+

मोटरसाइकल पछाडि बस्ने बढी असुरक्षित, हेलमेट लगाउनु किन जरुरी ?

२०८२ वैशाख  ७ गते १२:४३ २०८२ वैशाख ७ गते १२:४३

विश्वको तथ्याकं हेर्दा हेलमेटको प्रयोग गर्दा टाउकाको चोटबाट ७५ प्रतिशत जोगिन सकिन्छ । हेलमेटको प्रयोगले मृत्युदर पनि ६ प्रतिशत घटाएको देखिएको छ ।

Shares
मोटरसाइकल पछाडि बस्ने बढी असुरक्षित, हेलमेट लगाउनु किन जरुरी ?

विश्व स्वास्थ्य सङ्गठनको तथ्याकं अनुसार सडक दुर्घटनामा हरेक करिब वर्ष ८ हजार ५०० जनाको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा लगभग ५५ प्रतिशत केशमा दुईपाङ्ग्रे सवारी साधन चालक वा पछाडि बस्ने यात्रु रहेको देखिन्छ ।

नेपालमा ४० लाखको हाराहारीमा सवारी साधन छन् । त्यसमा लगभग ३२ लाख अर्थात ८० प्रतिशत दुईपाङ्‍ग्रे सवारी साधन छन् । यसमा पनि आधार दुईपाङ्‍ग्रे सवारी त काठमाडौँ उपत्यकामा मात्रै छन् । त्यसैले काठमाडौँ उपत्यकामा सडक दुर्घटना धेरै हुने गरेको पाइन्छ ।

मैले मेरो रेजिडेन्सी पाकिस्तानको लाहोरमा किङ एडवर्ड मेडिकल युनिभर्सिटीबाट गरेको थिएँ । जुन नेपालको वीर अस्पताल जस्तै हो । मैले रेजिडेन्सी गर्ने बेला त्यहाँ सडक दुर्घटनाका धेरै केसहरू आउँथे ।

दुर्घटनाको कारण टाउकोमा चोट लागेर आउने दैनिक ४ केसको टाउकोको शल्यक्रिया गर्नु पर्ने हुन्थ्यो । अझै शल्यक्रिया गर्न नपर्ने बिरामी त १५ जना जति नै हुन्थे । त्यो बेला पाकिस्तानमा दुईपाङ्‍ग्रे सवारी चलाउँदा हेलमेट लगाउन अनिवार्य थिएन । एउटै बाइकमा ४ जना सम्म बसेर हिँड्ने गर्थे ।

जब २०१८ मा इमरान खान पाकिस्तानको प्रधानमन्त्री भए उनले हेलमेट लगाउनै पर्ने नियम ल्याए र कडाइका साथ लागू गराए । त्यसपछि सडक दुर्घटनाका कारण टाउकोमा चोट लागेर शल्यक्रिया गर्नुपर्ने केस महिनामा चार वटा मात्र हुन्थ्यो ।

पछाडि बस्ने बढी जोखिममा

दुई पाङ्ग्रे सवारी साधनको कुरा गर्दा मोटरसाइकल चालकले त हेलमेट लगाएका हुन्छन् त्यसैले उनीहरूलाई टाउकोमा चोट लाग्ने सम्भावना कम हुन्छ । तर,  नेपालको सन्दर्भमा पछाडि बस्ने व्यक्तिले हेलमेट लगाएका हुँदैनन् त्यसैले पछाडि बस्ने व्यक्तिको टाउकोमा चोट लाग्ने सम्भावना धेरै हुन्छ ।

सवारी साधन चलाउने व्यक्तिलाई त सवारी साधन असन्तुलन भएको तथा दुर्घटना हुन आटेको कुराको सङ्केत हुन्छ, त्यसैले ऊ दुर्घटना हुँदासम्म सतर्क भइसकेको हुन्छ। तर, पछाडि बस्ने व्यक्तिलाई त त्यो सम्भावित दुर्घटनाको सङ्केत हुँदैन ऊ सचेत हुन पाउँदैन । र, हेलमेटको प्रयोग पनि गरेको हुँदैन त्यसैले अगाडि बस्ने व्यक्तिलाई भन्दा पछाडि बस्नेलाई चोटपटक लाग्ने सम्भावना बढी हुन्छ ।

विश्वको तथ्याकं हेर्दा हेलमेटको प्रयोग गर्दा टाउकाको चोटबाट ७५ प्रतिशत जोगिन सकिन्छ । हेलमेटको प्रयोगले मृत्युदर पनि ६ प्रतिशत घटाएको देखिएको छ ।

चार पाङ्ग्रे सवारी साधनमा त सिट बेल्ट बाँधिन्छ, गाडी एक ठाउँमा अडिन्छ । त्यसैले साइडमा बस्ने र पछाडि बस्ने व्यक्तिहरू सुरक्षित नै हुन्छन् । तर, बाइकमा चालकको तुलनामा पछाडि बस्ने धेरै असुरक्षित हुन्छ । त्यसैले उनीहरूलाई हेलमेटको बढी आवश्यकता हुन्छ ।

दुर्घटनाले टाउकोमा पर्ने समस्या

दुर्घटनाका कारण टाउकोमा लाग्ने चोटहरूको कुरा गर्दा सबैभन्दा पहिले त टाउकोको बाहिरी भागमा लाग्ने चोटहरूको कुरा गरौँ । सामान्य चोटपटक लाग्दा टाउकाको छाला काटिएर, टुटुल्को उठेर, छाला भन्दामुनि रगत जमेर बिरामी आउने गर्छन् । त्यसलाई सामान्य उपचार गरे पुग्छ । केही अवस्थामा टाउकोको हड्डी फुट्ने पनि हुन्छ । त्यो फुटेको हड्डीले दिमागलाई प्रेस गरेको हुन्छ, त्यस्तो अवस्थामा हड्डीलाई माथि उठाउने शल्यक्रिया गरिन्छ ।

साथै कहिलेकाहीँ हड्डी भन्दा मुनि र दिमाग भन्दा माथिकाे तहमा रगत जम्न सक्छ । कतिपयमा गिदीभित्रै रगत जमेको हुन्छ । यस्ता कतिपय केसमा शल्यक्रिया गर्न सकिन्छ भने कतिपयमा गर्न सकिँदैन ।  शल्यक्रिया गर्न नमिल्ने अवस्थामा औषधिमार्फत उपचार गरिन्छ ।

कतिपय केसमा भने सिटीस्क्यान हेर्दा ठिकै जस्तो देखिन्छ तर बिरामीको चेतनाको स्तर खासै राम्रो हुँदैन । यस्तोमा आँखाले देख्न नसकिने स-साना नसाहरू चुँडिएर बिरामी कोमामा जान्छन् ।

सामान्य भाषामा भन्दा टाउकाको हड्डीलाई स्टिलको कचौरा सम्झिऊँ र दिमागको तरलतालाई जमेको दहीको रुपमा लियौँ । यस्तोमा कचौरा कुच्चियो भने जसरी दही छचल्किन्छ, त्यसरी नै टाउकाको हड्डीमा चोट लाग्यो भने दिमागमा भित्रसम्म असर पर्न, चोट लाग्न सक्छ ।

हेलमेटको प्रयोग नै उत्तम विकल्प

सडक दुर्घटनामा परेर टाउकोमा लाग्ने चोटबाट बच्ने सर्वोत्तम उपाय हेलमेटको प्रयोग नै हो । त्यसैले दुईपाङ्ग्रे सवारी साधनमा चालक र पछाडि बस्ने व्यक्ति दुवैले हेलमेटको प्रयोग गर्नुपर्छ ।

दुर्घटनामा टाउकाको चोटबाट बच्न हेलमेट त लगाउने तर कस्तो हेलमेट लगाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बजारमा विभिन्न प्रकारका हेलमेट पाइन्छ । यस्तोमा सुरक्षाको मापदण्ड पूरा गरेको हेलमेट रोज्नुपर्छ । साथै फुल फेस हेलमेट प्रयोग गर्नु राम्रो हुन्छ  र हेलमेटको फित्ता लगाउन बिर्सनु हुँदैन । हेलमेट लगाइयो तर फित्ता बाँधिएन भने मोटरसाइकल अनसन्तुलन हुने बित्तिकै हेलमेट टाउकोबाट उछिट्टिएर झर्न सक्छ, अनि टाउकोमा चोट लाग्छ ।

कतिपयले भने टाउकोको सुरक्षाका लागि भन्दा पनि स्टाइलका लागि हेलमेट लगाउने गर्छन् । कसैले हेलमेटमा सिङ राखेर, कसैले कपाल राखेर त कसैले विभिन्न स्टिकर टाँसेर लगाउँछन् । यो उहाँहरूको इच्छा होला त्यो त ठिक छ तर त्यसो गर्दै गर्दा हेलमेटको गुणस्तरमा भने सम्झौता गर्न हुँदैन ।

हेलमेट लगाउँदा कतिपयले टाउको भन्दा माथि लगाउने, उल्टो लगाउने पनि गरेको पाइन्छ । त्यसरी हेलमेट लगाउँदा पूर्णरुपमा सुरक्षित नहुन सक्छ । त्यसैले हेलमेटको गुणस्तरमा र लाउने तरिकामा विशेष ध्यान दिनुपर्छ ।

हेलमेट छान्दा ध्यान दिनुपर्ने कुरा

आफ्नो देशको सडकको अवस्था, भूगोललगायतका विविध पक्षलाई आधार मानी हरेक देशले हेलमेटको आफ्नै मापदण्ड बनाएर लागू गर्दै आएका छन् । तर नेपालमा भने सरकारले आफ्नै मापदण्ड बनाउन सकेको छैन । यसकारण प्रयोग गर्नेहरूले पनि सुरक्षाका लागि भन्दा ट्राफिकलाई देखाउन हेलमेट लगाएका हुन्छन् ।

नेपाली बजारमा विदेशबाट आयातीत नक्कली हेलमेट छ्यापछ्याप्ती पाइने हुँदा कुन हेलमेट कस्तो भन्ने ख्याल गर्नुपर्छ । नेपालमा हेलमेटको गुणस्तरमा कुनै मापदण्ड नभए पनि भारत, युरोप तथा अमेरिकामा भने सर्टिफिकेसनको तह निर्धारण गरिएको हुन्छ ।

हेलमेट सर्टिफिकेसनमा भारतको ‘आइएस सर्टिफाइड’, अमेरिकाको डर्ट सर्टिफाइड तथा युरोपको ईसीई सर्टिफाइड हुनेगर्छ ।

ट्राफिक नियम पालना पनि महत्वपूर्ण

दुईपाङ्ग्रे सवारी साधन चलाउँदा दुर्घटनाबाट हुने क्षतिबाट बच्न हेलमेट लगाउनुका साथै ट्राफिक नियम पालना गर्नु पनि उत्तिकै जरुरी हुन्छ । ट्राफिक नियमविपरीत तीब्र गतिमा बाइक चलाउने, जथाभावी ओभरटेक गर्ने, लेन मिचेर चलाउने गर्ला दुर्घटना बढी भइरहेको देखिन्छ । साथै यसरी नियम मिचेर सवारी साधन चलाउँदा अन्य सवारी साधन चालक र पैदल यात्रीको जीवन पनि जोखिममा पर्न सक्छ ।

पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने कानुनी व्यवस्था

नयाँ सवारी ऐन आउन लागेकाले उक्त ऐनमा मोटरसाइकलको पछाडि बस्नेले हेलमेट अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न लागिएको छ । यसभन्दा अगाडि पनि मोटरसाइकलमा पछाडि बस्नेले हेलमेट लगाउने कुरा बारम्बार उठ्ने गरेको थियो ।

वि.सं. २०५९ देखि २०६१ सम्म दुईपाङ्ग्रे सवारी साधनमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियम लागू भएको थियो । त्यति बेलाको केही तथ्याङ्कले पनि टाउकाको चोट र त्यसको कारण मृत्यु हुनेको सङ्ख्या घटेको देखिन्छ । त्यसैले आफ्नै सुरक्षाका लागि हो भनेर दुईपाङ्‍ग्रे सवारी साधनमा पछाडि बस्ने व्यक्तिहरूले आफैँ हेलमेटको प्रयोग गर्न सक्छन् ।

ट्राफिक जरिवानाबाट बच्नका लागि मात्रै हेलमेट प्रयोग गर्ने बानी कतिपयमा छ । जस्तो मुख्य रोडमा जानुपर्‍यो भने मात्रै हेलमेट लगाउने र भित्री सडकमा कतै नजिकै जाँदा हेलमेट नलगाउने गरेको पाइन्छ । तर, त्यसो गर्नु गलत हो दुर्घटना जहिले पनि जहाँ पनि हुनसक्छ । चाहे त्यो टोलको गल्लीमा होस् वा मेन रोड । त्यसैले जहिले, जहाँ पनि दुईपाङ्ग्रे सवारी साधन चलाउँदा हेलमेटको अनिवार्य प्रयोग गर्नुपर्छ ।

‘राइड सेयरिङ’ सवारी साधनबाट यो नियम कार्यान्वयन गर्दा राम्रो

भियतनाममा ग्र्यब भन्ने एउटा राइड सेयरिङ एप प्रचलित छ । त्यहाँ त्यस्तो एपमार्फत सेवा दिने चालकले पछाडि बस्ने व्यक्तिका लागि हेलमेट बोकेर हिँड्छन् । आजभोलि नेपालका प्रमुख शहरहरूमा पठाओ, इनड्राइभजस्ता राइड सेयरिङ एप प्रचलित छन् । यसमार्फत सेवा दिने दुईपाङ्‍ग्रे सवारी साधन धेरै छन् । यस्ता सेवा दिने चालकबाट पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियमको कार्यान्वयन सुरु गर्नु राम्रो हुन्छ ।

नेपालले सन् २०२१ देखि २०३० बीचको अवधिमा सडक दुर्घटनामा हुने मृत्यु ५० प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ । तर, सडक दुर्घटनामा हुने मृत्यु घट्नुको सट्टा हरेक वर्ष बढेको छ । जसलाई कम गर्न सम्बन्धित निकाय कडाइका साथ लाग्नुपर्ने देखिन्छ ।

दुईपाङ्ग्रे सवारी साधनमा पछाडि बस्ने व्यक्तिहरूले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम एक्कासी लागू गर्नु भन्दा बिस्तारै लागू गर्दै जानु राम्रो हुन्छ होला जस्तो लाग्छ । पहिले ‘राइड सेयरिङ’ चालकबाट लागू गर्दै बिस्तारै सर्वसाधारणलाई लागू गर्न सकिन्छ । एक्कासी यो नियम लागू गर्न खोज्दा बजारमा हेलमेटको अभाव हुने, अभाव देखाएर कालो बजारी गर्ने, गुणस्तर कायम गर्न नसकिने समस्या हुनसक्छ ।

टाउको मोटरसाइकल हेल्मेट
डा. रुपेश राउत
लेखक
डा. रुपेश राउत
न्युरोसर्जन परामर्शदाता

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १६६६७ एमडी, एमएस हाल ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा न्युरोसर्जनको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मोटरसाइकल पछाडि बस्ने बढी असुरक्षित, हेलमेट लगाउनु किन जरुरी ?

मोटरसाइकल पछाडि बस्ने बढी असुरक्षित, हेलमेट लगाउनु किन जरुरी ?

नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि, गत आर्थिक वर्षको ‘सेल्स’ ३५.२ अर्ब

नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि, गत आर्थिक वर्षको ‘सेल्स’ ३५.२ अर्ब

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै