+
+
Shares

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला : चीन, भारत, पाकिस्तान र बंगलादेशका स्टल बुकिङ

महासंघले प्रत्येक वर्ष यस्तो मेला आयोजना गर्दै आएको छ । यो वर्ष मेलोको १०औं संस्करण हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १४:१२

२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले २५ देखि २९ वैशाखसम्म भृकृटीमण्डपमा आयोजना गर्ने ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ मा चीन, भारत, पाकिस्तान र बंगलादेशका स्टल बुकिङ भएका छन् ।

महासंघले प्रत्येक वर्ष यस्तो मेला आयोजना गर्दै आएको छ । यो वर्ष मेलोको १०औं संस्करण हो । यस्तै वस्तुगत संघका स्टलसमेत बुकिङ भइसकेको महासंघले जनाएको छ ।

मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान लगायत देशका क्रेतालाई आमन्त्रण गरिएकोमा हालसम्म चीन, भारत, पाकिस्तान, बंगलादेशका व्यवसायीबाट स्टल बुकिङ भइसकेको छ । मेलामा ‘मेड इन नेपाल पेभेलियन’ तथा वस्तुगत संघहरूको पेभेलियन रहने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा ‘क्यालेन्डर इभेन्ट’ का रूपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ । महासंघले ११ चैत २०८१ देखि स्टल बुकिङ खुला गरेको थियो ।

मेलामा ३ सयभन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवा प्रर्दशनी गरिने छ । महासंघका अनुसार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल शो, हस्तकला उत्पादन, वस्तुगत संघका उत्पादन साथै चार पाङ्ग्रे र दुई पाङ्ग्रे विद्युतीय गाडी (ईभी) समेत राखिने छ । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्यसमेत छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टल राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा छ ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षजस्तै मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्‍याउने विश्वास महासंघको छ ।

मेलामा ज्येष्ठ नागरिक तथा फरक हिसाबले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीहरूलाई प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?