+
+
Shares
संगीत :

खेम सेन्चुरी र शान्तिश्री परियारको सहकार्यमा आएको ‘दरार’ के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १३:१७

काठमाडौं । संगीतकार खेम सेन्चुरी र गायिका शान्तिश्री परियारले ‘अरेली काँडैले’जस्ता चर्चित गीतको सिर्जनामा सहकार्य गरे । उक्त गीत गतवर्ष युट्युबमा १० करोड भ्यूज पाउने पहिलो नेपाली लोकगीत बन्यो ।

२०८१ सालको तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको गीतमा खेमले संगीत दिएका थिए भने शान्तीश्रीको स्वर थियो । शान्तीश्रीकै निर्माण र युट्युब च्यानलमार्फत आएको यो गीतले छोटो समयमा करोडौं भ्यूज बटुल्दै कीर्तिमान रच्यो ।

यो सहकार्यपछि यी दुईबीच फाटो आएको देखिएको छ । दुवैले एकअर्कालाई सार्वजनिक प्लाटफर्ममा आरोप-प्रत्यारोप गरिरहेका छन् । दुईले एकअर्कालाई उछितो काढिरहेको देखिन्छ । एकअर्काप्रति असन्तुष्टि पोखेपनि धेरैलाई भएको के हो भन्नेबारेमा थाहा छैन ।

यी दुईको मित्रता नयाँ होइन । धेरैअघिदेखि यी दुई मिल्ने साथी हुन् । गीत बनाउने कुरामा पनि दुईजनाको उत्साह थियो । तर, गीतमा खेमको पोस्टर नराखिएपछि खेम केही असन्तुष्ट देखिए । शान्तिश्रीले माफी माग्दै फेरि खेमको फोटो पोस्टरमा राखिन् । यो कुराले सम्बन्धको चिसोपन भने हटाउन सकेन ।

गीत सफल भएपछि खेमले सक्सेस पार्टीको प्रस्ताव राखेका थिए । तर, विविध कारणले त्यो हुन पाएन । त्यसयता खेम र शान्ती श्रीबीच संवाद नै टुट्दै गयो । शान्तीश्रीले संवाद कायम गर्न प्रयास गरिन् म्यासेज पठाइन्, भेट्ने कोसिस गरिन् तर प्रतिक्रिया नआएको उनको गुनासो छ ।

खेमले म्यासेज पढेपछि विषय ‘क्लोज’ गरिसकेको बताएका छन् । तरपनि विवादको चर्चा भने झन झांगिदो छ । दुवैले मिडियामा आएर एकअर्काप्रति टिप्पणी गरिरहेका छन् ।

शान्तीश्रीले आफूलाई ‘मृत घोषणा’ गरिएको आरोप लगाइन्, जुन खेमले अस्वीकार गरे । खेमका अनुसार उनी कसैलाई बाटो छेक्ने मान्छे होइनन् बरु आफू चुपचाप पछि हट्ने स्वभावका हुन् । शान्तीश्रीलाई उनी अझै ‘प्रिय गायिका’ मान्छन्, तर अब सहकार्य गर्ने मनस्थितिमा छैनन् ।

शान्तीश्री भने अझै पनि आफूले सर्जकलाई सधैँ सम्मान गर्दै आएकी बताउँछिन् । उनले खेमलाई पारिश्रमिक दिएर गीतमा संलग्न गराएको उल्लेख गर्दै, सर्जकलाई मन्दिरको देवताजस्तै मान्ने धारणा व्यक्त गरेकी छन् ।

यतिबेला यी दुईले आफ्नै ढंगले सांगीतिक कामलाई अघि बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?