+

उपचार नै नपाएर भन्दा ‘झुर उपचार’ले धेरैको मृत्यु

२०८२ वैशाख  २ गते १४:५३ २०८२ वैशाख २ गते १४:५३
उपचार नै नपाएर भन्दा ‘झुर उपचार’ले धेरैको मृत्यु

स्वास्थ्यमा गुणस्तरीयता भनेको जटिल र बहुआयामिक विषयमा हो । यसमा घन्टौँ छलफल गर्न सकिन्छ । ठूला अन्तर्राष्ट्रिय सम्मेलनहरूमा, अत्याधुनिक प्रविधिका विषयमा छलफल हुने ठाउँमा पनि गुणस्तर कामय गर्ने विषयमा एक-दुई सेसनको बहस राखिएको हुन्छ ।

यो अनवरत भइरहने प्रक्रिया हो । झट्ट हेर्दा स्तरीय सेवा भएका देशमा यसबारे किन चर्चा गरिरहनुपर्‍यो र भन्ने हुन्छ, तर प्रत्येक देशमा गुणस्तरका आफ्नै मापदण्ड र लक्ष्यहरू हुन्छन् ।

यो विषयमा संसारले धेरै लेखेको छ, बोलेको छ । नेपालभित्र पनि यसबारे धेरै वर्षदेखि कुरा भइरहेको छ । हाम्रोमा विगत २०–२५ वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचका विषयमा बहस भइरहेको छ ।

ल्यान्सेट जर्नल, हुनत यो एक सामान्य जर्नल हो, यसले विभिन्न विषयमा ठूला–ठूला स्तरीय आयाेगहरू बनाउछन् । त्यो आयाेगमा संसारका विज्ञ अगुवाहरूलाई समेटिन्छन् र विभिन्न अनुसन्धानहरू गर्ने गर्छन् ।

त्यो मध्ये ‘ल्यान्सेट कमिसन अफ क्यालिटी अफ केयर’बारे एउटा ठूलो आयाेग बनाइएको थियो । त्यो आयाेगले विभिन्न अध्ययन गरेका छन् । ती अध्ययनको रिपोर्ट विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय संघ, संगठनहरूले कपी गर्ने, सिक्ने, दशौँ वर्षसम्म त्यसका आधारमा अभ्यास गर्ने खालका हुन्छन् । यसरी गुणस्तरीय स्वास्थ्य प्रणालीबारे ल्यान्सेटले काम गरेको थियो ।

जनताका लागि गुणस्तरीय स्वास्थ्य सेवा हुनुपर्छ भन्ने कुरा हेर्दा सामान्य देखिन्छ । यसको कुरा गर्न सजिलो छ, कार्यान्वयन पक्षलाई हेर्न हो भने यो निकै चुनौतिपूर्ण छ ।

यसमा विभिन्न पक्षहरू जोडिएका हुन्छन् । जस्तो आजसम्म एकदम राम्रो सेवा दिइरहेको छ, एक्कासी ठूलो पानी पर्‍यो । ४८ घण्टा पानी परेपछि बिजुली गयो । जेनेरेटर चल्न छाड्यो, सिस्टम डामाडोल भयो भने सेवाको स्तर कहाँबाट कहाँ पुग्छ ? त्यसैले यसका वरिपरि अनेकौँ पक्ष हुन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गुणस्तरीय स्वास्थ्य सेवाका ७ वटा अवयवहरू निर्धारण गरेको छ । यो कुनै नयाँ कुरा होइन धेरैजनालाई थाहा छ ।

सुरक्षा

गुणस्तरीय स्वास्थ्य सेवामा सुरक्षाको विषयमा कुरा गर्दा ‘आइट्रोजेनिक’ कम गर्ने विषय मुख्य हुन्छ । आइट्रोजेनिक भनेको चिकित्सकीय अभ्यास तथा उपचारका कारणले हुने हानि हो ।

अमेरिका जस्तो देशमा मृत्युको तेस्रो कारण आइट्रोजेनिक हो । तथ्यांक निकाल्यो भने हाम्रो नेपालमा अझ बढी होला । स्वास्थ्य सेवामा सुरक्षित अभ्यास र सुरक्षित औषधि निकै महत्वपूर्ण विषय हो ।

हाम्रा मन्त्री ज्यू(स्वास्थ्य मन्त्री प्रदीप पौडेल)ले भन्दै आउनुभएको छ, ‘स्वास्थ्य सेवा भनेको असुरक्षित, गुणस्तरहीन भन्ने नै हुँदैन’ उहाँको त्यो भनाइ गलत हो । हरेक दिन जाेडबल नलगाइकन गुणस्तर भन्ने कुरा हुँदैहुँदैन । बिरामी अप्रेसन गर्न जाँदा सुरक्षित रुपम बाहिर आउँछ भन्ने सुनिश्चित नभएसम्म त्यो के को गुणस्तर  ?

समयमै सेवा

हाम्रोमा बिरामी भएर डाक्टर भेट्न जाँदा एक–डेढ घण्टा देखि दुई घण्टा पर्खनुपर्नेको संख्या ७० प्रतिशत रहेको एक अध्ययनले देखाएको छ ।  । बिरामी भएपछि समयमा देखाउन नपाउनु, समयमै चिकित्सकलाई भेट्न नपाउनु पनि गुणस्तरमा ह्रास हो नि । पर्खँदा–पर्खँदै समस्या बढ्न सक्छ ।

समयवद्धता

समयमा उपलब्ध भएन भने जतिसुक्कै अनुभवी, कपाल फुलेको डाक्टर किन नहोस् त्यसको के अर्थ रहन्छ र ? इमर्जेन्सीमा धेरै कुर्नुपर्दैन भन्ने हामीले सुनिश्चित गर्नुपर्छ । दुर्गम गाउँमा मान्छेका लागि पनि नजिकै अस्पताल होस्, त्यहाँ गएपछि आवश्यक उपचार सेवा पाउने अवस्था सुनिश्चित हुनुपर्छ । यी सामान्य हुन् तर कार्यान्वयन गर्न चुनौतिपूर्ण छन् ।

प्रभावकारिता

स्वास्थ्य सेवामा उपलब्ध स्रोतसाधनबाट अधिकतम फाइदा लिनुपर्छ । स्रोत, सीप तथा क्षमता खेर जान नदिने गर्नु गुणस्तरीय स्वास्थ्य सेवाको एउटा पक्ष हो भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ ।

समानता

यो धेरै महत्वपूर्ण छ । सबैजना उच्च गुणस्तरको स्वास्थ्य सेवा लिनका लागि उच्च मूल्य तिर्न सक्दैनन् । गुणस्तरीय स्वास्थ्य सेवा लिन सबै सक्षम हुनुपर्छ भन्ने कुरा यसमा उठाइएको छ । तिर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा उपचारको गुणस्तर फरक पर्ने प्रणाली खराब प्रणाली हो ।

जन-केन्द्रित सेवा

व्यक्तिगत प्राथमिकता, आवश्यकता र मान्यताअनुसार उपचार गर्नुपर्छ । पहिला–पहिला हामीले एमबीबीएस गर्दाका बेला के सिक्यौँ भने, रोगको उपचार नगर बिरामीको उपचार गर भन्थ्यौँ । त्यही ठूलो कुरा थियो ।

अहिले हामी त्यो भन्दा धेरै अगाडि बढयौँ । त्यतिले पुग्दैन । बिरामीलाई रोग लाग्नुको जरो कुन हो त्यो त्यो पत्ता लगाउनुपर्‍यो, त्यो पो ठूलो कुरा हो भन्ने छ अहिले ।

ल यो खाऊ भनेर प्रेस्किप्सन लेखिदियो, उसले किन्न सक्छ कि सक्दैन, त्यसले ठिक हुन्छ कि हुँदैन । ऊ निको भएर उत्पादनमूलक काममा लाग्न सक्छ कि सक्दैन । त्यसबारे प्रणालीले खासै चासो राखेको, सोचेको देखिँदैन हाम्रोमा । उपचार गर्दागर्दै बिरामी टाट पल्टिन्छ कि त्यो हेर्नुपर्‍यो ।

अस्तिसम्म घर भएको बिरामी भएपछि उपचार गर्दागर्दै सबै सम्पत्ति सकियो, अब स्वस्थ त भयो तर सुकुम्बासी, त्यो पनि राम्रो भएन ।

एकीकृत सेवा

विभिन्न स्वास्थ्य समस्या भएका मान्छेहरूलाई एउटै छानामुनि गुणस्तरीय सेवा हुनुपर्छ । एक–एक वटा सेवाका लागि ठाउँ–ठाउँ जानुपर्ने बाध्यता बनाउनु हुँदैन ।

पहुँच नभएर भन्दा गलत उपचारले मर्ने बढी

उपचार गरेर बचाउन सकिने तथा निको बनाउन सकिने ८० लाख मान्छे हरेक वर्ष गरिब देशहरूमा मरिरहेका छन् । एक हिसाबले भन्नुपर्दा ती मान्छेहरू अकालमा मर्छन् ।

यी मध्ये ६० प्रतिशत चाहिँ झुर उपचारले मर्छ, ४० प्रतिशत उपचार नै नगरेर मर्छ । हेरौँ त समस्या कता बढी छ ?, समस्या हामीमा छ, भनौ चिकित्सकमा पनि छ । गुणस्तरीय उपचारका अभावमा मान्छे धेरै मरिरहेका छन् ।

यो भन्नुको मतलब नेपालको अवस्था एकदमै खराब भन्न मिल्दैन । यहाँ ठिक–ठिकै छ । हामीले गुणस्तरीय उपचार सेवा दिन सकेको खण्डमा धेरै मान्छेको ज्यान बचाउन सक्छौँ भन्ने यो तथ्यांकले देखाउँछ ।

ल्यान्सेटले गरेको अध्ययनको रिपोर्ट अनुसार उपचारयोग्य व्यक्तिको उपचार नपाएर वा उपचार राम्रो नभएर मृत्यु भएका कारण सन् २०१५ मा मात्रै ६ ट्रिलियन(६० खर्ब) डलर क्षति भएको उल्लेख गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त नहुँदा मृत्यु हुने मुख्य कारण मुटुरोग रहेको अध्ययनले देखाएको छ । ८० लाखमध्ये करिब २५ लाखको मृत्यु मुटु सम्बन्धी रोगबाट भएको भनिएको छ । समयमा र सही तरिकाले उपचार भएन भने मुटुरोगले छिटो मृत्यु गराउँछ नै ।

दोस्रोमा नवजात शिशुको मृत्यु १० लाख र क्षयरोगका कारण ९ लाखको मृत्यु भएको अध्ययनको रिपोर्टले देखाएको छ ।

स्वास्थ्य सेवामा गुणस्तरीयता कायम गर्न सकेको खण्डमा यी सबै व्यक्तिलाई बचाउन सकिन्थ्यो । त्यसले पनि ‘क्यालिटी अफ केयर’को जरुरी छ ।

भारतमा ‘जननी सुरक्षा’ को विषयमा ठूलो अध्ययन भयो, यो हाम्रो आमा सुरक्षा कार्यक्रम जस्तै हो ।

त्यो अध्ययनमा के देखियो भने भारतमा स्वास्थ्य संस्थामा बच्चा जन्माउने दर ह्वात्तै बढ्यो तर मातृ मृत्युदर खासै घटेन, किनभने त्यहाँ पुगेर राम्रो सेवा पाए पो ? त्यसाे भएर स्वास्थ्य संस्था पुग्दैमा जोखिम नहुने भन्ने त हुँदैन ।

नेपालमा आमा सुरक्षा कार्यक्रमले मातृशिशु मृत्युदर घटाउन ठूलो भूमिका खेलेको छ । यसलाई नकारात्मक रुपमा टिप्पणी गर्नु ठिक हुँदैन तर हाम्रोमा पनि कमी कमजोरी छन् ।

धनी देशमा र गरिब देशमा क्वालिटी अफ केयरमा किन भिन्नता हुन्छ ?

गरिब देशमा सेवा दिनेहरू बदमास त होइन ? योग्यताका हिसाबले यहाँ पनि धेरै विज्ञ चिकित्सकहरू छन् । तर स्रोत साधनको उपलब्धता, त्यसको आपूर्ति जस्ता कारणले निकै फरक पार्दोरहेछ ।

शल्यक्रियापछि हुने संक्रमण गरिब देशहरूमा ६ प्रतिशतसम्म छ भने विकसित देशमा जम्मा ०.९ प्रतिशत मात्रै देखिन्छ । शल्यक्रियापछिको संक्रमणले बिरामीको मृत्यु हुनसक्छ । थप उचपारका लागि खर्च धेरै हुन्छ र अन्य विभिन्न समस्या हुन्छन् ।

एनेस्थेसिया(अप्रेसन गर्दा बेहोस बनाउने) सँग सम्बन्धित मृत्यु पेटको अप्रेसन गर्दा धनी देशका तुलनामा गरिब देशमा ३ गुणा बढी भएको आँकडा छ ।

मातृमृत्युदरको बारेमा २७ देशमा अध्ययन भएकोमा चीन, जोर्डन, भियतनाम जस्ता देशमा लगभग शून्यमा पुर्‍याइसकेका छन् । अरु देशमा प्रतिलाखमा १६४ सम्म छ । हाम्रो पनि प्रतिलाख १५१ हाराहारी रहेको तथ्यांक आएका छन् । यसमा हामी पछाडि नै छौँ ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा नेपालमा पनि गृहकार्य भइरहेको छ । उपकरण मात्रै किनेर हुँदैन, भवन मात्रै बनाएर हुँदैन, जनशक्तिको तालिम, गुणस्तर आपूर्ति सबैको मिश्रणले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव भन्ने कुराको योजना बनाइएको छ । तर यसको कार्यन्वयन धेरै अघि बढ्न सकेन ।

म मेडिकल काउन्सिलको अध्यक्ष हुँदा सबै अस्पताललाई डब्लुएचओको मापदण्ड पालना गर्न जोड दिएका थियौँ ।

गुणस्तर कायम गर्नका लागि हरेक दिन सुधार गर्दै जानु आवश्यक छ । गुणस्तर कायम गर्नका लागि थुप्रै सूचकहरू हुन्छन् ।

जस्तो–अमेरिका क्यानडामा आईसीयूमा छिर्दा कति प्रतिशतले हात धोएर छिरे भनेर दिनदिनै निरीक्षण भइरहेको हुन्छ, हेर्दा यो सामान्य लाग्न सक्छ । गुणस्तर कायम गर्नका लागि अस्पतालमा निरीक्षण गर्नकै लागि कुनै संयन्त्र बनाउन सकिन्छ ।

हात धुने प्रोटोकल पालना गरेको छ कि छैन हेर्ने संयन्त्र बनाउन सकिन्छ । भर्ना भएको बिरामीलाई औषधि ठिकसँग दिएको छ कि छैन भनेर निरीक्षण गर्न सकिन्छ । अप्रेसनका लागि अस्पताल पुगेको कति समयमा पालो आएको छ ? अस्पतालले मनिटरिङ गर्नुपर्छ ।

पुनः संक्रमणको दर कति छ, त्यो पनि हेर्नुपर्छ बिरामी भर्ना भयो । उपचार गरेर डिस्चार्ज भयो । घर जान पाएको छैन फेरि अस्पताल आउनुपर्‍यो भने त्यहाँ पक्कै उपचारमा केही गल्ती छ भन्ने भनेर शंका गर्नुपर्ने हुन्छ ।

राम्रो प्रणालीको आवश्यकता हुन्छ । गुणस्तर मापन गर्ने व्यवस्था पनि हुनुपर्छ । मापन नै भएन भने कोही जिम्मेवार नहुन सक्छ ।

कम लगानीमा उच्च गुणस्तरको सेवा कसरी दिने भन्नेमा विकसित देशमा अभ्यास भइरहेको हुन्छ । त्यो हामीले गर्नुपर्‍यो ।  उपचार गरेपछि त्यसको राम्रो–नराम्रो नतिजाको जिम्मा लिन पनि जान्नुपर्छ ।

(ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा नीतिगत बहस श्रृङ्‍खला अन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सम्बन्धी विषयमा डा. कोइरालाले दिएको प्रस्तुतिको सम्पादित अंश)

गुणस्तरीय सेवा डा.भगवान कोइराला स्वास्थ्य सेवा
लेखक
डा. भगवान कोइराला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय