
२ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने लगायतका निर्णय गरेको हो ।
यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान पनि गरेको छ ।
सरकारले शिक्षकका समस्या समाधान गर्न शिक्षकहरूसँग वार्ता जारी राख्ने निर्णय गरेको छ । ‘शिक्षकका समस्या समाधान गर्न वार्ता जारी राख्ने र एसईईको उत्तरपुस्तिका परीक्षण गर्न र कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय जानकारी दिँदै शिक्षामन्त्री विद्या भट्टराईले भनिन् ।
मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा सरकार निरन्तर संवादमै रहेको भन्दै संवादलाई अझै सघन बनाउन सरकार संवेदनशील र गम्भीर रहेको बताइन् ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकले १२ वैशाख शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय जानकारी दिँदै एकमन्त्रीले भने, ‘संसद्मा विचाराधीन रहेको शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने समेतका प्रयोजनका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको छ । सो विधेयक पारित गर्न सरकारले आवश्यक समन्वय र सहजिकरण गर्नेछ ।’
प्रतिक्रिया 4