
३ वैशाख, काठमाडौं । काठमाडौं शंखमुलको एक ‘कफी सप’ मा कफी पिउँदै गरेका अंकित न्यौपाने भेटिए । दिनमा एक पटक कफी पिएपछि उनी आफूलाई ‘रिफ्रेस’ भएको महसुस गर्छन् ।
उनले दिनहुँ पिउने कफी हो– ‘अमेरिकानो’ ।
सधैं झैं बुधबार पनि उनी कफी पिउनकै लागि त्यही कफी सपमा आएका थिए । तर, उनले सधैं पिउने एक कप अमेरिकानोको दाम भने २० रुपैयाँले महँगिएको पैसा तिरेर निस्किने बेलामात्र थाहा पाए ।
‘एक्कासि किन बढाउनुभो दिदी कफीको मूल्य ?,’ उनले कफी सप सञ्चालक दिदीलाई प्रश्न गरे ।
उत्तर आयो, ‘हामीले किन्ने कफीको खुद्रा मूल्य बढेर आएको छ, त्यही भएर !’
त्यसअघि अंकितले तिर्ने एक कप अमेरिकानो कफीको मूल्य १ सय २० रुपैयाँ थियो । अहिले त्यही मूल्यमा २० बढेर १ सय ४० रुपैयाँ पुगेको छ ।
पाँच वर्षदेखि शंखमुलमा सोही कफी सप चलाइरहेकी सम्झना गुरुङले पछिल्लो तीन–चार महिनादेखि कफीको मूल्य बढिरहेको हुँदा आफूले पनि महँगो तिरेर किन्नुपरेको बताइन् ।
‘मैले नै कफीलाई महँगो तिरेर ल्याइरहेकी छु,’ उनले सुनाइन्, ‘तीन–चार महिनादेखि नै कफीको मूल्य बढेको भए पनि हामीले बढाएका थिएनौं । हामी कफी मात्रै बेच्ने भएकाले मूल्य नबढाउँदा धेरै घाटा पर्न गयो, चैत २५ देखि नै मूल्य बढेको हो ।’
सम्झनाको कफी सपमा ११ प्रकारका कफीको स्वाद चाख्न पाइन्छ । ती कफीमा एसप्रेसो, अमेरिकानो, क्यापुचिनो, मोचा, लाटे लगायत छन् ।
त्यहाँ एक कप कफीको मूल्य ९० रुपैयाँदेखि प्रकार हेरेर २ सय रुपैयाँसम्म तोकिएको छ । ती कफीमा एक कपको उपभोक्ता मूल्य २० रुपैयाँदेखि ६० रुपैयाँसम्म बढेको छ ।
उनका अनुसार अहिले एक किलो कफीमा ४ सय रुपैयाँ बढेको छ । पहिला २ हजार १ सय रुपैयाँ किलोमा पाइने कफीलाई अहिले २ हजार ४ सयदेखि २ हजार ६ सय रुपैयाँ पर्न गएको छ ।
पछिल्लो पटक कफी खाने उपभोक्ताहरू बढ्दै गएको देख्न सकिन्छ । प्रत्येक चोक, गल्ली र बजारमा कफीमात्र बेच्ने क्याफेको संख्याले पनि यसलाई पुष्टि गर्छ ।
काठमाडौं उपत्यकाका प्रमुख बजार क्षेत्र, व्यापारिक स्थलमा कफी सप धेरै छन् । तर, केही वर्षयता बागमती नदी करिडोर क्षेत्रमा कफी सपहरूको ताँती देख्न सकिन्छ ।
ठूला रेस्टुरेन्ट, कफी सप, होटल वा रिसोर्टमा कफी खान आर्थिक रूपमा आँट गर्न नसक्ने उपभोक्ता यस्ता साना कफी सपमा पुग्ने गरेका छन् । कम पैसामा लगभग उस्तै गुणस्तरको कफी पिउन पाइने भएपछि उपभोक्ताको भीड त्यतै हुने गरेको छ ।
कफी पिउने भीडमा नयाँ पुस्ता (जेन–जी) धेरै हुने गरेको देखिन्छ । अनलाइनखबरले गत आइतबारदेखि मंगलबारसम्म नयाँ बानेश्वर, बुद्धनगर, शंखमुल, बागमती करिडोर क्षेत्रका डेढ दर्जन हाराहारी कफी सपको स्थलगत रिपोर्टिङ गर्दा अधिकांशमा जेन–जीको भीड देखियो ।
‘हामी त ठुल्ठूला रेस्टुरेन्ट वा होटलमा गएर कफी पिउन कहाँ सक्नु ?,’ बुद्धनगर बागमती करिडोरमा रहेको ‘रेल स्टेसन’ रेस्टुरेन्टमा मंगलबार क्यापुचिनो कफी पिइरहेका रमेश सिग्देलले भने, ‘हामी जस्ता युवासँग पैसा पनि धेरै हुँदैन, अलिअलि हुने हो, अनि कफी त सस्तो भए पनि लगभग उस्तै हुन्छ, त्यही भएर यहीँ कफी पिउन आउँछु ।’
कच्चादेखि तयारी कफीको भाउ बढे पनि ठूला रेस्टुरेन्ट, होटल, रिसोर्टमा भने प्रतिकप मूल्य तत्काल बढेको छैन । नेपालको सम्भवतः सबैभन्दा धेरै आउटलेट भएको ‘हिमालयन जाभा’ ले भने कफीको भाउ बढाइनसकेको जनाएको छ ।
‘हामीले अहिले कफीको मूल्य बढाएका छैनौं,’ हिमालयन जाभाका महाप्रबन्धक दिवाकर ओझाले अनलाइनखबरसँग भने, ‘अहिले पुरानै भाउमा कफी बेचिरहेका छौं ।’
कच्चादेखि तयारी कफीको भाउ बढ्यो
नेपाल कफी व्यवसायी महासंघले कफीको उपभोक्ता मूल्य किलोमा ४ सयदेखि ६ सय रुपैयाँ बढेको जनाएको छ । यो भनेको कच्चादेखि तयारी कफीसम्मको मूल्य बढेको हो ।
महासंघका महासचिव सन्तोष पोखरेलले कफीको मूल्यवृद्धि भएको बताए । नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि कफीको मूल्य बढेको उनको भनाइ छ ।
‘कफी उत्पादक साना किसानलाई पनि गत वर्षभन्दा अहिले किलोमा १ सय ५० रुपैयाँ बढेको छ, उनीहरूले पनि राम्रो मूल्य पाएका छन्,’ महासचिव पोखरेलले अनलाइनखबरसँग भने, ‘ब्रान्डिङ, प्याकेजिङ गरेर उपभोक्तासम्म जाने कफीमा ४ सय देखि ६ सय रुपैयाँसम्म बढेको छ ।’
उनका अनुसार कफी आयात गर्दा नै करिब २ सय देखि ३ सय रुपैयाँ बढेको छ । नेपालमा सबैभन्दा धेरै कफी आयात भारतबाट हुन्छ । भारतबाट आयात हुने कच्चा पदार्थ (ग्रिन बिन्स) मा पनि प्रतिकिलो २ सय देखि ३ सय रुपैयाँ बढेको छ ।
‘आयातित ग्रिन बिन्समा नै प्रतिकिलो २ सयदेखि ३ सय रुपैयाँ बढेर आएपछि यहाँ प्रशोधन गरेर बजार पठाउँदा उपभोक्ता मूल्य प्रतिकिलो ४ सयदेखि ६ सय रुपैयाँसम्म बढी पर्न गएको हो,’ महासचिव पोखरेलले भने ।
नेपालबाट निर्यात हुने कफीको भाउ पनि बढ्यो
नेपालमा उच्च गुणस्तरको कफी विभिन्न देशमा पनि निर्यात हुने गरेको छ । कफी व्यवसायी महासंघका महासचिव पोखरेल निर्यातको परिमाण ठूलो नभए पनि निर्यात भएको कफीको मूल्य भने राम्रो पाइरहेको बताउँछन् ।
‘हामीले यहाँबाट निर्यात गर्ने कफीको मूल्य पनि बढेको छ,’ उनले भने, ‘हामीले निर्यात गर्ने कफी प्रतिकिलो १२ देखि १५ अमेरिकी डलर पर्छ ।’
अहिले अन्तर्राष्ट्रिय बजारमा नै कफीको माग बढेको हुँदा मूल्य पनि बढ्न गएको महासचिव पोखरेल बताउँछन् ।
‘मुलुकमा कफी उत्पादन कम र माग बढी छ,’ उनले भने, ‘बाहिरबाट आयात हुने कफीको मूल्य बढ्नासाथ आन्तरिक उत्पादनमा पनि प्रभाव पर्छ । अन्तर्राष्ट्रिय बजार मूल्यले यहाँको बजार प्रभावित पार्छ ।’
सरकारले कफीको ‘ग्रेड’ अनुसार मूल्य निर्धारण गरेको छ । तर, त्यो मूल्यमा कफीको कारोबार नहुने पोखरेल बताउँछन् ।
उनका अनुसार रेस्टुरेन्ट तथा क्याफेलाई पनि कफीको मूल्य किलोमा २ सयदेखि ३ सय रुपैयाँसम्म बढेको छ । यो मूल्यवृद्धिसँगै उनीहरूले पुरानो मूल्यमा ग्राहक मूल्य १५ देखि २५ प्रतिशतसम्म बढाउने उनको अनुमान छ ।
किन बढ्यो कफीको मूल्य ?
पाँचथरका कफी व्यवसायी भीमसेन गिरी अहिले कफी सिजन भएकाले कारण पनि मूल्य बढेको बताउँछन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको मूल्य फरक हुन्छ । व्यापारीहरूको रेट फरक हुने उनले बताए ।
‘कफी बजार पनि प्रतिस्पर्धात्मक छ,’ उनले भने, ‘गुणस्तर अनुसार मूल्य फरक पर्न जानु स्वाभाविक हो ।’
उनका अनुसार कफी विकास बोर्डले कफीको प्रतिकिलो मूल्य ५ सय ५० रुपैयाँ तोके पनि बजारमा भने किलोकै ७ सय ५० रुपैयाँमा किनबेच हुने गरेको छ । ‘अहिले हामीले किन्ने मूल्य प्रतिकिलो ८ सय ५० देखि ९ सय रुपैयाँ छ,’ उनले भने ।
उनका अनुसार ग्रिन बिन्सको मूल्य १ हजार ४ सय ५० देखि १ हजार ५ सय रुपैयाँसम्म रहेको छ । रोस्टेड कफीको मूल्य किलोको २ हजारदेखि २ हजार १ सय रुपैयाँ छ ।
त्यस्तै काभ्रेपलाञ्चोक पाँचखालका कफी व्यवसायी सुरेन्द्र बोलखेका अनुसार काभ्रेमा कफी उत्पादन वार्षिक १ सय २० देखि १ सय ३० टनसम्म हुने गर्छ ।
कफी व्यवसायी बोलखे नेपालबाट अन्तर्राष्ट्रिय बजारमा प्रशोधित कफी धेरै निर्यात नहुने बताउँछन् । ग्रिन बिन्स भने अधिकांश निर्यात हुने उनी बताउँछन् ।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा ग्रिन बिन्सको मूल्य प्रतिकिलो १ हजार ३ सय ५० देखि १ हजार ४ सय ५० रुपैयाँसम्म छ । यो बिन्स भुट्दा यसको तौल (वेट) घट्छ । रोस्टेड बिन्सको मूल्य भने उद्योगले नै तोकेका हुन्छन् । फिनिसिङ कफीको मूल्य किलोको १ हजार ९ सय ५० देखि २ हजार रुपैयाँसम्म पर्छ ।
नेपाली बजारमा रोस्टेड बिन्सको मूल्य बढेको उनी बताउँछन् । राम्रो कफीको मूल्य औसतमा किलोको २ हजार ५ सय रुपैयाँ रहेको छ । ‘कफीको साइज अनुसार पनि मूल्य निर्धारण हुन्छ,’ उनले भने, ‘अर्को भनेको कफी प्रोसेसिङ कसरी गरिएको छ, त्यसमा भर पर्छ ।’
कफीको भाउ डलरमा कारोबार हुने भएकाले डलरको भाउ बढ्दा यसको पनि भाउ बढ्ने व्यवसायी बोलखे बताउँछन् । उनका अनुसार अहिले कफीको मूल्य बढ्नुको मुख्य कारण ब्राजिलमा सुक्खा र डढेलोले ‘हार्भेस्टिङ’ (कफी टिप्ने समय) मा उत्पादन कम देखिएको छ ।
उनका अनुसार अरेबिका कफीको विश्वबजार ठूलो छ । ७५ प्रतिशत बजार अरेबिका कफीले ओगटेको छ । कफी उत्पादन कम हुँदा र खपत बढी हुँदा अन्तर्राष्ट्रिय बजारमा ‘रकेट स्पिड’ मा कफीको भाउ बढेको हो । ‘आगामी दिनमा यसको मूल्य अझै बढ्न सक्छ,’ उनले भने ।
किसानसँग खरिद गर्दा नै फ्रेस कफीको मूल्य प्रतिकिलो १ सय ६० रुपैयाँसम्म पर्न गएको कफी व्यवसायी बोलखे बताउँछन् । पोहोर १ सय रुपैयाँमा किनेको फ्रेस चेरी पनि यो वर्ष ६० रुपैयाँ महँगो पर्न गएको उनको भनाइ छ । धुलो बनाउँदा ७–८ किलो बिन्सबाट १ किलोमात्र कफी बन्ने उनी बताउँछन् ।
नेपालमा कफी उत्पादन कति ?
नेपाल कफी व्यवसायी महासंघका महासचिव पोखरेलका अनुसार २६ हजार १ सय किसान कफी उत्पादनसँग जोडिएका छन् । अहिले ४२ जिल्लामा कफी खेती हुने गरेको छ । यी जिल्लामध्ये २० वटा जिल्लामा व्यावसायिक कफी उत्पादन हुने उनी बताउँछन् । बाँकी जिल्लामा भने भर्खर कफी खेती सुरुवात गरिएको छ ।
महासंघका अनुसार अहिले ४२ वटा उद्योग कफी प्रशोधन र प्याकेजिङमा आबद्ध छन् । कफी ब्रान्डिङ र बजारीकरणमा १ सय बढी व्यापारी रहेको महासचिव पोखरेल बताउँछन् ।
पोखरेलका अनुसार नेपालमा कफी खेतीको सम्भावना झन्डै ११ लाख ९० हजार हेक्टरमा फैलिएको छ । अन्तर्राष्ट्रिय बजारमा माग भएको उच्च गुणस्तरको कफी उत्पादन गर्न सक्ने जमिन भने ६८ हजार हेक्टरमात्र छ । अहिले कफी खेती हुने जमिन भने ३ हजार ७ सय हेक्टर रहेको महासंघको तथ्यांक छ ।
नेपाली बजारमा कफीको वार्षिक माग २ हजार ७ सय टन छ । गत वर्ष मुलुकमा कफी उत्पादन भने ५ सय ८६ टन मात्रै भएको थियो । कुल उत्पादनको ८० देखि ९० टन कफी विभिन्न २० देशमा निर्यात हुने गरेको पोखरेल बताउँछन् ।
कफी उत्पादन र आन्तरिक बजार माग हेर्दा वार्षिक २ हजार २ सय टन विभिन्न देशबाट आयात गर्नुपर्ने अवस्था रहेको महासचिव पोखरेल बताउँछन् ।
कफी आयात–निर्यात अवस्था
स्वदेशी उत्पादनले २० प्रतिशत पनि माग नधान्ने भएपछि ७५ देखि ८० प्रतिशतसम्म कफी विभिन्न देशबाट आयात गर्नुपर्ने अवस्था छ ।
भन्सार विभागको तथ्यांकअनुसार २०७९/८० मा १३ करोड ४ लाख रुपैयाँ बराबरको ७७.८६ टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको ४ सय ५० टन आयात भएको थियो ।
यसैगरी गत आव २०८०/८१ मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८० टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४ सय ४३ टन कफी आयात भएको छ ।
प्रतिक्रिया 4