
३ वैशाख, जनकपुरधाम । सिरहामा यौन दुर्व्यवहारमा परेकी दलित समुदायकी एक महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माइतघरमै पासोमा झुण्डेको अवस्थामा मंगलबार मृत फेला परेकी हुन् ।
मंगलबार दिउँसो साढे ३ बजेतिर घरमा झुण्डेको अवस्थामा मृत फेला परेको भन्ने जानकारीपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पतारका प्रहरी निरीक्षक रविनराज मैनालीले बताए ।
यौन दु र्बव्हायवहारमा परेकी थिइन् आनन्दी
आनन्दी यौन दुर्व्यवहार घटना पीडित थिइन् । आमा बिल्टौन देवी सदायका अनुसार पुस ९ गते बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेको बेला गाउँकै दुई युवकले यौन दुर्व्यवहार गरेका थिए ।
स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालर यौन प्रस्ताव राखेका थिए । तर, आनन्दीले अस्वीकार गर्दा जबर्जस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेर कपडा च्यातेर जबरजस्ती करणीको प्रयास गर्दा भागेर गुहार मागेकी थिइन् ।
आमा बिल्टौनका अनुसार न्यायको लागि इलाका प्रहरी तारमा उजुरी दिन गएकी थिइन् । तर, प्रहरीले अनुसन्धानको नाममा दुई महिनासम्म आलटाल गरे । आरोपीहरु खुलेआम घुमिरहे ।
स्थानीय नरेन्द्र यादवलगायतका केही व्यक्तिले गाउँमै मिल्नुपर्ने भनेर धम्कीसमेत दिने गरेको आमा बिल्टौनको भनाइ छ । ‘छोरीमाथि जबरजस्ती करणीको प्रयास भयो । प्रहरीले समयमा जाहेरी लिएन । वास्ता गरेन’, आमा बिल्टौन भन्छिन्, ‘आरोपीका मान्छेहरु पछि गाउँमै पञ्चायत गरेर मिलाउन दबाब दिन थाले । नभए उल्टै मुद्दा दर्ता गर्ने धम्कीसमेत दियो । पछि मात्रै प्रहरीले जाहेरी दर्ता गर्यो । तर< दोषीलाई पक्राउ गरेन ।’
फागुन २५ गते घटनामा संलग्न दुई युवकमाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा जारी दर्ता गरेको थियो । अनुसन्धानबाट आनन्दीमाथि यौन दुर्व्यवहार भएको जस्तो देखिएको प्रहरी निरीक्षक मैनालीको भनाइ छ ।
‘यौन दुर्व्यवहारको घटनामा फसाउने उद्देश्यले पनि कतिपयले जाहेरी दिन्छन् । त्यस कारण सुरुमा अनुसन्धानमा समय लाग्यो । घटनाको अनुसन्धानमा आनन्दीमाथि यौन दुर्व्यवहार भएको पाइएको छ’, प्रहरी निरीक्षक मैनाली भन्छन् ।
त्यसयता दुवै युवक फरार छन् । पटकपटक खोज्न जाँदा घरमा फेला नपरेको प्रहरी निरीक्षक मैनालीको भनाइ छ । ‘हाम्रो टोली १३–१४ पटक पीडकको घरमा खोज्न पुग्यो । तर भेटिएन । खोजि गरिरहेका छौं’, उनले भने ।
आनन्दीका श्रीमान् वैदेशिक रोजगारीमा भएकाले दुई वर्षीया छोरीसहित माइतमै बस्दै आएकी थिइन् । आमा बिल्टौनका आनुसार त्यस घटना यता पतिले राम्ररी फोनमा बोल्ने गरेका थिएनन् । प्रहरीबाट पनि त्याय पाएको थिइनन् । तनाबमा छोरीले आत्महत्या गरेको हुन सक्ने आमा बिल्टौनको भनाइ छ ।
यो घटनाबारे छानबिन गर्न गृहमन्त्री रमेश लेखकले आईजी दीपक थापालाई फोन गरेर निर्देशन दिएका छन् ।
सिरहाकै नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायमाथि पनि माघ अन्तिमसाता सामूहिक बलात्कार भएको थियो । उक्त घटना गाउँमै मिलाउने प्रयास गर्दा रिंकु घरमै झुण्डेको अवस्थामा मृत फेला परेकी थिइन् । घटना मिडियाले बाहिर ल्याएपछि आरोपी र पञ्चायत गर्नेहरु पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो ।
प्रतिक्रिया 4