
२ वैशाख, काठमाडौं । अहिले चैते धान रोपाइँको सिजन ठ्याक्कै सकिएको छ । तर, चैते धान रोपाइँबारे सरकारसँग तथ्यांक, योजना वा कार्यक्रम केही पनि छैन ।
चैते धान विस्तार गर्न सके धान–चामलमा नेपाल आत्मनिर्भर हुने कुरा नौलो होइन । विज्ञहरूले भन्दै आएको र सरकारले पनि योजना बनाइरहेको भन्दै हल्ला हुँदै आएको विषय हो यो । तर, सरकार चैते धान विस्तार र प्रवर्द्धन योजनामा अलमलिएको देखिन्छ ।
कृषि मन्त्रालयकै अधिकारीहरू चैते धान रोपाइँको सिजन सकिए पनि तथ्यांक नहुँदा योजनाबद्ध काम गर्न नसकेको बताउँछन् ।
‘तीन वटा गोरु नारेर जोतेको जस्तो भइरहेको छ । कहाँ जाने, कता जाने टुंगो छैन तर दैनिकजसो मिटिङ भइरहेको छ । हामीले अहिलेसम्म कृषिमा ठ्याक्कै के गर्न खोजिरहेको भन्ने यकिन छैन,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिले चैते धानको सिजन भए पनि हामीले चैते धानको यति हेक्टर रोपाइँ गर्यौं, गत वर्षभन्दा यति क्षेत्रफल बढ्यो भन्न सक्दैनौं ।’
उनले अहिले कृषि तथ्यांक एकीकृत नहुँदा धेरै कुरा संघीय सरकारलाई रिपोर्टिङ नै नहुने बताए । ‘प्रदेश सरकार आफ्नै ढंगले काम गर्दैछ । स्थानीय तहको पनि उस्तै हालत छ । सिँचाइ कहाँ पुग्यो, पुगेन थाहा छैन । अब रोपाइँको त स्याटेलाइट म्यापिङबाट निकाले मात्रै हो,’ ती अधिकारीले भने ।

‘आगामी वर्षको बजेटमै चैते धानको कार्यक्रम समेटिन्छन्’
कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ भने चैते धान विस्तार गर्न मन्त्रालयले प्रयास गरिरहेको बताउँछन् ।
‘ठ्याक्कै तथ्यांकहरू उपलब्ध नभएको होला, त्यसको मतलब काम नै नगरेको भन्ने त होइन, हामीले काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘गत वर्षकै हाराहारीमा यसपालि पनि रोपाइँ हुनुपर्ने हो ।’
उनले हिउँदे वर्षा नहुँदा रोपाइँ कम हुन सक्ने भन्दै उत्पादन घट्न सक्ने समेत बताए ।
‘करिब सवा लाख हेक्टरमा भएको अनुमान मात्रै छ । एकीकृत तथ्यांक छैन । आगामी वर्षको बजेटमा नै चैते धानको योजना समावेश हुन्छ । सरकारले काम नै नगरेको होइन । तर, काम धेरै गर्न बाँकी चाहिँ छ,’ उनले दाबी गरे ।
उनले चैते धानको रोपाइँ मात्रै गरेर नहुने भन्दै यसको विस्तारका लागि नियमित सिँचाइको पनि आवश्यकता पर्ने बताए ।
‘चैते धान विस्तार गर्न नियमित सिँचाइ, किसानलाई मूल्य र धान खेती हुने क्षेत्रमा आधुनिक मेसिन आवश्यक पर्छ । किनभने, चैते धान भित्र्याउने बेला झरी सुरु भइसकेको हुन्छ,’ सहसचिव श्रेष्ठले भने, ‘सुक्न समय लाग्ने भएकाले मेसिन आवश्यक पर्ने हो तर त्यो सबै कुराको सम्बोधन गरेर चैते धान विस्तार प्रवर्द्धनमा सरकार लागिपरेको छ ।’
मन्त्रालयकै अधिकारीहरू गत वर्ष पनि चैते धान विस्तार गरेर धान उत्पादन बढाउने भन्दै दर्जनौं बैठक बसेको बताउँछन् । विभिन्न बैठकमा विज्ञहरूले चैते धानको उत्पादकत्व धेरै भएकाले विस्तार गर्न भन्ने गरेका छन् । तर, यो सबै बैठकमै सीमित छ, र यसपालि पनि उस्तै छ ।
‘चैते धान उत्पादन बढ्छ’
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली वैज्ञानिक विवेक सापकोटा चैते धान वर्षे धानभन्दा धेरै उत्पादन हुने बताउँछन् ।
‘धान फोटोजेनिक बाली हो । घाम धेरै लाग्दा धान उत्पादन धेरै हुन्छ । वर्षामा भन्दा हिउँदमा चैते धान धेरै फल्ने मुख्य कारण यही हो,’ सापकोटाले भने ।
उनले नेपालमा चैते धान खेती विस्तार गर्न सके उत्पादन धेरै बढाउन सकिने बताए । ‘उत्पादन क्षमता अनुसार चैते धान खेती क्षेत्र पर्याप्त नै भएन,’ सापकोटाले अनलाइनखबरसँग भने, ‘धेरै क्षेत्रफलमा खेती गर्न सके उत्पादन धेरै नै हुने थियो, तर सिँचाइ अभावको समस्या छ ।’
सिँचाइसँगै धान भित्र्याउने आधुनिक मेसिन प्रयोगमा किसानलाई सरकारले प्रोत्साहन दिनुपर्ने उनी बताउँछन् ।
‘चैतमा लगाएको धान भित्र्याउने बेला मनसुन सुरु हुन्छ, जसले गर्दा किसानको पाकेको धान भिज्ने, असिनाले झार्ने हुन्छ,’ उनले भने, ‘त्यसकारण चैते धानमा किसानको आकर्षण कम छ, यसका लागि धान भित्र्याउँदा सुक्खा पारेर स्टोरेज गर्न मिल्ने खालका मेसिन किसानलाई दिनुपर्छ ।’
उनले चैते धान लगाउँदा छोटो समयमा फल्ने बीउ प्रयोग गर्नुपर्ने बताए । ‘वर्षे धान पनि छोटो र चैते धान पनि छोटो समयमा फल्ने लगाउँदा एउटै खेतमा दुई बाली धान भित्र्याउन र लगाउन सजिलो हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4