२ वैशाख, काठमाडौं । भारतका मिडल-अर्डर ब्याटर श्रेयस अय्यर मार्च महिनाका लागि आईसीसीबाट उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । न्युजील्याण्डका जेकब डफी र रचिन रविन्द्रलाई पछि पार्दै श्रेयस आईसीसी प्लेयर अफ दि मन्थ घोषित भएका हुन् ।
अय्यरले मार्च महिनामा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतका लागि सबैभन्दा धेरै २४३ रन बनाउँदै उपाधि जित्नमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । मार्च महिनामा तीन खेलमा १७२ रन बनाए भने औसत ५७.३३ रह्यो। उनको स्ट्राइक रेट ७७.४७ थियो।
योसँगै भारतका खेलाडीले लगातार दोस्रो महिना यो अवार्ड जिते । फेब्रुअरी महिनामा शुभमन गिल उत्कृष्ट घोषित भएका थिए ।
३० वर्षीय अय्यरले च्याम्पियन्स ट्रफीमा न्युजील्याण्डविरुद्ध ग्रुप ए को खेलमा ९८ बलमा ७९ रन बनाए, जसमा ४ चौका र २ छक्का समावेश थियो। सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध ६२ बलमा ४५ रन बनाउँदै जितमा मद्दत गरे र फाइनलमा फेरि न्युजिल्याण्डविरुद्ध ६२ बलमा ४८ रन बनाउँदै भारतलाई जित दिलाए।
अवार्ड जितेपछि अय्यरले भने, ‘मार्च महिनाको आईसीसी पुरुष खेलाडी बन्न पाउनु मेरो लागि गर्वको कुरा हो। च्याम्पियन्स ट्रफी जित्नु र त्यसमा योगदान दिन पाउनु मेरो क्रिकेट जीवनको अविस्मरणीय क्षण हो।’ उनले टिमका सबै सदस्य, प्रशिक्षक र समर्थकहरूलाई पनि धन्यवाद व्यक्त गरे।
मार्च महिनाका लागि उत्कृष्ट महिला खेलाडी भने अस्ट्रेलियाकी युवा ब्याटर जर्जिया वोल घोषित भइन् ।
प्रतिक्रिया 4