
३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सगरमाथा संवाद कार्यक्रममा साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्रको वन, वातावरण तथा जलवायु विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
सरकारले आगामी २ देखि ४ जेठसम्म काठमाडौैंमा सगरमाथा संवाद आयोजना गर्दैछ । माओवादीले सरकारले गर्न लागेको कार्यक्रम सकारात्मक रहेको भन्दै स्वागत समेत गरेको छ ।
सो विभागका तर्फबाट माधव सापकोटासहितको टोलीले कार्यक्रमका लागि विगतमा भएका प्रयाससमेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचारभन्दा माथि उठेर यसलाई सफल बनाउनुुपर्ने धारणा राखे । राष्ट्रिय महत्वका यस्ता कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको भन्दै प्रधानमन्त्रीले यसलाई सफल बनाउन विभिन्न राजनीतिक दलसँग पत्राचार गरिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा आयोजना गर्ने गरी यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।
प्रतिक्रिया 4