
न्यू क्यासल (अस्ट्रेलिया) । लोकपप सांगीतिक समूह ‘कन्दरा’ले नयाँ नारासहित सन् २०२६ को लागि अस्ट्रेलिया टूरको घोषणा गरेको छ । न्यू क्यासलमा यसवर्षको अन्तिम प्रस्तुति दिँदै ब्याण्डले अर्को वर्ष यही समयमा टूरको थालनी गर्ने जनाएको छ ।
‘नेपाल फेस्टिभल २०२५’ को समापनपश्चात ब्याण्डले पहिलो पटक त्यहाँको नेपाली बस्ती न्यू क्यासलमा अन्तिम प्रस्तुति दिएको हो । उक्त प्रस्तुतिमार्फत ब्याण्डले नयाँवर्ष २०८२ सालको शुभकामना पनि दियो ।
सो क्षेत्रमा ५ हजारभन्दा धेरै नेपालीको बसोबास छ । आयोजक ‘द भैरव ग्रुप’का सदस्यले कन्सर्ट ऐतिहासिक बनेको बताए । ‘दर्शकको संख्याभन्दा पनि ‘कन्दरा’को संगीत र विरासतसँग मेल खाने गुणस्तरीय थलो रोज्नु प्राथमिकता थियो । न्यू क्यासलमा यस्तो कार्यक्रम हुनु आगामी सांगीतिक यात्राको लागि एउटा मापक बन्न सक्छ’ आयोजकले भने ।
कार्यक्रममा कालजयी गीतसँगै नयाँ सिर्जना ‘विचरा म’ र ‘भेडी गोठैमा’ प्रस्तुत गर्दा दर्शकले सकारात्मक प्रतिक्रिया जनाए । तीन पुस्ताका दर्शक एकै ठाउँमा रमाइरहेको दृश्य खास देखियो । ९० को दर्शकका दर्शक भावनाले भरिएर ओतप्रोत देखिएका थिए ।
मुख्य गायक विवेक श्रेष्ठले कार्यक्रममा नेपाली मूलका बालबालिकालाई नेपाली भाषा बोल्न र बुझ्न प्रेरित गर्ने आग्रह राख्दै, न्यू क्यासलको नेपाली समाजद्वारा सञ्चालनमा रहेको साप्ताहिक नेपाली भाषा कक्षामा बालबालिकाको सहभागिता आवश्यक रहेको विशेष जोड दिए ।
यात्राको समापनसँगै कन्दराले आगामी वर्ष आयोजना हुने ‘लिगेसी इन रिदम : कन्दरा अस्ट्रेलिया टूर २०२६’को औपचारिक घोषणा पनि गर्यो । राइडर्स नेपअस र जात्रा इभेन्ट्सको संयुक्त आयोजनामा ब्याण्डको आगामी टूर मार्चदेखि अप्रिलसम्म हुनेछ । सांगीतिक यात्राको समापनपछि ब्याण्डले केही समय विश्राम लिने र निकट भविष्यमा विश्व टूरको श्रृंखलालाई निरन्तरता दिने जनाइएको छ ।
प्रतिक्रिया 4