
यो करिब एक दशकअघिको प्रसंग हो, यद्यपि आज पनि उत्तिकै सान्दर्भिक छ । एक समारोहमा अभिनेता अमिताभ बच्चनले धीरुभाई अम्बानीलाई स्मरण गर्दै आफू कसरी संकटका दिनबाट बाहिर आएँ भनी उल्लेख गरेका छन् ।
एकताका उनी यसरी ऋणमा डुबेका थिए, घरबार नै लिलाम हुनेवाला थियो । त्यसबेला उनको करियर पनि ध्वस्त थियो । काम पाएका थिएनन् । भनिन्छ, त्यसबेला उनलाई भारु ९० करोडको ऋण लागेको थियो।
आफ्नो कम्पनी डुब्दै गर्दा, घर लिलामीको पत्र आइरहँदा, कुनै पनि फिल्ममा काम नपाउँदा उनलाई धीरुभाई अम्बानीले आर्थिक सहयोग गर्न खोजे । तर, उनले त्यो सहयोग लिएनन् । बरु आफ्नै बलबूतोमा उनले खुट्टा टेके र आफ्नो साम्राज्य पुर्नस्थापित गरे ।
यसै सेरोफेरोमा अमिताभ बच्चनले दिएको भावुक मन्तव्य यहाँ प्रस्तुत गरिएको छ ।
म ऋणमा डुबेको थिएँ, घर लिलामी हुँदै थियो
जीवनमा एक पटक यस्तो प्रलय आयो, म डुबें । मेरो कम्पनी घाटामा गयो । करोडौंको ऋण थपियो । मेरो व्यक्तिगत बैंक मौजाद शून्य भयो । अर्थात बैंकमा एकरत्ती पैसा थिएन ।
कमाइको सबै स्रोत बन्द थियो । काम थिएन । र, सरकारको तर्फबाट मेरो घरमा लिलामीको ताल्चा ठोकियो ।
यो कुरा धीरुभाई (भारतीय धनाड्य धीरुभाइ अम्बानी)ले थाहा पाए । कसैलाई नसोधी वा कसैलाई थाहा नदिई उनले आफ्ना कान्छो छोरा एवं मेरो साथी अनिल अम्बानीलाई भनेछन्, ‘उसको खराब दिन चलिरहेको छ । उसलाई केही पैसा दिनू ।’
अनिल मकहाँ आए र सो कुरा बताए। उसले मलाई जति पैसा दिन चाहेका थिए, त्यसले मेरो सबै ऋण चुक्ता हुन्थ्यो । म ऋणमुक्त हुन्थें । तनावमुक्त हुन्थें । मेरो सबै समस्या एकै झमटमा समाधान हुन्थ्यो ।
उनको उदारताले मलाई भावुक बनायो । मलाई लाग्यो कि, उनको उदारताको स्वीकार नगरौं । मैले पैसा लिन अस्वीकार गरिदिएँ । ईश्वरको कृपा भनौं । समय क्रमश: बद्लियो । मैले काम पाउन थालें । विस्तारै-विस्तारै मैले आफ्नो सबै ऋण तिरेँ । म ऋणबाट मुक्त भएँ ।
एक साँझको कुरा हो ।
धीरुभाईको निवासमा कुनै समारोह हुँदै थियो । त्यसमा मलाई पनि आमन्त्रित गरियो । म गएँ । एक छेउमा धीरुभाई आफ्नो कुनै आगन्तुक मित्रसँग बातचित गरिरहेका थिए।
कर्पोरेट दुनियाँका दिग्गजहरूसँग बसेर बातचित गरिरहेका धीरुभाईको दृष्टि ममाथि पर्यो । तब उनले मलाई बोलाए । ‘मसँग यही बस’ उनले नजिक बस्न इसारा गर्दै भने । मलाई असहज लाग्यो ।
मैले भनें, ‘ठिकै छ । म उता साथीहरूसँग बसेको छु, त्यहीँ ठिक छ ।’ उनले जिद्दी गरे र मलाई त्यहीँ बसाए । अनि उनै दिग्गजले साथीहरूसँग फर्केर भने, ‘यो मान्छे लडिसकेको थियो, डुबिसकेको थियो । तर, आफ्नो तागतले फेरि उठ्यो र खडा भयो । म उसको इज्जत गर्छु ।
उनको त्यो व्यवहार र शब्द मेरा लागि त्यो धनराशीभन्दा हजारौं गुणा मूल्यवान थियो, जुन मलाई संकटबाट मुक्त हुनका लागि उनीहरू दिन तयार भएका थिए ।
प्रतिक्रिया 4