+
+
Shares

ट्रम्पले चीनको आयातमा पुर्‍याए २४५ प्रतिशत भन्सार

ट्रम्प प्रशासनले चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत भन्सार शुल्क वृद्धि गरी भन्सार शुल्क २४५ प्रतिशत पुर्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १९:०१

३ वैशाख, काठमाडौं । अमेरिकाले चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत भन्सार शुल्क वृद्धि गरेको छ । योसँगै अमेरिकी बजारमा चिनियाँ सामानमाथि कुल २४५ प्रतिशत भन्सार शुल्क लाग्ने भएको हो ।

११ अप्रिलमा चीनले अमेरिकी सामानमाथि १२५ प्रतिशत भन्सार शुल्क वृद्धि लगाएको जवाफमा ट्रम्प प्रशासनले यो निर्णय लिएको हो । ह्वाइट हाउसले मंगलबार प्रकाशित गरेको फ्याक्टसिटमा भन्सार शुल्क वृद्धि उल्लेख छ ।

चीनको प्रतिक्रिया : हामी व्यापार युद्धबाट डराउँदैनौं

अमेरिकाले भन्सार शुल्क थप वृद्धिको घोषणा गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ । चीनले फेरि एकपटक अमेरिकासँग संवाद गर्नुपर्नेमा जोड दिँदै भनेको छ, ‘हामी व्यापार युद्ध (ट्रेड वार) गर्नबाट डराउँदैनौं ।’

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘यदि अमेरिका साँच्चै संवाद र समझदारीको माध्यमबाट समस्याको समाधान चाहन्छ भने उसले अनावश्यक दबाब, धम्की र ब्ल्याकमेल गर्न बन्द गर्नुपर्छ । संवाद समानता, सम्मान र आपसी हितको आधारमा हुनुपर्छ ।’

लिनले थपेका छन्, ‘२४५ प्रतिशत अमेरिकी भन्सार शुल्क वृद्धिमा कुन सामानमा कति कर लाग्छ भन्ने तपाईंहरू अमेरिकासँग सोध्नुहोस् । यो भन्सार शुल्क वृद्धि युद्ध अमेरिकाले सुरु गरेको हो, हामीले होइन । हामी त अमेरिकाको प्रतिक्रियाको जवाफ दिइरहेका छौं– हाम्रो कदम तर्कसंगत र कानुनी छ ।’

मंगलबार अमेरिकी राष्ट्रपतिले ट्रम्पले निर्णय गर्ने पालो चीनको रहेको बताएका छन् । ‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ,’ राष्ट्रपति ट्रम्पका प्रेससचिव कारोलिन लेभिटले पढेर सुनाएको विज्ञप्तिमा भनिएको छ ।

यसप्रति बेइजिङको तर्फबाट लीनले बुधबार प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाले नै यो भन्सार शुल्क युद्ध सुरु गरेको हो । चीनको अडान स्पष्ट छ कि भन्सार युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेमा यसको सामना गर्न डराउँनेछैन ।’

ब्लूमबर्गको रिपोर्ट अनुसार चीन सरकारले आफ्ना एयरलाइन कम्पनीहरूलाई अमेरिकी विमान निर्माता बोइङबाट नयाँ विमान नलिन आदेश दिएको छ । साथै, अमेरिकामा बनेका विमानका पाट्र्स र डिभाइसहरूको खरिद पनि रोक्न भनिएको छ ।

यो निर्णय ट्रम्प प्रशासनले चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क वृद्धि गरेका बेला आएको थियो ।

बोइङ अमेरिकाको सबैभन्दा ठूलो निर्यात कम्पनी हो र यो विश्वको तेस्रो ठूलो डिफेन्स डिलर पनि हो ।

यसअघि अमेरिकालाई जवाफ दिंदै चीनले ७ थरी दुर्लभ तथा बहुमूल्य धातुको निर्यातमा पनि रोक लगाएको छ । यी धातुहरू कार, ड्रोन, रोबोट, मिसाइलजस्ता उपकरण बनाउने उद्योगका लागि अत्यन्त आवश्यक मानिन्छन् ।

४ अप्रिलमा जारी आदेशअनुसार, अब यी धातुहरू र तिनबाट बनेका विशेष चुम्बक विशेष अनुमति (स्पेशल परमिट) लिएर मात्र चीनबाट निर्यात गर्न पाइनेछ ।

चीनको यो निर्णयसँगै अटोमोबाइल, एयरोस्पेस र सेमीकन्डक्टर कम्पनीहरू प्रभावित हुनेछन् । यसबाट गाडी, हवाइजहाज, इलेक्ट्रोनिक चिप र हतियारहरू पनि महँगा हुनेछन् । यो निर्णयले अमेरिका मात्र नभई विश्वका थुप्रै विकसित अर्थतन्त्रहरूलाई असर पार्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?