
३ वैशाख, काठमाडौं । ५२ संवैधानिक पदाधिकारी विरुद्ध परेका रिट निवेदनमाथि बुधबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा करिव एक दर्जन रिट निवेदनहरुको एकसाथ सुनुवाइ हुनेछ ।
यसअघि नै अधिवक्ताहरु ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेलको रिट निवेदनमाथिको बहस सकिएको छ । बाँकी रिट निवेदक र तिनका कानून व्यवसायीले बुधबारदेखि बहस गर्नेछन् ।
३० माघ, २०८१ देखि ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो । तर सर्वोच्च अदालतको संवैधानिक इजलासले नियमित रुपमा नभई केही साताको फरकमा पेशी तोक्ने गरेको छ । माघयता दुई पटक मात्रै मुद्दामा सुनुवाइ भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालका बेलामा संवैधानिक परिषदबाट ५२ पदाधिकारीहरुको सिफारिस गराएका थिए ।
२०७७ र ७८ सालमा अध्यादेशको भरमा भएको सिफारिसपछि उनीहरु संसदिय सुनुवाइविना नै नियुक्त भएका थिए । त्यतिबेला दर्ता भएको रिट निवेदनमाथि अहिले सुनुवाइ भइरहेको हो ।
प्रतिक्रिया 4