+
+
Shares

गणेशप्रसाद लाठको गैरआख्यान पुस्तक ‘सीमान्त सम्झना’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १८:१५

२ वैशाख, काठमाडौं‌ । आख्यानकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ नामक संस्मरण पुस्तक सार्वजनिक भएको छ । शनिबार कालिकास्थानस्थित नेपालयको आरसालामा पुस्तक लोकार्पण गरिएको हो ।

पब्लिकेसन नेपालयको शैलीअनुरुप हलमा उपस्थितमध्येबाट कसैलाई लेखकले पुस्तक उपहार दिएपछि पुस्तक लोकार्पण गरिन्छ । लेखक लाठको रोजाइअनुसार अदिती साह र लेखक मोहन मैनालीलाई उपहार दिएर पुस्तक लोकार्पण सुरु गरियो ।

एलएलबी चौथो सेमेस्टर अध्ययनरत अदिती साह र गत वर्ष मदन पुरस्कारप्राप्त कृति ‘मुकाम रणमैदानका लेखक मोहन मैनालीका साथै पुस्तकका टिप्पणीकार यादव देवकोटा र लेखक लाठले पुस्तक लोकार्पण गरे ।

पुस्तक ‘सीमान्त सम्झना’बारे  इतिहास र सँस्कृति विषयमा कलम चलाउँदै आएका टिप्पणीकार यादव देवकोटाले  टिप्पणी गरे ।

वीरगन्जकै अर्का लेखक धच गोतामेको उपन्यास ‘घामका पाइलाहरू’बाट आफ्नो मन्तव्य सुरु गरेका देवकोटाले ‘सीमान्त सम्झना’ले सरदार भीमबहादुर पाँडेले लेखेको ‘त्यस बखतको नेपाल’कै स्तरमा वीरगन्ज सहरको सामाजिक, आर्थिक इतिहास लिपिवद्ध गरेको बताए । उनले भने, ‘त्यस बखतको वीरगन्ज बुझ्न यो पुस्तक पढ्नैपर्छ ।’

‘सीमान्त सम्झना’ पुस्तक कोरा कल्पनामा आधारित नभएको र आत्मश्लाघाबाट पनि मुक्त रहेको देवकोटाले टिप्पणी गरे । उनले भने, ‘सयौँ व्यक्तिसित कुराकानी गरेर लेखिएको, दर्जनौँ पुस्तक, लेखरचना उद्धृत गरी लेखिएको अनि दुर्लभ फोटोहरू पनि यहाँ प्रस्तुत गरिएको हुँदा सीमान्त सम्झना अनुसन्धानमूलक खजाना हो ।’

संयोगले आफू गोरखाकै भएको तर गोर्खाली राष्ट्रवादले गणेशप्रसाद लाठजस्ता लेखकलाई लेखकका रुपमा स्वीकार गर्न कन्जुस्याइँ गर्ने गरेको पनि उनले बताए ।

पुस्तकका लेखक गणेशप्रसाद लाठ वीरगन्जमा बस्छन् । ‘क्षमादान’ उपन्याससहित यसअघि उनका चार पुस्तक प्रकाशित छन् ।

आफूहरुले ‘सीमान्त सम्झना’मा साहित्यको रसिलो शैली र गैरसाहित्यको शोध शैली संयुक्त रुपमा भेटेको हुँदा पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए ।

लेखक गणेशप्रसाद लाठले भने, ‘कसैले पढोस्, नपढोस्, छापोस्, नछापोस् तर लेखिरहन्छु म ।’ हावाहुरी र पानीको बीच पनि आएर हलमा खचाखच भरिएका दर्शकदीर्घातिर हेर्दै उनले भने, ‘काठमाडौँले यसपाली मलाई बेग्लै माया र ऊर्जा दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?