
३ वैशाख, काठमाडौं । पूँजी बजार सम्बद्ध प्रमुख निकाय नियामक धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज र राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारीबीच छलफल भएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं तथा सीडीएससी प्रवन्ध सञ्चालक प्रविन पन्दाकबीच भएको छलफल एकअर्का निकायसँग समन्वय गर्ने विषयमा केन्द्रित रहेको थियो ।
‘तीन वटै निकायबीच समन्वय बढाएर पूँजी बजारको विकास गर्नेबारे छलफल भएको हो’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चापागाईंले भने ‘अब नियमित रुपमा यस्ता बैठक हुनेछन् ।’
नेप्सेको पुनर्संरचनाका विषयमा पनि छलफल भएको थियो । दोस्रो बजारको नियमनलाई प्रभावकारी बनाउने र गलत हर्कत गर्नेलाई कानुनी दायरामा ल्याउने विषयमा कुराकानी भएको थियो । छलफलमा बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ तथा सुपरीवेक्षण विभाग प्रमुख रूपेश केसी पनि सहभागी थिए ।
प्रतिक्रिया 4