
२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई मानव जीवनका लागि अत्यावश्यक, अपरिहार्य र सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा औंल्याएका छन् ।
दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘…६० प्रतिशत वा सोभन्दा बढी जनसंख्या कृषिमा आधारित छ । तर, राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान कम छ । कृषि सबैभन्दा बढी महत्त्वपूर्ण क्षेत्र हो । कुनै पनि पेशा व्यवसायको सबैभन्दा बढी महत्त्वपूर्ण, अर्थपूर्ण, जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र कृषि हो,’ प्रधानमन्त्री ओलीले भने ।
नेपालको ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आधारित भए पनि राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान न्यून रहेको बताउँदै कृषिको यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणको खाँचो रहेको उनले औंल्याए ।
कृषिमा लगानीअनुसार प्रतिफल नहुनु, उपयुक्त बजारको अभाव, तथा उत्पादन र उत्पादकत्व न्यून हुनु प्रमुख समस्या भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘मानव जातिका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि हो । तर, यो नै पछाडि परेको छ । त्यसकारण आज कुनै पनि समाजलाई बचाउनका लागि, त्यसलाई विकसित गर्नका लागि कृषि क्षेत्रमा ध्यान दिन जरुरी छ । जनसंख्या यसरी वृद्धि भइराखेको छ कि तर अहिले अलिकति मत्थर भएको छ । तर पनि हाम्रोजस्तो कृषि प्रधान भनिएको ठाउँमा, जहाँ ६० प्रतिशत जनसंख्या कृषि पेशामा अल्झिएको छ, त्यस्तो देशमा पनि कृषिको अवस्था यस्तो हालतमा छ कि हामीले जीविकाका लागि पनि खाद्यान्न बाहिरबाट निर्यात गर्नु पर्ने अवस्था छ । पहिले हाम्रो देश कृषिमा निर्यातक थियो, आत्मनिर्भर मात्र होइन । तर, अहिले आत्मनिर्भर पनि छैन, आयातक देश बनेको छ । यो बहुतै दुःखको कुरा हो । जसलाई हामी फेर्न चाहिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।
कृषि र पशुपालनबाटै आधुनिक सभ्यता सुरु भएको उल्लेख गर्दै उनले वातावरणीय समस्याहरू (ग्लोबल वार्मिङ, सी लेबल राइज, ग्लेसियर पग्लिनु आदि) पनि कृषिसँग गाँसिएको बताए ।
वनजंगलमा आगलागी र पराल जलाउँदा उत्पन्न हुने प्रदूषणले वातावरण र स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा क्षेत्रीय स्तरमा संयुक्त प्रयासको आवश्यकता औंल्याए ।
उनले कृषिमा आधारित उद्यमशीलताले रोजगारी, आय वृद्धि र गरिबी न्यूनीकरणमा योगदान पुर्याउने बताउँदै कृषि सुधारको योजनाका लागि यस किसिमको सम्मेलनले ठोस कार्ययोजना दिनुपर्ने अपेक्षा व्यक्त गरे ।
प्रतिक्रिया 4