
३ वैशाख, गैंडाकोट । लाइनमा उभिएका छन्, माओवादीका पूर्व लडाकुहरू । कसको जिम्मेवारी के, कहाँनेर कसले नेतृत्व गर्ने ? निर्देशन दिइरहेका छन्, पूर्वब्रिगेड कमाण्डर टुकबहादुर थापा (अर्जुन) ।
‘सुप्रिमो र लालसेना प्रमुख आउँदा सुरक्षामा कुनै पनि कमी नहोस्,’ अर्जुनले निर्देशन र व्यवस्थापनको जिम्मेवारी सम्झाइरहेका थिए ।
नयाँ वर्षको दिन नवलपुरको गैंडाकोट–५ ओम शान्ति चोकमा देखिएको दृश्य हो यो ।
पार्टीको जागरण अभियानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पार्टी पदाधिकारी आउँदै थिए । अभियानमा पूर्वउपराष्ट्रपतिबाट पार्टी उपाध्यक्ष बनेर राजनीतिमा फर्किएका तत्कालीन जनमुक्ति सेना प्रमुख नन्दबहादुर पुन (पासाङ) पनि औपचारिक रूपमा जोडिएका थिए ।
देशकै दोस्रो वरियताको सम्मानित पद उपराष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा आउन चाहेका पासाङ पार्टीको जिम्मेवारी पाएपछि पुनः ‘जनतासँग जोडिन’ सडकमा आउँदै थिए । पूर्वउपराष्ट्रपति पासाङपछि पूर्वराष्ट्रपति विद्या भण्डारी पनि राजनीतिमा फर्किने संकेत गरिरहेकी छन् । यसलाई कतिपयले आलोचना गरे पनि पासाङ भने गलत रूपमा व्याख्या गरिएको बताउँछन् ।
उनीहरूको सुरक्षाका निम्ति पूर्वजनमुक्ति सेना यसरी तयार हुँदै थिए, मानौं सशस्त्र संघर्षमा कुनै युद्धको तयारी हुँदैछ । तर, त्यो तयारी जनतासँग जोडिनका निम्ति माओवादीले गरिरहेको हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको थियो ।
शान्ति प्रक्रियापछि लगातार सत्तामा रहेको माओवादी अहिले कांग्रेस–एमाले मिलेपछि प्रतिपक्षमा पुगेको छ र जनतासँग सम्बन्ध सुधार्ने प्रयासमा पूर्वदेखि पश्चिमसम्मको यात्रामा निस्किएको छ । लगातार सत्तामा माओवादी जनताको घरदैलोमा फर्किंदा देशको दोस्रो सर्वोच्च पदमा पुगेका पासाङ पनि सक्रिय हुँदै सडक निस्किदा रोचक दृश्य देखिएका छन् ।
गत चैत ८ गते चितवनमा रोकिएको अभियान नयाँ वर्षकै दिन गैंडाकोटबाट सुरु हुँदा ‘पूर्व जनमुक्ति सेना’को पोशाक लगाएरै अध्यक्ष प्रचण्ड र तत्कालीन माओवादी सेना प्रमुख पासाङको स्वागत तथा सुरक्षामा ‘लालसेना’ तैनाथ थिए ।
जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डर अर्जुनको नेतृत्वमा नवलपुरमा संगठित पूर्वजनमुक्ति सेनाले व्यवस्थापन सम्हालेको थियो । सुरक्षामा पनि सघाएको थियो ।
प्रचण्ड, पासाङ, पूर्व सभामुखसमेत रहेका अर्का उपाध्यक्ष अग्नि सापकोटा, पूर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव), महेश्वर गहतराज सहितका नेतालाई सुरक्षा घेराभित्र राख्ने, पार्टी निर्देशनअनुसार भेट्ने दिने/नदिने, उनीहरूको खाने/बस्नेलगायतको काम पूर्वजनमुक्ति सेनाका सदस्यहरूले सम्हालेको छन् । आफ्नो पूर्वकमाण्डर पासाङ सडकमा आउँदा पूर्व लडाकु सेना पनि उत्साही देखिन्थे ।
सडकमा उत्रिएका पूर्वजनमुक्ति सेनालाई अघिपछि लगाएर ‘सुप्रिमो’सँग काँध जोडेर पूर्वउपराष्ट्रपति पासाङले गैंडाकोडबाट राजनीतिक अवतार प्रस्तुत गरे । गैंडाकोटबाटै उनले सन्देश दिएका छन्, ‘लोकतान्त्रिक गणतन्त्रमात्र नेपाली जनताको चाहना होइन, यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरित गर्नुछ । अहिले गणतन्त्रकै रक्षाका लागि सडकमा आउनुपर्यो ।’
उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै सक्रिय राजनीतिको चाह राखेका पासाङले चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकबाट मात्र उपाध्यक्षको जिम्मेवारी पाएका थिए । उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।
जिम्मेवारी पाएपछि नयाँ वर्षसँगै पश्चिम ताकेर प्रचण्डसँगै जागरण अभियानमा निस्किएका छन् पासाङ, जहाँ उनले युद्धकालमा थुप्रै आक्रमण र युद्ध जितेका थिए । अहिले तिनै पूर्व लडाकुलाई अगाडि–पछाडि लगाएर पासाङ राजनीतिक नेताका रूपमा सडकमा उत्रिएका छन् ।
आफ्नो विश्वासपात्र पासाङलाई उत्तराधिकारीको सूचीमा थपेर प्रचण्ड पनि उत्साहका साथ जागरण अभियानमा निस्किएका छन् । पासाङलाई राजनीतिमा फर्काएर प्रचण्डले रोल्पा, रुकुमजस्ता सशस्त्र संघर्षका थातथलोलाई जोगाइराख्ने रणनीतिमा छन् ।
माओवादी उर्बर भूमि मानिने त्यस क्षेत्रमा पासाङको सक्रियताले पकड अझ बलियो बनाउने विश्वास प्रचण्डको छ भने पार्टी नेतृत्वमा पनि अब स्वाभाविक हिसाबले अर्को दाबेदारको नाम प्रचण्डले थपेका छन् ।
पासाङ पूर्व शिक्षक हुन् । माओवादीले सशस्त्र संघर्ष थालेपछि उनी पूर्णकालीन भएका थिए । अत्याधुनिक हतियार बनाउने प्राविधिक ज्ञान र कौशल पासाङसँग रहेको र त्योबेला अरुलाई तुरुन्तै प्रभावित पार्न सक्ने क्षमता पनि उनमा रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

राजनीतिमा फर्किंदा छिन्नभिन्न बनेको पूर्वमाओवादी घटकसँगै विभाजित पूर्वलडाकुहरूलाई पनि सक्रिय राजनीतिमा ल्याउन सकिने विश्वास स्वयं पासाङकै पनि छ । ‘हिजो माओवादी आन्दोलन र संघर्षप्रति जुन खालको विश्वास र समर्पण थियो, गणतन्त्र रक्षाका निम्ति फेरि एकपटक जाग्ने छ,’ पासाङ भन्छन् ।
अभियानकै क्रममा सोमबार र मंगलबार प्रचण्ड, पासाङसहितका नेताहरूले पूर्वलडाकुहरूसँग पनि भेट गरेका छन् । मंगलबार कावासोतीमा भएको भेटघाटका क्रममा पासाङले अब फेरि एक पटक समाजवादी गणतन्त्रका निम्ति उठ्नुपर्ने बेला आएको बताएका थिए ।
पूर्वमाओवादी घटकलाई पनि एक ठाउँमा ल्याउने र त्यसको तयारी समाजवादी मोर्चा हुँदै संगठित हुनेगरी भइरहेको प्रचण्डको भनाइ थियो । उनले पूर्वजनमुक्ति सेनाकै कारण यो व्यवस्था आएको बताउँदै त्यसको रक्षाका निम्ति एक भएर लाग्न आह्वान गरे ।
नवलपुर यस्तो जिल्ला हो, जहाँ अहिले पनि ३ सयभन्दा बढी पूर्वजनमुक्ति सेना छन् । त्यहीँ अरुणखोलामा पूर्वलडाकुलाई क्याम्पमा राखिएको थियो ।
झ्याल्टुङ डाँडामा ४ नम्बर डिभिजन कार्यालय र हात्तिखोरमा बिग्रेड कार्यालय थियो । त्यहीँका बिग्रेड कमाण्डर रहेका अर्जुन आफ्ना पूर्व कमाण्डर पासाङ राजनीतिमा फर्किंदा पूर्वजनमुक्ति सेनामा उत्साह बढेको बताउँछन् ।
‘गणतन्त्र ल्याएको जनमुक्ति सेनाको इतिहास कसैले मेटेर मेटिँदैन । हामीलाई गर्व छ, ती दिन सम्झिएर,’ पूर्व जनमुक्ति सेना नेपाल ४ नम्बर डिभिजनको नेतृत्व सम्हालिरहेका थापा भन्छन्, ‘सुप्रिमो र सेनाप्रमुखको सुरक्षा गर्नु हाम्रो पनि दायित्व हो । सुप्रिमो कमाण्डर आउँदा हामीले नेतृत्व गर्नुपर्छ, अहिले गणतन्त्रमाथि प्रहार भएका बेला झनै हाम्रो दायित्व छ भनेर निस्किएका हौं ।’

जागरण अभियानका क्रममा गैंडाकोटमा ‘मर्निङ वाक’ गरेका पासाङको रफ्तार प्रचण्डको भन्दा तीव्र थियो । यस्तो देखिन्थ्यो, उपराष्ट्रपति हुँदा हिँड्न नपाएको मौका उनले अब पूरा गर्दैछन् । पूर्वजनमुक्ति सेना र नेताहरूसँग उनी जिस्किँदै, हाँस्दै हिँडिरहेका थिए ।
दुई दिनसम्म नवलपुरमा भएका कार्यक्रममा औपचारिक रूपमा मञ्चमा उभिएर नबोले पनि पासाङको सक्रियताले भने धेरै कुरा बोलिरहेको थियो ।
मर्निङवाककै क्रममा अनलाइनखबरसँग कुराकानी गर्दै पासाङले भने, ‘लोकतान्त्रिक गणतन्त्र हाम्रो अन्तिम लक्ष्य होइन, यसमा जे जति सरकारी मूल्य, मान्यता पद–प्रतिष्ठा हुन्छ, त्यो आफ्नो ठाउँमा छ तर मुख्य कुरा समाजवादी अभिभारा पूरा गर्नु हो । अनावश्यक तर्क, टीकाटिप्पणी गर्न जरुरी नै छैन । सबै समाजवादी यात्रामा लम्किने हो ।’
प्रतिक्रिया 4