
पहिलेका बुढापाकाहरू कोदोलाई ‘कु-अन्न’ समेत भन्ने गर्थे । यसको मतलब अन्नहरू मध्ये कोदो सबैभन्दा हेपिएको वर्गमा पर्थ्यो । यदि कसैको भन्सामा बिहान-बेलुकै कोदोको मात्रै खानेकुरा पाक्थ्यो भने, त्यो परिवार खानेकुराको अभाव सामना गरिरहेको छ भन्ने बुझिन्थ्यो । तर, अहिले समाजमा कोदोको स्थान बदलिएको छ ।
स्वास्थ्यका दृष्टिकोणले समेत कोदो निकै लाभदायक रहेको थाहा पाएपछि यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । कोदो नेपालको पहाडी र तराई क्षेत्रमा परम्परागत रूपमा खेती गरिने एक पोषक बाली हो ।
नेपाली भान्सामा ढिँडो, रोटी र मदिरा बनाउन कोदोको प्रयोग हुन्छ । कोदोलाई सुपर फुडको रूपमा पनि लिइन्छ किनभने यसमा पाइने पोषक तत्त्वहरूले शरीरलाई ऊर्जा र रोगसँग लड्ने शक्ति दिन्छ ।
कोदोमा पाइने मुख्य पोषक तत्त्वहरू
कोदो एक बहुउपयोगी अन्न हो जसमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता तत्त्वहरू पाइन्छन् ।
कार्बोहाइड्रेट
कोदोमा करिब ७०–७५ प्रतिशत कार्बोहाइड्रेट हुन्छ । यो जटिल कार्बोहाइड्रेटको स्रोत हो, जसले शरीरलाई लामो समयसम्म ऊर्जा प्रदान गर्छ । चामल वा गहुँको तुलनामा कोदोको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । जसले ब्लड सुगरलाई बिस्तारै बढाउँछ र मधुमेह नियन्त्रणमा सहयोग गर्छ । कोदोको ढिँडो वा रोटी खाँदा तुरुन्तै ऊर्जा मिल्छ र भोक लामो समयसम्म लाग्दैन ।
प्रोटिन
कोदोमा ७ देखि १२ प्रतिशत प्रोटिन हुन्छ, जुन अन्य अन्नको तुलनामा राम्रो मानिन्छ । यसमा लाइसिन जस्ता आवश्यक अमिनो एसिड पाइन्छन्, जुन मांसपेशीको मर्मत र कोशिकाको निर्माणमा सहयोग गर्छ । शाकाहारीहरूका लागि यो प्रोटिनको राम्रो स्रोत हो । कोदोले मांसपेशी बलियो बनाउँछ र प्रोटिनको कमीले हुने कमजोरी रोक्छ ।
फाइबर
प्रति १०० ग्राम कोदोमा ८–१० ग्राम फाइबर पाइन्छ । फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ, कब्जियत रोक्छ र आन्द्राको काम सुधार्छ । यसले कोलेस्टेरोलको स्तर पनि घटाउँछ । नियमित कोदो खाँदा पेट सफा रहन्छ र तौल नियन्त्रणमा सहयोग हुन्छ ।
भिटामिन
कोदोमा बी–कम्प्लेक्स भिटामिन (बी१, बी३, बी६) र फोलेट पाइन्छ । बी१ ऊर्जा उत्पादन र स्नायु प्रणालीको स्वास्थ्यका लागि लाभदायक हुन्छ । बी३ ले छाला र पाचन प्रणाली स्वस्थ राख्छ । बी ६ ले रक्त कोषहरू बनाउन र मस्तिष्कको कार्यमा सहयोग गर्छ । साथै फोलेट गर्भवती महिलाहरूका लागि रक्तअल्पता रोक्न उपयोगी हुन्छ । कोदोले मानसिक स्वास्थ्य र रोग प्रतिरोधी क्षमता बढाउँछ ।
खनिज
कोदोमा क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, र पोटासियम जस्ता खनिज पनि पाइन्छ । कोदो अन्य अन्नभन्दा क्याल्सियमको उत्कृष्ट स्रोत हो । जसले हड्डी र दाँत बलियो बनाउँछ ।
आइरनले रक्त अल्पता रोक्छ र रगतमा अक्सिजन पुर्याउँछ भने म्याग्नेसियमले मांसपेशी र स्नायुको कार्यमा सहयोग गर्छ । कोदोमा हुने फस्फोरसले हड्डी र ऊर्जा उत्पादनमा आवश्यक हुन्छ । पोटासियमले रक्तचाप नियन्त्रण गर्छ । कोदोले हड्डीको कमजोरी, थकान, र उच्च रक्तचाप जस्ता समस्यालाई कम गर्छ ।
एन्टिअक्सिडेन्ट
कोदोमा फेनोलिक यौगिक र फ्ल्याभोनोइड्स हुन्छ । यी तत्त्वले शरीरमा फ्री र्याडिकल्सलाई नष्ट गर्छ, जसले क्यान्सर, मुटुरोग, र बुढ्यौलीको जोखिम कम गर्छ । कोदोको गाढा रातो वा कालो रङ्गमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । कोदोले कोशिकालाई क्षतिबाट बचाउँछ र दीर्घकालीन स्वास्थ्य राख्छ ।
कम चिल्लो
कोदोमा १/२ प्रतिशत मात्र चिल्लो हुन्छ, जुन स्वस्थ अनस्याचुरेटेड फ्याट हो । कम चिल्लोले तौल नियन्त्रण गर्छ र मुटुको स्वास्थ्य राख्छ । साथै कोदो खाँदा शरीरमा अनावश्यक बोसो जम्मा हुँदैन ।
अन्य गुणहरू
कोदोमा ग्लुटेन हुँदैन, जसले ग्लुटेन एलर्जी भएकाहरूका लागि उपयुक्त हुन्छ । कोदोको क्षारीय प्रकृतिले शरीरको पिएच सन्तुलन राख्छ र अम्लता कम गर्छ । कोदो कम पानी र सुख्खा जमिनमा पनि उब्जन्छ, जसले यसलाई दिगो बाली बनाउँछ ।
स्वास्थ्यका लागि कोदो
कोदोमा पाइने यी तत्त्वहरूले विभिन्न स्वास्थ्य लाभ दिन्छ । कम ग्लाइसेमिक इन्डेक्स र फाइबरले ब्लड सुगर स्थिर राख्छ जसले मधुमेह नियन्त्रण हुन्छ । यसमा हुने उच्च क्याल्सियमले हड्डी बलियो बनाउँछ, विशेष गरी महिलाहरूमा ओस्टियोपोरोसिस रोक्न उपयोगी हुन्छ ।
फाइबरले कब्जियत हटाउँछ र पेट सफा राख्छ । एन्टिअक्सिडेन्ट र कम चिल्लोले कोलेस्ट्रोल घटाउँछ र मुटु रोगको जोखिम कम गर्छ । आइरन र फोलेटले रगतको कमी पूरा गर्छ ।
कोदोको आधुनिक प्रयोग
आधुनिक समयमा कोदोको महत्त्व बढ्दै गएको छ । स्वास्थ्य सचेत व्यक्तिहरूले यसलाई गहुँ र चामलको विकल्पको रूपमा प्रयोग गर्न थालेका छन् । कोदोको पिठोबाट बिस्कुट, रोटी र साथै विभिन्न बेकरी सामग्री बनाउन थालिएको छ । विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि सङ्गठनले कोदोलाई ‘पोषक भविष्यको बाली’ का रूपमा मान्यता दिएका छन्।
प्रतिक्रिया 4