
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । सडकमा आन्दोलन गरिरहेका शिक्षकलाई विद्यालयमा फर्काउन अब ढिला गर्न नहुने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत् मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका उपसभापति खड्काले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न तत्काल अग्रसरता लिन आग्रह गरेका हुन् ।
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै दुई वटा सुझाव दिएका छन् । मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन गर्न सकिने विषयलाई तत्काल निर्णय गरी टुंगो लगाउन भनेका उनले विगतमा भएको सहमतिलाई केन्द्रमा राखेर बजेट अधिवेशनबाट ऐन निर्माणको काम टुंग्याउन सुझाएका छन् ।
‘कानुनी रूपमा मन्त्रिपरिषद्को निर्णयबाट संबोधन गर्न मिल्ने विषयहरूलाई तत्काल निर्णय गरेर टुंगो लगाउने,’ कांग्रेस उपसभापति खड्काले दोस्रो सुझावमा भनेका छन्, ‘संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा ऐनलाई शिक्षक महासंघसँग विगतमा भएको सहमतिलाई केन्द्रमा राखी बाँकी कुरा सहमतिको आधारमा मिलाएर अब चाँडै बस्ने संघीय संसद्को बजेट अधिवेशनबाट टुंगो लगाउने गरी सहमति गर्ने ।’
प्रतिक्रिया 4