
३ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थल वरिपरि चरा आए भगाउन आवश्यक व्यवस्था गरिएको जनाएको छ ।
चरा ठोक्किएरै विमान दुर्घटनामा पर्ने गरेको विवरण विगतमा आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले यसबारे जानकारी माग गरेकी थिइन् ।
संसद्मा प्रश्न दर्ता गरेर गौतमले मागेका प्रश्नको जवाफ पठाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमानस्थल वरिपरि चरा आए भगाउन आवश्यक व्यवस्था गरिएको बताएका हुन् ।
पाण्डेले दिएको जानकारी अनुसार नेपालमा चरा ठोक्किएरै नेपालमा ५ वटा विमान दुर्घटना भएका छन् । ती दुर्घटना १९९६, २०००, २०१२, २०१४ मा भएका थिए ।
हाल चरा आए रोक्ने गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हाल प्रयोगमा रहेका इक्विपमेन्ट सिस्टमको सम्बन्धमा पनि मन्त्री पाण्डेले जानकारी दिएका छन् ।
जसमा अल्ट्रा सोनिक साउन्ड डिभाइस एउटा, एलपी ग्याँस क्यानोन्स डिभाइस ५ वटा रहेको छ । काग गराउने सम्बन्धी स्केर क्राउ विगतमा प्रयोगमा रहेको भए पनि हाल प्रयोगमा नरहेको मन्त्रालयले जनाएको छ ।
चरा भगाउन अन्य उपकरणहरू समेत रहेको भनिएको छ । गुलेली आवश्यकता अनुसार पर्याप्त संख्यामा रहेको विवरण जवाफमा छ ।
नेपाली सेनाबाट खटिई आउने सैनिक शिकारीले प्रयोग गर्ने हतियार अत्यावश्यक परेमा मात्र प्रयोग हुने गरेको छ । जालीको प्रयोग गरिएको छ । चरा व्यवस्थापनका लागि थप उपकरण/प्रणाली खरिदका लागि प्रक्रियामा रहेको भनिएको छ ।
चरा नियन्त्रणका लागि के कस्ता भावि योजना छन भनेर पनि मन्त्री पाण्डेले संसदलाई जानकारी गराएका छन् ।
प्रतिक्रिया 4