
६ चैत, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति हुने बताएका छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्तिको समस्या समाधानका लागि सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच सहमति भएकाले चाँडै नियुक्त हुने बताए ।
‘हिजोमात्रै दुईजना पार्टीका महत्त्वपूर्ण व्यक्तिहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएर समस्याको समाधान गर्ने भनेर उहाँहरूले सहमति गर्नुभएको छ,’ गुरुङले भने, ‘आज संयन्त्रको बैठक बस्दैछ । आज संयन्त्रको बैठकले नीतिगत मार्गदर्शन गर्नेछ भन्ने विश्वास लागेको छ ।’
गभर्नरजस्तो महत्त्वपूर्ण पदमा सबै दलको चासो हुनु स्वभाविक भएको पनि उनले बताए ।
‘गभर्नर नियुक्ति ढिला भएकै छ । यो चाँडोभन्दा चाँडो नियुक्त गर्दैछौं । एक अरबका कति कुरा सुन्छौं त्यो एक प्रतिशत पनि सत्यता छैन,’ उनले भने, ‘यो मिलिजुली सरकार हो, सरकारमा कांग्रेस एमालेसहित अन्य थुप्रै पार्टी छन् । यस्तो महत्त्वपूर्ण विषयमा आ आफ्नो चासो हुनसक्छ ।’
प्रतिक्रिया 4