+
+
Shares

भन्सार शुल्क वृद्धि मुद्दामा अमेरिकासँग के चाहन्छ जापान ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १६:०८

३ वैशाख, काठमाडौं । अमेरिकी भन्सार शुल्क कम गराउन जापानका एक मन्त्री रोसाई अकाजावा मंगलबार वासिंगटन प्रस्थान गरेका छन्।

बीबीसीका अनुसार जापानका मुख्य सचिव योशिमासा हायाशीले यसबारे भने, ‘हामी अमेरिकी पक्षसँग भन्सार शुल्कको पुनः मूल्यांकन गर्न आग्रह गर्छौं । हामी यो मामिलामा चाँडोभन्दा चाँडो परिणाम निकाल्ने प्रयासमा लागिरहेका छौं।’

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिगेरु इशिबाबीच भन्सार शुल्कको मुद्दामा वार्ता गर्ने विषयमा सहमति भएको थियो।

यद्यपि, इशिबाले जापान कुनै पनि सम्झौता गर्न हतारमा नरहेको स्पष्ट पारेका थिए।

जापान अमेरिकाको निकट सहयोगी राष्ट्र हो। अमेरिकाले जापानलाई २४ प्रतिशत पारस्परिक कर लगाएको छ, यद्यपि त्यसमा ९० दिनको लागि रोक लगाइएको छ।

तर जापानका गाडी उत्पादन गर्ने ठूला कम्पनीहरू टोयोटा, होन्डा र निसान लगायत अहिले पनि अमेरिका निर्यात गर्दा २५ प्रतिशत भन्सार शुल्कको सामना गरिरहेका छन्।

उता, जापानले अमेरिकासँग वार्ताको लागि प्रयास गरिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ भने बुधबार मलेसिया पुगेका छन् । उनी दक्षिणपूर्वी एशियाली देशहरूको भ्रमणमा छन् । यसपछि उनी कम्बोडिया जानेछन् ।

दक्षिणपूर्वी एशियाका देशहरुमा उनको यात्राको उद्देश्य ती देशहरूसँग आर्थिक सहयोग विस्तार गर्नु रहेको छ ।

मंगलबार भियतनाम पुगेका सीले त्यहाँ थुप्रै समझौताहरूमा हस्ताक्षर गरेका थिए।

अमेरिका‌ले दक्षिणपूर्वी एशियाका केही देशहरूमाथि निकै उच्च भन्सार शुल्क लगाएको छ। तीमध्ये भियतनाममाथि ४६ प्रतिशत र कम्बोडियामाथि ४९ प्रतिशत रहेको छ । यद्यपि, यो भन्सार शुल्क अमेरिकाले ९० दिनको लागि रोक लगाएको छ।

विश्वभरका सरकारहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भन्सार शुल्क सम्बन्धी सहमति गर्न प्रयासरत छन्, भने अर्कोतर्फ चीनले धेरै देशहरूलाई अमेरिकी भन्सार शुल्क वृद्धिको विरोधमा एकजुट हुन आग्रह गरिरहेको छ।

चीनले अमेरिकी भन्सार शुल्क वृद्धिको जवाफस्वरूप अमेरिकाबाट आउने सामानमा १२५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेको छ।

चिनियाँ राष्ट्रपति जिनपिङको यो भ्रमणमाथि अमेरिका पनि नजर राखिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पत्रकारहरूसँग भनेका थिए, ‘चीन र भियतनामबीचको वार्ताको उद्देश्य कसरी अमेरिकालाई क्षति पुर्‍याउने भन्ने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?