+
+
Shares

बलेफी हाइड्रोपावरको रहस्यमय सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १९:१८

२ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारमा एउटा कम्पनी बलेफी हाइड्रोपावरको रहस्यमय कारोबार भएको छ ।

कुल ८ अर्ब ५४ करोडको कारोबार भएको बजारमा यो एउटा कम्पनीको मात्रै २ अर्ब १ करोडको भयो । अर्थात् कुल कारोबारमा एउटै कम्पनीको २३ प्रतिशत हिस्सा रह्यो । यति धेरै कारोबार हिस्सा सायदै पहिलो हो ।

तर कम्पनीको मूल्य सर्किट लेभलमै (करिब १० प्रतिशत) घटेको छ । पछिल्लो मूल्य प्रतिकित्ता २३० रुपैयाँ हाराहारीमा छ ।

सस्तो मूल्यका बाबजुत यति भारी रकमको कारोबार हुनुमा खास कारण देखिँदैन । मंगलबार यस कम्पनीको सेयर भृकुटी स्टक ब्रोकिङ (५५), आशुतोष ब्रोकरेज (८) र नासा सेक्युरिटिज (५८) बाट भारी मात्रामा बिक्री भएको छ ।

ब्रोकरको फ्लोरसिट हेर्दा ५५ नम्बरको ब्रोकरबाट मात्रै कुल कारोबारको ३०.४२ प्रतिशत सेयर बिक्री भएको छ । त्यस्तै ८ नम्बरबाट २४.३३ र ५८ बाट २१.७० प्रतिशत बिक्री भएको छ ।

तीन वटा ब्रोकरबाट भारी मात्रामा बिक्री हुँदा खरिद भने छरिएको छ । सबैभन्दा धेरै खरिद भएको ४७ नम्बरको ब्रोकरबाट ८.९९ प्रतिशत मात्रै खरिद भएको छ ।

ब्रोकर नम्बर ५५ (भृकुटी स्टक ब्रोकिङ)का सञ्चालक विजय रानाभाट लगानीकर्ता आफैले टीएमएसबाट खरिदबिक्री गर्ने भएकाले यसको कारणबारे जानकारी नभएको बताउँछन् । ‘हालै यस कम्पनीको संस्थापक सेयरमा लकइन पनि खुलेको रहेछ, सायद संस्थापकबाट बिक्री आएको हुन सक्छ’ अनलाइनखबरसँग उनले भने ।

बलेफी हाइड्रोपावरको मंगलबार देखिएको कारोबार सिट

२९ चैत २०७८ मा मात्रै यस कम्पनीको आईपीओ सर्वसाधारणका लागि बाँडफाँट भएको हो । बाँडफाँट भएको तीन वर्षपछि संस्थापक समूहको सेयरमा लकइन सकिने व्यवस्थाअनुसार गत चैत २९ गते लकइन अवधि सकिएको छ ।

यहीं कारण यस कम्पनीको सेयरमा संस्थापकको सेयर बिक्रीमा आएको अनुमान गरिएको ब्रोकर सञ्चालकहरु बताउँछन् । फेरि मूल्य करिब १० प्रतिशत घटेर कारोबार बढेका कारण संस्थापकले नै सेयर बेच्न हतार गरेको हुन सक्ने ब्रोकर सञ्चालकको भनाइ छ ।

यति धेरै मात्रामा एकै दिन सेयर बिक्री गर्न सक्नु पनि रहस्यमय छ । सामान्यतः मूल्य उच्च दरमा घटेका कम्पनीमा आम साधारण लगानीकर्ता खरिदका लागि आकर्षित हुँदैनन् ।

जति सेयर बिक्री भएको हुन्छ, त्यति नै खरिद पनि हुन्छ । त्यसैले खरिद भारी मात्रामा हुनुमा पनि केही भित्री सूचना हुन सक्ने अनुमान छ ।

यस कम्पनीको बजारमा कुल ३ करोड ६५ लाख ५९ हजार ४ सय कित्ता सेयर सूचीकृत छ । सूचीकृत सेयरमध्ये २० प्रतिशत मात्रै सर्वसाधारणलाई जारी गरिएको थियो । बाँकी ८० प्रतिशत अर्थात् २ करोड ९२ लाख ४७ हजार ५२० कित्ता सेयर संस्थापकको छ ।

भारी मात्रामा संस्थापक सेयर रहेकाले लकइन खुल्नेवित्तिकै बजारमा आउन थालेको अनुमान गरिएको छ । सूचीकृत सबै सेयरको मूल्य जम्मा ८ अर्ब ४० करोड हुन्छ ।

कम्पनीको वित्तीय स्थिति पनि मजबुत देखिँदैन । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनी १८ करोड १४ लाख रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ४४ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ जम्मा ६९ रुपैयाँ ३९ पैसा छ ।

कमजोर वित्तीय स्थिति रहेकै कारण संस्थापक समूह सेयर बेचेर बाहिरिने दाउमा रहेको प्रारम्भिक कारोबारमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?