+
+
Shares
वार्ताः पूर्वउपराष्ट्रपति पुन :

‘उपराष्ट्रपतिको सुविधा दिएको भए पो त्याग्नु’

‘समाजवादी यात्रामा जोडिनुपर्छ भन्ने निचोडसहित फेरि राजनीतिमा फर्किएको हुँ’

अमृत सुवेदी अमृत सुवेदी
२०८२ वैशाख ३ गते २१:५२

३ वैशाख, पोखरा । करिब साढे ७ वर्ष उपराष्ट्रपति बनेर फेरि जिम्मेवारीसहित सक्रिय राजनीतिमा फर्किएका माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ मा बेग्लै उत्साह थियो । चैत १९ गते उपाध्यक्षमा नियुक्त भएपछि वैशाख १ गते पहिलो पटक गण्डकी प्रदेशको नवलपुर गैंडाकोटबाट माओवादीको जागरण अभियानमा निस्किएका पूर्वउपराष्ट्रपति पासाङमा सक्रिय राजनीतिको भोक झल्किन्थ्यो ।

पासाङले सार्वजनिक मञ्च तथा औपचारिक समारोहमा राजनीतिक भाषण त गरेनन् तर हुलाकीमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानमा पहिलो पटक जोडिएका उनले नेता-कार्यकर्तालाई ‘समाजवादी यात्रा’मा जोडिन उत्साह भरिरहेका थिए । गैंडाकोटमा मंगलबार प्रचण्डसँगै ५ किलोमिटर ‘मर्निङ वाक’ गरेका पासाङ नागरिकसँग खुसी साट्थे भने नेता/कार्यकतासँग हालखबर सोध्दै हाँसो-ठट्टा गरिरहेका थिए ।

उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारीसमेत पाएका पासाङले कृषि उत्पादनसँग जोडिएर समाजवादको आधार तयार पार्नुपर्ने बताइरहेका थिए भने पूर्व जनमुक्ति सेनालाई फेरि एकपटक गोलबद्ध हुन आह्वानसमेत गरिरहेका थिए ।

उनी २०७२ साल कात्तिक १५ देखि २०७९ चैत ५ सम्म करिब साढे सात वर्ष उपराष्ट्रपति बनेर राजनीतिमा फर्किएका हुन् । २०७२ सालमा नयाँ संविधान जारी भएपछि उपराष्ट्रपति बनेका उनी पहिलो पटक २८ महिना र २०७४ सालमा भएको निर्वाचनपछि उनी फेरि उपराष्ट्रपतिमा दोहोरिएर ५ वर्षे कार्यकाल पूरा गरेका थिए ।

देशकै दोस्रो सर्वोच्च पदको भारी बिसाएर माओवादी अभियानमा जनतालाई भेट्न निस्किएका पूर्व जनसेना प्रमुख पासाङको अगाडि-पछाडि पूर्व छापामार थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काँध जोडेर अभियानमा सडक झरेका पासाङलगायत पदाधिकारीलाई सरकारी सुरक्षासहित पूर्वलडाकुले पनि सुरक्षा घेरामा राखेका थिए ।

राष्ट्रपति, उपराष्ट्रपति बनिसकेका व्यक्ति फेरि सक्रिय पार्टी राजनीतिमा फर्किँने विषयप्रति नागरिक तहबाटै आलोचना भइरहेको छ । यसरी राजनीतिमा फर्किँदा सम्मानित पदको गरिमा र मर्यादामा आँच आएको आलोचनाप्रति उनको विमति छ ।

लामो समय सक्रिय राजनीतिबाट टाढा रहेका उनले नमर्दासम्म कम्युनिष्ट सिद्धान्त र विचारको रक्षा गर्ने कसम खाएकै कारण फेरि फर्किएको बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भन्ने कुरा सबै कार्यविभाजनका कुरा भएको उनको तर्क छ ।

मुख्य कुरा जनताको मुक्ति, समाजवादी क्रान्ति र देशलाई समृद्ध बनाउन र साम्यवादसम्म पुग्नका लागि संघर्ष गर्नु आफ्नो पनि कर्तव्य भएको र त्यसलाई पूरा गर्न राजनीतिमा सक्रिय भएको उनी बताउँछन् । प्रस्तुत छ, मंगलबार ‘मर्निङ वाक’कै क्रममा अनलाइनखबरले पासाङसँग गरेको संक्षिप्त कुराकानी :

पूर्वउपराष्ट्रपतिको सम्मान खाएर बस्न मन नभएर राजनीतिमा फर्किनुभएको हो ?

मलाई पार्टीमा सक्रिय बन्दा एकदमै उत्साह जागेको छ । धेरैपछि नेताका रूपमा जनतासँग भेटघाट गर्न पाएको छु । माओवादी आन्दोलन आफैंमा महत्वपूर्ण आन्दोलन हो । त्यसैले फेरि माओवादी अभियानमै समाहित हुन पाउँदा खुसी छु ।

माओवादीको जागरण अभियानमा नयाँ वर्षकै दिनबाट जोडिए पनि पार्टीका बैठकहरूमा त देखिनुभएकै थियो, इच्छा त पहिल्यै जागेको थियो, होइन ?

केही बैठकमा उपस्थित भए पनि जनतासँग प्रत्यक्ष जोडिने गरी निस्किएको थिइनँ । गत चैत १८ र १९ गते बसेको पदाधिकारीको बैठकले उपाध्यक्षको जिम्मेवारी दिएपछि मात्र १ गतेबाट पार्टीकै अभियानमा उत्रिएको हुँ । पार्टीको निर्णय र जिम्मेवारी बमोजिम नै अब जनतासँग जोडिन आइपुगेको छु ।

उपराष्ट्रपति भएर राजनीतिको भोक नमेटिएकै भएर हो कि, पार्टीमा मेरो आवश्यकता छ भनेर हो ? राजनीतिमा फर्किने निचोड कसरी निकाल्नुभयो ?

नेपाली जनताको लक्ष्य पूरा भएको छैन । लोकतान्त्रिक गणतन्त्र मात्रै नेपाली जनताको चाहना होइन । नेकपा माओवादीको पनि त्यति मात्र चाहना होइन । यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नु छ । र, त्यो काम बाँकी नै छ । समाजवादी गणतन्त्रमा देशलाई रुपान्तरण गर्नका लागि क्रान्तिकारी पार्टी, क्रान्तिकारी समुदाय र दलहरूको आवश्यकता पर्छ । समाजवादी क्रान्ति गर्नका लागि उत्पादनसँग जोड्नुपर्छ । देशमा उत्पादनमुखी अजेन्डाको आवश्यकता पनि हो ।

उत्पादनले मात्रै देश समृद्ध हुन्छ र समाजवादको आधार तयार हुन्छ । हामी लोकतान्त्रिक गणतन्त्रमा त आएका छौं तर समाजवादमा पुगेका छैनौं । त्यस कारण समाजवादी यात्रामा जोडिनुपर्छ भन्ने निचोडसहित फेरि राजनीतिमा फर्किएको हुँ ।

भनेपछि तपाईं उपयुक्त बेलाको खोजीमा हुनुहुन्थ्यो, प्रचण्डले नै चाहेपछि त्यो अवसर अहिले मिल्यो र निस्कनुभएको हो ?

म त सर्वहारा वर्गको सदस्य हुँ नि । कम्युनिष्ट सिद्धान्त, विचारअनुसार नमर्दासम्म त्यो विचार, त्यो सिद्धान्तको पक्षमा लडिराख्ने मैले पहिल्यै कसम खाएर आएको हुँ । यो एउटा कम्युनिष्ट सदस्यको दायित्व र जिम्मेवारी पनि हो । कम्युनिष्ट सिद्धान्त र यो व्यवस्थाको रक्षा गर्नु मेरो पनि कर्तव्य हो ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबै कार्यविभाजन हुन् । बेला-मौकामा, परिस्थितिमा त्यो जिम्मेवारी सम्हाल्ने कुरा हुन् । मुख्य त जनताको मुक्ति, समाजवादी क्रान्ति र देशलाई समृद्ध बनाउन र साम्यवादमा पुग्न संघर्ष गर्नु हामी सबैको कर्तव्य हो । त्यसैले त्यो कर्तव्य मैले पूरा गर्न लागेको हुँ ।

राष्ट्रपति, उपराष्ट्रपति जस्तो सम्मानित पदमा पुगेर फेरि राजनीतिमा फर्किँदा त्यो पदको गरिमा र मर्यादा रहेन भनेर आलोचना पनि भइरहेको छ, तपाईंको जवाफ के हो ?

बुझाइमा अन्तर हो । एउटा कुरा त संविधान र कानुनको कुरा हो । अर्को, लक्ष्य, उद्देश्य पूरा भयो कि भएन भन्ने कुरा हो । गणतान्त्रिक लोकतन्त्र मात्रै हाम्रो अन्तिम लक्ष्य होइन । लोकतान्त्रिक गणतन्त्रमा जे-जति सरकारी मूल्य, मान्यता, प्रतिष्ठा जो हुन्छ, त्यो आफ्नो ठाउँमा छ ।

मुख्य कुरा समाजवादी क्रान्ति हो । त्यो अभिभारा पूरा गर्नु सबैको कर्तव्य हो । त्यसैले अनावश्यक तर्क, अनावश्यक बहस, अनावश्यक टीका-टिप्पणी गर्न जरुरी छैन । सबै समाजवादी यात्रामा लम्किने हो । यो यात्रामा सबै एकजुट भएरै हिँड्नुपर्छ । त्यसैले आलोचना गर्नेहरूको बुझाइ ठिक ठाउँमा छैन ।

उपराष्ट्रपतिको गरिमा, सुविधा सबै त्यागेर राजनीतिमा फर्किनुभएको हो ?

उपराष्ट्रपतिको गरिमा घट्ने कुरा हुँदैन । सुविधा त अहिलेसम्म दिइएकै छैन । दिएको भए पो त्याग्नु । विधेयक नै बनेको छैन । अहिले जति पनि उपप्रधानमन्त्री, पूर्व पदाधिकारीहरुले जे-जति लिइराख्नुभएको छ, त्यो विधेयकअनुकूल होइन । कसैले सुविधा लिएको छ भने त्यो कानुनै छैन । त्यसैले कसैले लिइराख्नुभएको छ जस्तो लाग्दैन ।

अहिले कुनै न कुनै अजेन्डा र मुद्दा बोकेर नेपाली सडकमा छन्, नेपाली राजनीति कुन मोडमा छ जस्तो लाग्छ ?

हामी समाजवादी क्रान्तिको मोडमा छौँ । अब लोकतान्त्रिक गणतन्त्रबाट समाजवादी क्रान्तिमा फड्को मार्ने हो । त्यसका लागि दलहरूले तयारी पनि गरिराखेका छन् । उत्पादन संघर्षमा देशलाई होमेर समाजवादको आधार तयार पार्नुपर्छ । उत्पादनमा सबै होमिनुपर्ने मोडमा आइपुगेको छ । राजनीतिक रूपमा गणतन्त्रलाई सुदृढ गर्दै जाने हो ।

तपाईं साम्यवादको कुरा गर्नुहुन्छ, यो बेला गणतन्त्रमाथि नै प्रहार भइरहेको छ र गणतन्त्रवादीविरुद्ध नै आवाज उठिरहेको छ नि ?

अहिले गणतन्त्रप्रति विविध प्रश्न उठाउने तप्का पनि छन् । तर गणतन्त्रलाई सुदृढ गर्ने कुरा, लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध गराउँदै, स्थापित गराउँदै जाने कुरा अझै बाँकी छ । गणतन्त्र सुदृढ भइनसकेको बेलामा विविध प्रवृत्ति र तत्वहरूसँग टकराउनुपर्छ । टकराउनुपर्ने आवश्यकता र स्वभाविक पनि हो । त्यस्ता पछौटे चिन्तन, पछौडे विचार स्वतः पछि पर्छन् ।

गणतान्त्रिक चिन्तन, समाजवादी विचार स्वतः अगाडि बढ्दै जान्छ । जनताले कुरा बुझ्दै जान्छ । समाजमा जहिले पनि प्रश्चगामी प्रवृत्ति अथवा प्रतिगामी प्रवृत्ति हुन्छ । तर एउटा अग्रगामी प्रवृत्तिको टक्कर जहिले हुन्छ र अग्रगामी प्रवृत्ति नै हाबी हुन्छ, विजयी हुन्छ ।

राजनीतिक अभियानमा जनतासँग जोडिनुभएको छ, सडकमा आउनुभएको छ, नागरिकले के भनिरहेका छन् ? सन्तुष्ट छन् ?

जनता सकारात्मक छन् । गणतन्त्रप्रति आशावादी र उत्साहित छन् । परिवर्तन आत्मसात गरेका पनि छन् । तर कतिपय कुरामा आफ्नो जीवनस्तर परिवर्तन नभएका कारण अथवा व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएको छैन भन्ने परेको छ र गुनासा पनि छन् । केही असन्तुष्टि छन् । त्यसलाई पनि सकारात्मक दिशामा लैजानुपर्छ । धैर्य गर्नुपर्छ, असन्तुष्टिलाई बदल्नुपर्छ, सम्बोधन गर्नुपर्छ ।

योभन्दा अर्को विकल्प पनि हामीसँग छैन । विकास निर्माणका कुराहरू कतै पुगेको होला, कतै नपुगेको होला तर देशले गणतन्त्रपछि गति लिएकै छ । जति चाहेको हो उति भएको छैन तर क्रमशः विकास भइरहेकै छ । उद्योगधन्दा कलकारखाना, पुँजीवादी क्रान्ति, औद्योगिक क्रान्ति जति हुनुपर्ने हो, भइराखेको छैन । तैपनि, समग्रमा गति समातेको छ देशले ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?