+
+
Shares

हामी सरकार होइन, यसको काम गर्ने तरिका बदल्न चाहिरहेका छौं : गगन थापा

‘जुन गति यो हिंड्नुपर्ने हो त्यो गतिमा हामी हिंड्न सकेका छैनौं । जे निर्णय गर्नुपर्ने हो ती निर्णय गरिरहेको छैन । जुन निर्णय नगर्नुपर्ने हो त्यो निर्णय गरिरहेका छौं,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १७:१३
फाइल तस्वीर

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस वर्तमान सरकार बदल्न नभएर यसको काम गर्ने तरिका बदल्न चाहिरहेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘हामी सरकार होइन, यसको काम गर्ने तरिका बदल्न चाहिरहेका छौं । सरकारको गति बदल्न चाहिरहेका छौं ।’

उनले सरकारको कामको गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताए । वर्तमान सरकार गठनको उद्देश्य संविधान संशोधन र सुशासन दिनु रहेको उल्लेख गर्दै यसमा सरकारले काम गर्न नसकेको निष्कर्ष सुनाए ।

‘हामीलाई आशा थियो, यो सरकारले सुशासन र परिणाम दिन्छ । नागरिकहरूमा विश्वास जगाउँछ । बितेको ८/९ महिना हेर्दा जुन अपेक्षाका साथ हामीले यात्रा सुरु गरेका छौं त्यो पूरा हुन सकेको छैन । त्यसैले यसको हामीले गम्भीर समीक्षा गर्नुपर्छ,’ उनले भने ।

केपी ओली नेतृत्वको वर्तमान सरकारले काम गर्ने शैली र गति नबदले सफल नहुने महामन्त्री थापाले बताए ।

‘सरकारले ठिक निर्णय गरोस् भन्ने चाहिरहेका छौं । सरकारको निर्णय यस्तो होस् कि तपाईं हामी पार्टीका मान्छेले वाह भन्न पाइयोस्,’ उनले भने, ‘हामी अहिले संघको सरकारलाई सफल बनाउन चाहन्छौं । तर यो शैलीले सफल भइँदैन, यो शैली बदल्नुपर्छ । सुधार गर्नुपर्छ ।’

उनले सरकारलाई गतिसँगै मति पनि बदल्न सुझाव दिए । ‘सरकारले गति बदल्नुपर्छ, मति ठिक राख्नुपर्छ । सानो सानो स्वार्थमा चुक्नुहुँदैन,’ उनले भने ।

थापाले सरकारले गलत निर्णय गरिरहेको आरोप पनि लगाए । ‘जुन गति यो हिंड्नुपर्ने हो त्यो गतिमा हामी हिंड्न सकेका छैनौं । जे निर्णय गर्नुपर्ने हो ती निर्णय गरिरहेको छैन । जुन निर्णय नगर्नुपर्ने हो त्यो निर्णय गरिरहेका छौं,’ उनले भने ।

थापाले अगाडि थपे, ‘जुन कुरा तत्काल गर्नुपर्ने हो त्यो कुरा गरिरहेका छैनौं । जुन कुरामा छलफल बहस गर्नुपर्ने हो त्यो कुरामा हामी हतार गरिरहेका छौं ।’

‘गठबन्धनप्रति कांग्रेस इमान्दार छ’

महामन्त्री थापाले बाहिर चर्चा भइरहेको जसत् सरकारको विकल्प नखोजिएको स्पष्ट पारे । ‘बाहिर चर्चा परिचर्चा भएजस्तो त्यसको अर्को विकल्प खोज्ने भन्ने होइन । नेपाली कांग्रेस त्यति गैरजिम्मेवार छैन,’ उनले भने ।

महामन्त्री थापाले गठबन्धनप्रति कांग्रेस सधैं इमान्दार रहँदै आएको जिकिर गरे ।

‘देश र नागरिकसँग हामीले बाचा गरेका छौं कि २०८४ सालसम्म हामी सरकार अदलबदल गर्ने फोहोरी खेलमा लाग्दैनौं भनेर । हामी हाम्रो बचनमा जहिले पनि इमान्दार छौं ।’

विगतमा पनि कांग्रेस र एमाले मिलेर बनेको सरकारले आफ्नो उद्देश्य पूरा गरेको उनले स्मरण गराए । ‘२०४७ सालमा संविधान निर्माण गर्ने बेला किसुनजीको सरकारको नेतृत्वमा होस्, २०५६ सालमा गिरिजाप्रसादको नेतृत्वमा माओवादीको आतंकको बीचमा पनि निर्वाचन गराउन बनेको सरकार, २०७० सालमा सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माणको लागि होस्, ती सबै सरकार आफ्नो उद्देश्यमा सफल रहे,’ उनले भने ।

यसअघि पनि गठबन्धन सरकार बनेको बेला सरकार परिवर्तन कांग्रेसको कारण नभएको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?