
बार्सिलोना । नेपाललाई आधार भूमि बनाइ समाज सेवा गरिरहेका बेल्जियन नागरिकहरूसँग गैरआवासीय नेपाली संघ बेल्जियमले सोमबार लुभेनमा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा नेपालमा समाज सेवा कार्यमा जुटेका बेल्जियन संस्थाका प्रतिनिधिहरूले आफ्ना अनुभव र चुनौतिहरूबारे मन्तव्य राखेका थिए। त्यसैगरि नेपाली दूतावासले देशको परिस्थितिको आवश्यकता र वास्तविकताबारे प्रकाश पारेको थियो ।
नेपालमा कसरी समन्वयात्मक र प्रभावकारी रूपमा कार्यक्रमहरू गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया केन्द्रित रहेको थियो ।
बेल्जियमका करिब ६० संस्थाहरू नेपालमा सक्रिय रहेका छन्। त्यसमध्ये सोमबारको कार्यक्रममा ३० संस्थाका प्रतिनिधिहरू उपस्थित रहेको सो कार्यकमका संयोजक तथा गैरआवासीय नेपाली सँघ बेल्जियमका केन्द्रीय पार्षद मदन दवाडीले बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि युरोपियन युनियन तथा बेनेलक्स देशहरूका निम्ति राजदूत सेवा लम्सालले बेल्जियन संस्थाको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै सहभागीहरूलाई सम्मान गरेकी थिइन् ।
त्यसैगरी लुभेन नगरपालिकाका मेयर मोहमद रूडवानीले बेल्जियमा नेपाली समुदाय अनुशासित र समुदायमा घुलमिल गर्ने आफूले पाएको उल्लेख गर्दै आउँदो वर्ष लुभेन नगरपालिकाको एक टोली आपसी सहकार्यर आदानप्रदानका निम्ति नेपाल भ्रमणमा जाने बताए ।
गैरआवासीय नेपाली सँघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाले बेल्जियन संस्थाका प्रतिनिधिहरूलेसँग अन्तरकृयाको यो पहिलो कार्यक्रम रहेको बताउँदै यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।
अन्तरक्रिया कार्यक्रमपछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा लोकप्रिय कलाकार पशुपति शर्मालगायतले प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया 4