका थिए । त्यसपछि मोदीले धाप मार्दै अब सधैं जुत्ता लगाउन भनेका थिए । मोदीले रामपालको घर परिवारका सदस्य र कामबारे पनि सोधपुछ गरेका थिए ।
४० वर्षदेखि भाजपासँग जोडिएको दाबी
रामपालले मोदीलाई भनेअनुसार उनी कृषि मजदुर हुन् । करनालको कम्बोपुरा कोलोनीमा बसोबास गर्दै आएका उनले आफू ४० वर्षदेखि भारतीय जनता पार्टीसँग जोडिएको दाबी गरेका छन् ।
उनका दुई छोराहरू ट्याक्सी चलाउँछन् । एक छोरी पढ्दैछिन् । छ महिनाअघि ठूलो छोराको विवाह गरिसकेका छन् । त्यस विवाहमा पनि उनले जुत्ता लगाएका थिएनन् ।
प्रधानमन्त्रीसँग भेट भएपछि उनले जीवनको सबैभन्दा ठूलो सपना पुरा भएको बताए ।
रामपाल कश्यपको संकल्पको सन्दर्भमा प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत सबै कार्यकर्तालाई सन्देश समेत दिएका छन् ।
उनले रामपालसँगको भिडियो राख्दै लेखेका छन्– ‘उनले १४ वर्ष अघि एक संकल्प लिएका थिए कि मोदी जबसम्म प्रधानमन्त्री बन्दैनन्, जबसम्म मोदीसँग भेट हुँदैन, तबसम्म जुत्ता लगाउने छैन । मलाई आज उनलाई जुत्ता लगाइदिने अवसर मिल्यो । म यस्ता सबै साथीहरुको भावनालाई सम्मान गर्दछु । तर मेरो आग्रह छ कि यस्तो खालको संकल्प गर्नुको सट्टा सामाजिक अथवा देशहितका लागि काम गर्ने प्रण लिनुहोस् ।’
प्रतिक्रिया 4