
२ वैशाख, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. खड्ग केसीले संस्थाको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार त्रिविमा पदभार ग्रहण गर्दै उनले संयोगले आफूले जिम्मेवारी पाएको भन्दै त्रिविको नियमभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने बताए ।
‘विद्यार्थी कर्मचारी सबैको सल्लाह सुझावको अपेक्षा राखेको छु। संस्थाको हितलाई केन्द्रमा राखेर काम गरौं,’ उनले भने ।
विश्वविद्यालयमा आउने समस्या संवादबाटै समाधान गर्ने पनि उनले बताए । ‘विश्वविद्यालय प्राज्ञिक निकाय हो । समस्या समाधान गर्ने माध्यम हो । संवाद छलफल खुला रहन्छ । केही समस्या हुँदा संवाद त्यसपछि मात्र अरु बाटो,’ उनले भने ।
यसअघि प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी ओलीले उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । प्रा.डा. केसरजङ्ग बरालले १५ चैतमा उपकुलपतिबाट राजीनामा दिएका थिए ।उनको राजीनामा २८ चैतमा स्वीकृत भएको थियो ।
बरालको राजीनमा स्वीकृत भएपछि त्रिवि उपकुलपतिविहीन भएको थियो । ४ वर्षे कार्यकालमा बरालले १३ महिनामै राजीनामा दिएका थिए ।
त्रिविले निमित्त उपकुलपति पाए पनि अब उपकुलपति नियुक्तिको प्रक्रिया पनि अगाडि बढ्ने छ । त्रिविका तीन महिनासम्म शिक्षाध्यक्षलाई ३ महिनाको जिम्मेवार दिन सक्ने प्रावधान छ ।
प्रतिक्रिया 4