
२ वैशाख, काठमाडौं । हनुमान जन्मोत्सवको झाँकी निकाल्ने क्रममा चर्किएको विवादले मंगलबार पनि वीरगञ्जमा केहीबेर तनावको अवस्था उत्पन्न भएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि प्रहरीले लाठी प्रहार गर्दा केही घाइते भएका छन् ।
प्रहरीको लाठीप्रहारबाट एभिन्युज टेलिभिजनका सञ्चारकर्मी अर्जुन गुप्ता, मध्यनेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणी दैनिकका सम्पादक धीरेन्द्र तिवारीलगायतका सञ्चारकर्मी घाइते भएका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखालगायत सञ्चारसम्बद्ध संघसंस्थाहरूले लाठीप्रहरको घटनालाई प्रहरी ज्यादती भन्दै निन्दा गरेका छन् । उनीहरूले संलग्न सुरक्षाकर्मीमाथि कारबाहीको माग पनि गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोले विज्ञप्ति जारी गर्दै समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीहरू ढुंगा र प्रहरीको लाठीको निशानामा पर्नु खेदजनक भएको बताएका छन् ।
दुई दिनअघि हनुमान जन्मोत्सवको झाँकीमा ढुंगामुढा भएपछि वीरगञ्ज तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु समेत लगाउनु परेको थियो । सोमबार प्रहरीले नियन्त्रणमा लिएकाहरूबारे रिपोर्टिङ गर्न गएका सञ्चारकर्मीमाथि मंगलबार प्रहरीले कुटपिट गरेको उनीहरूले बताएका छन् ।
प्रतिक्रिया 4