+
+
Shares

पानीट्यांकीमा बालिकाको शव प्रकरण : सीसीटीभीमा देखिएका १५ वर्षीय दाजुबाटै हत्या

एक अधिकृत भन्छन्, ‘घटनाको दिन दाजु-बहिनी दुवैले लागुऔषध सेवन गरेका रहेछन् । नसाको सुरमा विवादमा भएपछि हत्या भएछ । भोलिपल्ट नसाले छुटेपछि गएर शव व्यवस्थापन गरेको देखिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते २२:५३

२ वैशाख, काठमाडौं । ललितपुरको मंगलबजार नजिक खपिन्छें टोलस्थित एक घरको पानीट्यांकीमा मृत भेटिएकी ११ वर्षीया बालिकाको हत्या भएको खुलेको छ । हत्या आरोपमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रहरी अनुसन्धानका क्रममा मृत भेटिएकी ११ वर्षीया बालिका दुर्गा बोहराको हत्या उनकै दाजुबाट भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । हत्या आरोपमा पक्राउ परेका १५ वर्षीय दाजुको सीसीक्योमरामा कैद भएका थिए । शंकास्पद गतिविधि गरेको देखेपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । सो क्रमा उनले बहिनीको हत्या आफैंले गरेको स्वीकार प्रहरीसमक्ष गरेका छन् ।

१५ वर्षीय दाजुसहित ८ जनालाई तारेखमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा दाजुबाटै हत्या भएको खुलेको हो । भगवती बोहराकी ११ वर्षीया छोरी दुर्गा ४ चैत राति साढे ९ बजेबाट हराएकी थिइन् । बझाङको सुर्मा गाउँपालिका–४ घर भएकी आफ्नी छोरी हराएको भन्दै ६ चैतमा आमाले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।

मकवानपुरका सञ्जय बोगटी डेरा सरेर खपिन्छें टोलको बाबुराजा अवालेको घरमा पुगेका थिए । १६ चैतमा डेरा सरेका बोगटीले पानीट्यांकीबाट बाहिर किरा आउन थालेपछि ट्यांकी सफा गर्न खोज्दा २९ चैतमा बालिकाको शव भेटिएको थियो ।

यो घरमा पहिला भगवती नै बस्थिन् । उनीहरू २५ फागुनमा डेरा सरेर अन्यत्र गएका थिए । यही घरमा बस्ने चमेली सुनारको परिवार पनि २ चैतमा डेरा सरेर अन्यत्र गएको थियो ।

कोही नबसेको उक्त घरमा बहिनीको हत्या गरेर दाजुले शव पानीट्यांकीमा लुकाएको पाइएको प्रहरीको भनाइ छ ।

४ चैतमा दाजु बहिनीसँगै उक्त घरमा जाँदै गरेको सीसीक्यामेराको फुटेजमा देखिएको थियो । सुरुवाती सोधपुछको क्रममा दाजुले छुटेका कपडाहरू लिन गएको बताएका थिए । तर अनुसन्धान गर्दै जाँदा उनैले हत्या गरेको खुलेको एसपी जिसीले बताए ।

उक्त घरमा पुगेपछि सामान्य विवाद हुँदा बहिनीलाई पिटेर लडाएको र नाइनलको डोरीले पछाडिबाट बाँधेर घाटीमा कसी हत्या गरेको उनले बताएका छन् ।

हत्यापछि त्यसदिन फरार रहेका उनी भोलिपल्ट मात्रै उक्त घरमा गएर शव व्यवस्थापन गरेको पाइएको अर्का एक अनुसन्धान अधिकृतले बताए ।

पक्राउ परेका दाजुको भनाइलाई उद्धृत गर्दै एक अधिकृत भन्छन्, ‘घटनाको दिन दाजु बहिनी दुबैले लागुऔषध सेवन गरेका रहेछन् । नसाको सुरमा विवादमा भएपछि हत्या भएछ । भोलिपल्ट नसाले छुटेपछि गएर शव व्यवस्थापन गरेको देखिन्छ ।’

भुईंतलाको भर्‍याङ छेउमा रहेको उक्त शव भोलिपल्ट दाजुले पानीट्यांकीमा हालेर ढक्कन लगाएर बाहिरिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?