३ वैशाख, काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरु हुने तय छ ।
नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा यूएईमाथि डिएल पद्दति अनुसार जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको थियो ।
उता अफगानिस्तानले पनि आफ्ना दुवै खेल जितेको छ । पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा हङकङमाथि फराकिलो जित निकाल्दै अफगानिस्तान नेपालसँगै समान २ जित भएपनि नेट रनरेटमा धेरै अगाडि छ ।
आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ । नेपाल र अफगानिस्तान आफ्ना खेलमा विजयी भएमा नेपाल र अफगानिस्तान मात्र शीर्षको होडमा बाँकी रहने छन् ।
त्यसो भएमा त्यसपछि शनिबार हुने नेपाल र अफगानिस्तानको खेलले नै विश्वकप खेल्ने टोलीको टुंगो लगाउने छ ।
ब्याटिङमा नेपालका दुई ओपनरहरू साहिल पटेल र निरज यादवले राम्रो सुरुवात दिलाइरहेका छन् । बलिङमा स्पीनरहरूले निरन्तर राम्रो बलिङ गर्दै नेपालको जितको आधार तय गरिरहेका छन् ।
ओमानसँगको दोस्रो खेलमा युवराज खत्रीले ५विकेट लिएका थिए भने यूएईसँग तल्लो मुलपानीमै भएको खेलमा सन्तोष यादवले किफायती बलिङ गर्दै ३ महत्वपूर्ण विकेट लिएपछि वर्षाले प्रभावित खेलमा नेपालले जित निकाल्न सम्भव भएको थियो ।
प्रतिक्रिया 4