
(नेपिताउबाट फर्केर)
२ वैशाख, काठमाडौं । लामो आन्तरिक द्वन्द्वबाट गुज्रिएको दक्षिण पूर्वी एसियाली मुलुक म्यानमारको स्वास्थ्य प्रणाली सैनिक शासन लागू हुनुअगावै संकटमा थियो । चार वर्षअघि भएको सैन्य ‘कू’पछि थप चर्किएको आन्तरिक युद्धका कारण कयौं अस्पतालहरू बन्द भए, औषधि आपूर्तिमा अवरोध भयो ।
यस्तो स्थितिमा पाँच महिनाअघि संयुक्त राष्ट्रसंघले समेत म्यानमारको ‘स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको’ भन्दै प्रतिवेदन सार्वजनिक गर्यो, जसमा एक करोड २९ लाख मानिसहरूलाई स्वास्थ्य सहायता आवश्यक रहेको उल्लेख थियो ।
पहिल्यै संकटमा रहेको स्वास्थ्य प्रणालीलाई दुई साताअघि गएको ७.७ म्याग्निच्युडको भूकम्पले थप जर्जर बनायो । प्रकोपग्रस्त राजधानी नेपिताउबाट विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की उपप्रतिनिधि एलेना भुओओले भनेकी छन्, ‘म्यानमारमा आपतकालभित्र अर्को आपतकाल आइपरेको छ ।’
अहिले म्यानमारको स्वास्थ्य प्रणाली कुन परिस्थितिबाट गुज्रिरहेको छ भन्ने थाहा पाउन नेपाली सेनाको स्वास्थ्य टिमले त्यहाँ कसरी काम गर्यो भन्ने हेरे पनि पुग्छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम भूकम्पपीडितको उपचारका लागि २० चैतमा प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ नेतृत्वको २२ सदस्यीय नेपाली टोली म्यानमार पुगेको थियो ।
तर, यो टोलीमा सहभागी चिकित्सकहरूले भूकम्पपीडितका मात्र उपचार गरेनन्, लामो समयदेखि गम्भीर प्रकृतिका रोगबाट गुज्रिएका बिरामीको समेत उपचार गरे । कतिसम्म भयो भने नेपाली टोलीले स्वदेश फर्किने दिन समेत एक महिलाको स्तन क्यान्सरको शल्यक्रिया गर्यो ।
‘फर्किने दिन उहाँहरूले निकै अनुरोध गर्नु भएपछि ४६ वर्षीया बिरामीको शल्यक्रिया गरेको थिएँ’, वीरेन्द्र सैनिक अस्पतालका जनरल सर्जन डा. विकास रायमाझी सम्झन्छन्, ‘खासमा त्यो नेपाली सेनाप्रतिको विश्वास र भरोसा पनि थियो ।’
प्राविधिक प्रमुख सेनानी रायमाझीसहित नेपाली टोली २९ चैत दिउँसो १२ बजे स्वदेश फर्किँदै थियो । म्यानमार छाड्नुअघि अन्तिम पटक उनी बिहान साढे ८ बजे यामेथिन डिस्ट्रिक्ट जनरल अस्पतालमा पुगेका थिए । ‘तर, चिकित्सकहरूले अन्तिम समयमा पनि अपरेशन गरिदिन अनुरोध गरे’, रायमाझी भन्छन् ।

स्वदेश फर्किन लागेको भन्दै उनले आफू उपचारमा सहभागी हुन नसक्ने जानकारी गराए । ‘तर, बिरामी बेहोस भइसकेको भनेपछि मैले नन–ट्रमा उपचार पनि गर्नुपर्यो’, उनले अनलाइनखबरसँग सुनाए, ‘एक साताको अवधिमा जम्मा एक हजार ३८७ बिरामीको ओपिडी जाँच गर्यौं, तीमध्ये २७ लाइफ सेभिङ सर्जरी थिए ।’
पछिल्ला दिनहरूमा अस्पतालमा आउने धेरैले नेपाली टोलीबाट उपचार गराउने चाहना राख्न थालेका थिए, कतिपयलाई स्थानीय स्वास्थ्यकर्मीले नै नेपाली टोलीसमक्ष पठाइदिन्थे ।
भूकम्पबाहेकको स्वास्थ्य समस्याको उपचार गर्न गएकामध्ये एक मनेम्थे पनि थिइन्, जसको तीन महिना अघि हड्डी फ्र्याक्चर भएको थियो । ‘उहाँहरूले नियमित व्यायाम गर्नुपर्ने भन्नुभएको छ, औषधि पनि लिएको छु’, उनले भनेकी छन्, ‘सायद परमात्माको चाहनाले नेपाली सेनासँग भेट भयो, फेरि पनि भेट गर्न पाउँ ।’
म्यानमारस्थित नेपाली राजदूत हरिशचन्द्र घिमिरेका अनुसार, नेपाली सेनाले उपचार गरेका बिरामीमध्ये ९ जनाको गम्भीर शल्यक्रिया भएको छ । ‘नेपाली टोलीले उपचारमा गरेको सहयोगको यहाँको प्रशासनले एकदमै प्रशंसा गरेको छ’, उनी भन्छन्, ‘टोलीको विदाइमा समेत म्यानमारको संघीय स्वास्थ्य मन्त्री डा. थेट खाइङ आफैं पुग्नु भएको थियो ।’

पुराना रोगीको समेत उपचार
विपद्मा अत्यावश्यक औषधि र पोर्टेबल भेन्टिलेटर, ईसीजी मसिनसहितका स्वास्थ्य उपकरणसहित नेपाली सेनाको विमान २० चैतमा म्यानमार अवतरण गरेको थियो ।
स्थानीय प्रशासनको समन्वयमा नेपाली टोली राजधानी नेपिताउबाट ८७ किलोमिटर उत्तरमा रहेको माण्डले क्षेत्रको यामेथिन डिस्ट्रिक्ट जनरल अस्पतालमा खटिएको थियो ।
टोलीको नेतृत्व गरेका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठका अनुसार, त्यसबेला जिल्ला अस्पतालमा १० जनाको टिमले काम गरिरहेको थियो, जुन अस्पतालमा हुनुपर्ने जनशक्तिभन्दा निकै कम हो ।
‘त्यसमा पनि शल्यक्रिया गर्नसक्ने चिकित्सकहरू रहेनछन्’, सुन्दरीजलस्थित विपद् व्यवस्थापन गणका गणपति समेत रहेका श्रेष्ठ भन्छन्, ‘हाम्रो टिममा दुई जना सर्जन हुनुहुन्छ भन्ने थाहा पाएपछि उहाँहरू एकदमै खुशी हुनु भएको थियो ।’
काठमाडौंबाट गएको टोलीले सेवा थाल्नुअघि सुरुमा अवस्थाको मूल्यांकन गर्न निरीक्षण गरेको थियो । त्यसक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले अस्पतालको इमर्जेन्सी सेन्टर पूर्णरुपमा चलाउने अवस्था नै नरहेको ब्रिफिङ गरेका थिए ।
भूकम्पले अस्पतालको भौतिक संरचना आफैं क्षतिग्रस्त थियो, त्यसमाथि एक सातापछि समेत विपद्का घाइते अझै उपचारका लागि भर्ना हुने क्रम चलिरहेको थियो ।
‘एक हप्तादेखि उपचार कुरेर बसिरहेका बिरामीबारे मेसुले पनि बताउनुभयो, त्यसपछि रातारात आपतकालीन उपचार केन्द्र स्थापना गरेर काम थाल्यौं’, श्रेष्ठले अनलाइनखबरसँग भने, ‘टोली पुग्दै बेलुका भइसकेको थियो, त्यस्तोमा पनि इमर्जेन्सी र अपरेशन थिएटरमा ५ जनाले तत्कालै मेडिकल सेवा थालेका थियौं ।’
टोलीमा सर्जनसँगै अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू सामेल थिए । ‘स्वास्थ्य टोलीबाहेक लजिस्टिक्सतर्फ ४ जना गएका थियौंं, हामीले समन्वय लगायतका अन्य कामहरू अघि बढायौं’, श्रेष्ठले थपे, ‘टोलीले पहिलो दिनमै १८३ जनाको उपचार गर्यो भने एकदिन अधिकतम २८३ जनाको उपचार भयो ।’
जतिबेला नेपाली टोली त्यहाँ पुगेको थियो, त्यसबेला ‘लाइफ सेभिङ सर्जरी’ गर्नुपर्ने कतिपय बिरामीहरू ‘अब्जर्भेसन वार्ड’मा राखिएका थिए । स्वास्थ्य उपचार र शल्यचिकित्सकको अभावमा प्लास्टर मात्र गरेर राखिएको अवस्था थियो ।
‘शल्यक्रिया गर्ने चिकित्सक नभएकाले थप उपचार भइरहेको थिएन, धेरैलाई हेमोग्लोबिन र रक्तचाप मात्र मोनिटर गरेर राख्दा रेफर गर्ने स्थिति समेत थिएन’, डा. रायमाझी सम्झन्छन्, ‘त्यस्तोमा हाम्रो टोली पुग्ने वित्तिकै ३३ वर्षको एक जना महिलालाई प्रारम्भिक जाँचपछि शल्यक्रिया गर्न राजधानी नेपिताउ रेफर गरेका थियौं ।’
भूकम्पमा एक्कासि बेहोस भएर लडेकी बिरामीलाई प्राथमिक जाँच गरेर सुविधासम्पन्न अस्पतालमा नपुर्याएको भए जे पनि हुनसक्थ्यो, त्यहाँका चिकित्सकहरूले त माया मारिसकेका थिए ।
‘तर, हामीले प्राथमिक उपचार गरेर पठाएको एक दिनपछि राजधानीमा अपरेट गरेर बाँच्यो भन्दै उनीहरूले नै खुशीको खबर सुनाए’, रायमाझीले सम्झिए, ‘माया मारिसकेको बिरामी ठिक हुँदा त्यहाँका स्वास्थ्यकर्मीहरू पनि एकदमै खुशी हुनु भएको थियो ।’
त्यसबेला अस्पतालमा न पर्याप्त उपकरण थियो न मेडिकल सामग्री नै । त्यसमाथि बिरामीको बढ्दो चापले परिस्थिति नियन्त्रणबाहिर जाने स्थिति थियो । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयका अनुसार, भूकम्पअगावै म्यानमारको एकतिहाइ जनसंख्या विकट तथा अविकसित सीमावर्ती क्षेत्रतिर विस्थापित भएका थिए । गाउँका शिविरहरूमा संक्रामक रोग बढेको थियो ।
जंगल क्षेत्रहरू पुगेका म्यानमारका नागरिकहरूमा १००० प्रतिशतसम्म मलेरियाको प्रकोप बढेको विवरण थियो भने सन् २०२१ यता क्षयरोग समेत बढेको संयुक्त राष्ट्रसंघको रिपोर्ट छ । आन्तरिक द्वन्द्वका कारण औषधि र स्वास्थ्य उपकरणको आपूर्ति समेत रोकिएका कारण स्वास्थ्य समस्या बढेको थियो ।
लगभग अधिकांश प्रदेशमा फैलिएका सशस्त्र संघर्षरत पक्षलाई लक्षित गरेर सैनिक सरकारले नाकाबन्दी लगाउँदा बालबालिकाको नियमित खोप अभियानसमेत प्रभावित भएको थियो । यस्तोमा अस्पतालमा भूकम्पका घाइतेभन्दा बाहेकका बिरामीको चाप पनि बढ्दो थियो ।
‘हरेक दिन बिरामीको पृष्ठभूमिको तथ्यांकको समेत डेटा राखिरहेका थियौं, झण्डै ७ दिनपछि शिविरमा भूकम्पका घाइते एकदम कम देखिए’, प्रमुख सेनानी श्रेष्ठले सुनाए, ‘नेपाली टोलीसँग राम्रो उपचार हुन्छ भन्ने सन्देश गएपछि लामो समयदेखि बिरामी भएका स्थानीयको संख्या पछिल्ला दिनहरूमा बढ्न थालेको थियो ।’
अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डमा चिकित्सकहरूले अधिकतम ८ घन्टासम्म निरन्तर काम गर्ने भन्ने हुन्छ । तर अस्पतालमा यति धेरै चाप थियो कि नेपाली टोलीलाई आराम गर्ने फुर्सदसम्म थिएन । यस्तोमा पछिल्लो समय चाहिँ खास भूकम्पपीडित बिरामीको संख्या कम हुन थालेपछि नेपाली सेनाको टोलीले फर्किने निर्णय लिएको थियो ।

नेपाली भाषी बने अनुवादक
करिब साढे ५ करोड जनसंख्या रहेको म्यानमारमा एक शताब्दी अघिबाटै नेपाली भाषीको बसोबास रहँदै आएको छ ।
म्यानमारस्थित नेपाली राजदूत घिमिरेका अनुसार, झण्डै १५० वर्ष अघिबाट नेपालीको त्यहाँ उपस्थिति रहेको इतिहास छ । अधिकांश नेपाली गुर्खा ब्रिटिस शासनका बेला बसाइँ सरेर बर्मा (अहिले म्यानमार) पुगेका थिए । उनी नेपालबाट महिनौंको पैदलयात्रा गरेर त्यहाँ पुगेको इतिहास छ ।
तीमध्ये दोस्रो विश्वयुद्धमा समेत सामेल कतिपय नेपालीहरू सन् १९४८ मा बर्माले स्वतन्त्रता प्राप्त गरेपछि बर्मेली सेनामा समेत भर्ती भएको इतिहास छ । यसरी बर्मा पुगेका नेपालीको संख्या अहिले झण्डै १० लाख पुग्न लागेको भनिन्छ ।
यस्तोमा भूकम्पपीडितको उपचारका लागि म्यानमार पुगेको नेपाली सैनिकले त्यहाँका नेपाली भाषीबाट महत्वपूर्ण सहयोग पाएका थिए ।
‘नेपालबाट टोली आउन लागेको थाहा पाएर त्यहाँको नेपाली समुदाय पहिल्यै स्वागत गर्न बसेको रहेछ, एककिसिमले त्यहाँका नागरिकसँग भावनात्मक सम्बन्ध पनि भयो’, प्रमुख सेनानी श्रेष्ठ भन्छन्, ‘उहाँहरूले नेपाली टोलीलाई हरेक पक्षबाट सहयोग गर्नुभयो ।’

अस्पतालमा आउने बिरामीमध्ये अधिकांश अंग्रेजी भाषा बुझ्दैथे । ‘सबै बर्मेली बोल्ने भएकाले अनुवादक चाहिन्थ्यो, त्यस्तोमा नेपाली समुदायकै साथीहरूसँगै बस्नु भएपछि उपचार गर्न सजिलो भयो’, उनले भने, ‘एक स्वास्थ्यकर्मी, एक अनुवादक जस्तो भएपछि काम गर्ने क्षमता नै दोब्बर भयो, छोटो समयमा पनि धेरै काम गर्न पाइयो ।’
नेपाली टोलीले उपचार गरेको बिरामीको संख्या सुनेपछि विदेश मन्त्रालयका सचिव स्वयम्ले नेपाली टोलीका नेतृत्वकर्ता श्रेष्ठलाई फोन गरेर धन्यवाद दिएका थिए । ‘खासमा सँगसँगै परिचालित त्यहाँको नेपाली समुदायसँगै बर्मेली नागरिक समेतको सहयोग र अनुशासनका कारण पनि त्यो सम्भव भएको थियो’, श्रेष्ठले सुनाए ।
बर्मामा रहेका नेपाली भाषीमध्ये १८ जनाको मृत्यु र २५० जना विस्थापित भएको राजदूत घिमिरे बताउँछन् । उनीहरूका लागि त्यहाँका नेपालीभाषीको संगठन ‘अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ’ले अस्थायी बसोबासको व्यवस्था गरेको थियो ।
म्यानमारको यांगौनमा ५० जना नेपाली नागरिकसमेत बसोबास गर्दै आएका छन् । त्यहाँ भूकम्पले त्यति धेरै क्षति नगरेको नेपाली दूतावासका अधिकारीहरू बताउँछन् । ‘हामीले काम गरेको ठाउँमा चाहिँ हताहत भए पनि नेपाली भाषी सुरक्षित भएको अनौपचारिक कुराकानीमा थाहा पाएका थियौं’, प्रमुख सेनानी श्रेष्ठले भने, ‘भूकम्पमा स्वास्थ्य सेवाका लागि नेपाली टोली पुगेपछि त्यहाँका नेपाली भाषीहरू एकदमै खुशी व्यक्त गर्नुभएको छ ।’
स्वास्थ्यकर्मीको टोलीसँग अनुवादकको काम गरेका नेपाली भाषी दीपक न्यौपानेले नेपाली सेनाको टोलीसँग काम गर्न पाउँदा एकदमै खुशी लागेको बताए । ‘त्यहाँदेखि बर्मा मुलुकको दुःखमा आएर सहयोग गरेकोमा मुरी मुरी धन्यवाद’, उनले खुशी व्यक्त गरे, ‘नेपालहरूको यहाँ धेरै नाम रह्यो ।’
प्रतिक्रिया 4