
२ वैशाख, काठमाडौं। बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययनरत दुई नेपालीसहित ११ जना विद्यार्थीहरूले नेपालको राजनीतिक, आर्थिक, सामाजिक र जलवायुबारे चासो राखेका छन् ।
उनीहरू मंगलबार कांग्रेस पार्टी मुख्यालय पुगेर महामन्त्री गगन कुमार थापासँग ‘अन्तरदेशीय बहस’मा चासो व्यक्त गरेको कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले बताए ।
उनका अनुसार ‘अक्सफोर्ड डिप्लोम्याट सोसाइटी’मा आवद्ध अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थीहरुले महामन्त्री थापासँग नेपाली राजनीतिमा युवा नेतृत्व, जलवायु संकट, आर्थिक प्रणाली र छिमेकी सहयोगबारे चासो दिएका थिए ।
उनीहरूको चासोबारे महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा युवाहरू अझै नेतृत्वमा आउन नसक्नुको कारण तीन टाउके नेताहरूले आफ्नो वरिपरि राजनीति घुमाइरहेकाो बताएका थिए । महामन्त्री थापाले भनेका थिए, ‘बेलायतमा कति धेरै प्रधानमन्त्री युवाहरू आइसकेका छन्। तर, नेपालमा भने उही तीन टाउके नेताहरूले राजनीतिलाई घुमाइरहेका छन् । यसकारण युवाहरू राजनीतिक नेतृत्व गर्न नसकेका हुन्।’
नेपालमा थुप्रै अवसरका ढोकाहरू खुल्लै रहेको भन्दै महामन्त्री थापाले दृढ संकल्प भएर काम नगर्नु नै नेता र नेतृत्वको कमजोरी रहेको बताएका थिए। यसका लागि नेपालले छिमेकी मुलुकहरू भारत, चीनलगायतसँग सम्बन्ध बनाउनु अपरिहार्य रहेको उनले बताएका थिए ।
बहसका क्रममा बेलायती नागरिक रूही हमलानीले मध्यपुर्वी देशमा मानव संशासन विभागमा काम गरेको भन्दै नेपाली कामदारप्रति उच्च सम्मान रहेको बताइन् । उनले भनिन्, ‘मैले मध्यपूर्वका खाडी मुलुकमा एचआरमा काम गरेकी छु। नेपाली कामदारहरू एकदमै परिश्रमी र इमान्दार हुन्छन्। उहाँहरूप्रति मेरो उच्च सम्मान छ।’
यस्तै अर्का बेलायती नागरिक एलेक्जेन्डर माइन्डसले गोरखा सैनिकको इमान्दारिता उच्च रहेको भन्दै उनीहरूको हक अधिकारको बारेमा काम गरिहरेको बताएका थिए । उनले भनेका थिए, ‘ मेरो परिवार पनि सैनिक क्षेत्रमा आवद्ध छ। गोरखा सैनिकहरू निक्कै इमान्दार र मेहनती हुन्छ। उहाँहरुको हक अधिकारको बारेमा काम गरिरहेको छु।’
अप्रिल ८ मा नेपाल आएका बेलायतको टोली अप्रिल १८ सम्म बस्नेछन् ।
प्रतिक्रिया 4