३ वैशाख, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान नरेन भट्टले जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटको अन्तिम र महत्वपूर्ण खेलमा बलियो टोली अफगानिस्तानलाई हराउनेमा विश्वस्त रहेको बताएका छन् ।
हङकङसँगको सहज जितपछि कुरा गर्दै नरेनले अब हुने महत्वपूर्ण खेलका लागि टिममा सबैको मनोबल उच्च रहेको उल्लेख गरे ।
‘हामी विश्वस्त छौं, सबैजनाको मनोबल उच्च छ जुन हिसाबले हामी खेलिरहेका छौं, हामी जित्न सक्छौं र विश्कपमा छनोट हुनेछौं,’ नरेनले भने ।
अफगानिस्तानसँग यसअघि खेलेको युथ ओडीआई शृंखलाबाट सिकेका कुराहरूबाट नै रणनीति बनाउने कप्तान नरेनले बताए । ‘अब कसरी खेल्नुपर्छ भन्ने कुरा त त्यही दिन थाहा हुन्छ, ब्याटिङ–बलिङ जे भए पनि आफ्नो बेस्ट दिनेछौं,’ उनले भने ।
नेपालले बुधबार भएको खेलमा हङकङमाथि ९ विकेटको सहज जित निकाल्यो । ११६ रनको लक्ष्य नेपालले १३ ओभरभित्रै १ विकेटको क्षतिमा पूरा गरेको हो ।
यस खेलबारे कुरा गर्दै नरेनले विपक्षीको सुरुवात राम्रो भए पनि त्यही अनुसार रणनीति बनाएर राम्रो फिनिस गर्न सकेको बताए । ‘उनीहरूका ब्याटरले कसरी खेल्छन्, त्यसरी नै योजना बनायौं र फिनिसिङ राम्रो भयो । युवराजले राम्रो गरेको छ फर्ममा आइरहेको छ,’ उनले भने, ‘अब अफगानिस्तानसँग पनि राम्रो प्रदर्शन गर्ने भरोसा छ ।’
नरेनले बुधबारको खेलमा नेट रनरेट भन्दा पनि जितलाई नै मुख्य लक्ष्य बनाएर खेलेको उल्लेख गरे ।
प्रतिक्रिया 4