+
+
Shares
घनश्याम भूसालसँग वार्ता :

‘पार्टीहरूको पञ्चायतीकरण र नेताको राजाकरणले गणतन्त्रको रक्षा हुँदैन’

म के कुरामा आशावादी छु भने हाम्रो राष्ट्रिय अवसरहरूमा लिडरहरूको खेलबाडले, त्यसअर्थमा दलाल पूँजीवादसँगको गठजोडले मुलुकमा जस्तो संकट ल्याएको छ, र यो संकटका प्रति जुन आक्रोश, उकुसमुकुस र मौनता छ यसभित्र रूपान्तरणको ठूलो शक्ति छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते २१:५०

राजावादी र गणतन्त्रवादी पक्षधरबीच ध्रुवीकरण बढिरहेका बेला नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले आफ्नो भिन्न मत सार्वजनिक गरेका छन् । मार्क्सवादी अध्येता भूसालले यी दुवै पक्षधरलाई लोकतान्त्रिक अभ्यासका समस्या भनेका छन् ।

मुलुकको आजको खास समस्या बेरोजगारी र कुशासन भएको उनको निष्कर्ष छ । बेरोजगारी र कुशासनकै कारण सिर्जित समस्यालाई गणतन्त्रवादी र राजावादीहरूले आफ्नो पक्षमा प्रयोग गर्न खोजिरहेको भूसाल बताउँछन् । उनै महासचिव भूसालसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीः

सरकारको नेतृत्व गरिरहेका नेताहरूले मुलुकको समस्या दुर्गा प्रसाईंं, पूर्वराजा ज्ञानेन्द्र र सामाजिक अराजकता भनिरहेका छन् । त्यसमा तपाईंले भिन्न निष्कर्ष राखिरहनुभएको छ । यस्तो मत आवश्यक हो ?

ज्ञानेन्द्र शाह यसरी आउनु, यो दममा बोल्न सक्नु, (बोल्न पाउनु उनको अधिकार हो, त्यो अलग कुरा हो) तर यस्तरी बोल्न सक्नु हाम्रो गणतान्त्रिक नेतृत्वको भयंकर बेइज्जती हो । त्यो लज्जाजनक कुरा हो । त्यसअर्थमा यो समस्या हो । तर सबभन्दा ठूलो समस्या आजको लिडरसीपको समस्या हो ।

गणतन्त्रको लिडरसीप गणतान्त्रिक नभएको हुनाले, गणतन्त्रका लागि लायक नभएको हुनाले, हाम्रो संविधानले जे परिकल्पना गर्छ, जुन उदारताको, जुन लोकतान्त्रिक प्रक्रिया र सहिष्णुताको, जुन उचाइको परिकल्पना गर्छ, नेताहरूलाई हेर्नुस् त कत्रा वामपुड्के देखिन्छन्, यिनीहरू । असाधरण छोटा छन् ।

त्यसले गर्दा गणतन्त्रका नेतृत्वको नालायकी लुकाउनलाई चैत १५ को घटना एउटा बाहना बन्यो भन्ने लाग्छ । त्यसअघि वर्तमान लिडरसिप भएन भन्ने बहस हुँदै थियो । सत्ताधारीहरू पनि यो विषयबाट ध्यान अन्त लैजान चाहन्थे, किनकि आफ्नो नालायकीको पोल नखुलोस् ।

अर्कातिर लोकतान्त्रिक प्रक्रिया राम्ररी अगाडि गयो भने पपुलिस्ट र पुनरुत्थानवादीहरूको ठाउँ हुँदैन । उनीहरू पनि लोकतान्त्रिक प्रक्रियामाथि आक्रमण गर्न चाहन्छन् । र, दुवै खाले तत्वहरू लोकतन्त्रका समस्या हुन् ।

त्यो घटना प्रायोजित थियो ?

प्रायोजित होइन । तर त्यसबाट मौका पाए । कहिलेकाही सत्ताले यस्ता घटना आफैं पनि निम्त्याउँछन् । त्यसमाथि यो घटना त बाँदरलाई लिस्नो जस्तो भयो ।

तीनकुने घटनालाई राप्रपा लगायत शक्तिले सत्ताकै चलखेल भनिरहेको छ । तपाईंले पनि सत्ताधारीकै कमजोरीबारे बताउनुभयो, त्यसले शंका त हुने भयो नि ?

दुवैको राजनीति भयो । मैले लेखेकै छु– यो देशको दुर्गतिका लागि नेताहरू जुन जिम्मेवार छन्, त्यो जिम्मेवारीका लागि यिनीहरू आफैं बस्नुपर्ने जेलमा समेत ज्ञानेन्द्र र दुर्गा प्रसाईंंलाई हाल्न चाहन्छन् ।

कुशासन र बेरोजगारीले दुर्गा प्रसाईंंहरू निकालिरहन्छ । दुर्गा प्रसाईंंहरूलाई जेल पठाएर एकैछिनलाई समस्या ठीक भएको पनि देखिन्छ । तर, यस्ता दुर्गा प्रसाईंंहरू निक्लिरहन्छन् । र हाम्रो जस्तो गणतन्त्र सधैंभरी संकटमा रहिरहन्छ ।

अहिले सत्ताधारी गठबन्धन त्यो घटना देखाएर आफूलाई ठीक भनिरहेका छन् । कस्तो दुर्भाग्य भने दुर्गा प्रसाईंको तुलना गरेर ओलीजी, देउवाजीलाई हामीले समर्थन गर्नुपर्नेछ । यिनीहरू (दुर्गा प्रसाईंहरू) बेठिक भनेर तुलना तिनीहरूसँग (ओली–देउवाहरू) हुनेभयो । यिनीहरू (ओली–देउवाहरू) को नालायाकी देखाएर उनीहरू (प्रसाईं) ले आफ्नो श्रेष्ठता बजारमा भन्ने भए । यो अप्ठ्यारो अवस्था हो ।

जुन उचाइका साथ दुर्गा प्रसाईंंका गतिविधि एजेण्डा बनिरहेका छन्, त्यो उचाइमा अन्तर्वस्तु नबन्नुपर्ने थियो ?

यो भन्दा अझै लफङ्गाहरू पनि आएका छन्, धेरै मुलुकहरूमा । यस्तो बेलामा आउँछन् । त्यो लफङगा जमात विभिन्न वर्गमा हुन्छन् । पुँजीपति वर्गमा मेन स्ट्रिममा नरहन सक्छ । राजनीतिको पनि मेन स्ट्रिममा नरहन सक्छ । मध्यम वर्गको मेन स्ट्रिममा नरहेको हुन सक्छ । यी सबै मिलेर लफङ्गो वर्ग बन्ने हो । यो हरेक समाजमा थोरधेर हुन्छ । र, जब शासकहरू नालायक हुन्छन्, यस्तै बेलामा सानै घटनामा पनि लफङ्गाहरूले समाजलाई ठूलै प्रभाव पारिदिन सक्छन्, सुखेको घरबारी जस्तो ।

यो लिडरसीपसँग जोडिने कुरा हो । लिडरसीप भनेको व्यक्तिगत कुरा गरेको छैन । उनको नीतिहरूका, उनले तय गरेको बाटो, स्वयं गणतन्त्रलाई कसरी बुझेका छन् भन्ने कुरा हो । गणतन्त्र भनेको अहिले उपलब्ध लिडरसीपको हिसाबले भन्ने हो भने सत्तामा जाने हो, एकहिसाबले भन्दा त्यो सत्ता शक्तिको अभ्यास गर्ने हो ।

सत्ता–शक्तिको अभ्यास गर्न पैसा चाहिन्छ । सजिलो पैसा उपलब्ध गराउने वर्ग छ, दलाल पुँजीपति । त्यो दलाल पुँजीपतिले पनि यस्तै नेताहरू चाहन्छ । त्यसैले दुवैको आवश्यकता पुग्छ । अनि, त्यो पैसा पार्टी र पार्टीभित्र आफ्नो गुट बलियो बनाउन प्रयोग हुन्छ ।

अनि, दलाल पुँजीपतिको सेवामा राज्यका नीतिहरू तय हुन थाल्छ । दलाल बिचौलियाहरूको स्वार्थ र नेताहरूको स्वार्थले मुलुकमा उत्पादक पुँजीको विस्तार रोक्दिन्छ । उत्पादक पुँजीको विस्तार रोक्ने भनेको रोजगारी सिर्जना गर्ने पुँजी रोक्नु हो ।

त्यसले व्यापार गर्छ । कानुनको पनि व्यापार गर्छ, राजनीतिको व्यापार गर्छ । नीतिहरूको व्यापार गर्छ । ठेक्कापट्टा र अरु वस्तुहरूको पनि व्यापार गर्छ । त्यसैले त्यो दलाल पुँजीपति वर्ग हो । त्यसका स्वार्थमा यिनीहरू काम गर्छन्, र हाम्रो पुँजी उत्पादक हुने जुन प्रक्रिया छ, त्यो अवरुद्ध हुन्छ । यसले बेरोजगारी सिर्जना गर्छ । त्यो बेरोजगारीमा दुर्गा प्रसाईंंहरूले आगो बाल्छन्, ज्ञानेन्द्रहरूले आगो बाल्छन् । र, हाम्रो जस्तो समाज जहिल्यैसुकै संकट पछि संकटमा रहिरहन्छ ।

गणतान्त्रिक नेतृत्वले गर्नुपर्ने काम नगर्दा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंंहरू आए भन्ने सकिन्छ ?

गर्नुपर्ने नगरेको भनेर अमूर्त कुरा नगरौं । हुनुपर्ने सुशासन र रोजगारी नगर्दाको समस्या हो । दलाल पुँजीवादले मुलुकलाई सुशासन हुन दिँदैन । किनभने गलत काम गरेर नाफा जम्मा गर्नुपर्ने हुन्छ । त्यसका निम्ति अदालतलाई प्रभाव पार्छ । संसद्लाई प्रभावित पार्छ । कुन कानुन पास गर्ने, कसको सुनुवाइ के गर्ने, कसमाथि महाअभियोग लगाउने, कसलाई रातारात ठूलो नेता बनाएर निकाल्ने, कसलाई डुबाउने, कसलाई फर्जी मुद्दा लगाइदिने भन्ने तय गर्छ । जस्तो– कयौं इमान्दार कर्मचारी, जसले नेताले भनेको काम नमान्दा कारबाहीमा परेका र मुद्दा खेप्नु परेको छ ।

ठूल्ठूला काण्डहरू राष्ट्रिय सहमतिमा हुन्छन् । जस्तो– बालुवाटार काण्ड, गिरिबन्धु । यी एउटै पार्टी र नेताले गर्ने कुरा होइनन् । तर, सबैलाई मिलाउँछन् र मुलुकलाई सुशासन दिँदैन । त्यसको स्वार्थका कारणले उत्पादक पुँजीलाई विकसित हुन दिँदैन । राष्ट्रिय पुँजीको विकास हुँदैन । र रोजगार सिर्जना हुँदैन ।

कांग्रेसभित्र लोकतन्त्रको कुरा गर्ने मान्छे रुँदै हिँडेको देखिन्छ । कांग्रेसमा डाँको छोडेर मान्छे रुन पाइन्छ । एमालेमा त डाँको छोडेर रोयो भने पनि उसलाई कारबाही हुन्छ । यसरी पार्टीहरूको पञ्चायतकरण भइरहेको छ । नेताहरूको राजाकरण हुँदैछ, जो गणतन्त्रका लागि यो खतरा हो ।

बेरोजगारी बढेपछि त्यसैमा आगो बाल्ने काम हुन्छ । कुशासन र बेरोजगारीले दुर्गा प्रसाईंंहरू निकालिरहन्छ । दुर्गा प्रसाईंंहरूलाई जेल पठाएर एकैछिनलाई समस्या ठीक भएको पनि देखिन्छ । तर यस्ता दुर्गा प्रसाईंंँहरू निक्लिरहन्छन् । र हाम्रो जस्तो गणतन्त्र सधैंभरी संकटमा रहिरहन्छ । जसलाई मैले संकटहरूको पुनर्उत्पादन भइरहने प्रवृत्ति छ भन्ने गरेको छु ।

नेकपाको संक्रमणसँगै आएका दुर्गा प्रसाईंंहरूबाट सिर्जित समस्याको उत्कर्ष कस्तो होला ?

यही घटना कसरी जाला भनेर धेरै सोचेको छैन । तर, राजतन्त्र आफैं आउँदैन । किनभने, इतिहासको एउटा कालखण्डको उपज हो, राजतन्त्र । त्यो भनेको जमिनदारहरूको शासन हो । जस्तो– रुपन्देही जिल्लाको सबै जमिन दुई तीन वटा जमिनदारहरूको हुन्थ्यो । त्यहाँ बस्ने मान्छेहरू जमिनदारका कामदार हुन् । लगाए–खटाए बमोजिमको काम गर्ने कामदार । उनीहरू एकप्रकारले भूदास हुन् ।

ती भूदासहरूको जात दिने, जात लिने, न्याय–निसाफ, विहेबारी, अपराध र पुरस्कारको बन्दोबस्त जमिनदारहरूले गर्थे । यसर्थ जमिनदारले शासन गर्ने व्यवस्था राजतन्त्रात्मक सामन्ती व्यवस्था हो । त्यो त तलैबाट गइसक्यो । हाम्रो परिवार पनि त्यस्तो रहेन । समुदायहरू त्यस्ता रहेनन् । अर्थतन्त्र त्यस्तो रहेन । त्यसैले राजतन्त्र आउँदैन ।

तर, राजतन्त्रको नाममा सामाजिक लफङगाहरूले हामीलाई अत्याइरहनेछ । धर्मको नाममा अरुले अत्याइरहनेछन् । धेरै मानिसहरू बेरोजगार हुँदै गए भने अरु साम्प्रदायिक कुराले अत्याइरहनेछन् । जस्तो– हिन्दू र मुस्लिम दंगा हेर्नुभयो भने त्यहाँ दुवैतिर बेरोजगारहरू जम्मा हुन्छन् । त्यसैले यस्ता संकट निरन्तर बढिरहनेछ अनेक नाममा । यो चाहिँ चिन्ताको कुरा हो ।

अहिले राजा चाहिन्छ भन्नेहरू भोलिकै अर्कै कुरा लिएर आउन सक्छन् ?

धेरै मान्छेहरूले भन्छन्– जस्तो काठमाडौंको चुनावमा पुराना नेताहरू सधैं आइरहे भनेर बालेनलाई जिताए । अहिले बालेनलाई जिताएको एउटा हिस्सा चाहिँ यसमा (दुर्गां प्रसाईंको अभियान) पनि गयो भन्छन् । त्यो भनेको दुर्गा प्रसाईंं भएन भने उनीहरू अर्कैथोकमा जान्छन् ।

भोलि अर्कै मुलुकको नाममा जिन्दावाद भन्न सक्ने जमात हो, यो । यसलाई समाजको कचडा वर्ग भन्छन् । यस्ता वर्ग जहाँ पनि हुन्छन् । तर मुलुकलाई नै कमजोर पार्दै लैजाने, अर्थतन्त्र त्यस्तै हुँदै जाने, व्यक्तिका सुरक्षा हुँदैनन् र स्वतन्त्रता सीमित हुँदै जान्छन्, त्यस्तो बेलामा सबै मिल्छन् । यस्ता लफङ्गाहरू पनि त्यसैमा मिसिन्छन् । श्रमजिवीहरू नगई सुख पाउँदैनन् । मध्यम वर्ग अहिले हत्तप्रद छन् । किनभने उद्यम छैन ।

पैसा राम्ररी सुर्कुलेट भयो भने मध्यम वर्गले राम्ररी जीवन बिताउने हो । त्यो भइरहेको छैन । त्यसले गर्दा मध्यम वर्ग पनि समस्यामा छ । राष्ट्रिय पुँजीपति त हाम्रो मुलुकमा जहिल्यै समस्यामा छ । श्रमजीवी पनि समस्यामा छन् । यस्तो बेलामा लम्पेनहरू समेत मिलेपछि आक्रोशले जे पनि हुन सक्छ ।

तर तपाईंले भनेको लफङगाहरूसँग किन यति धेरै भयभित राजनीतिक नेतृत्व ?

सबैभन्दा ठूलो कुरा त अहिलेको लिडरसीपले नैतिक प्राधिकार गुमाएको छ । अहिलेका लिडरसीपको ठूलो हिस्साले त २०६२/०६३ सालतिरै विश्वास गुमाइसकेका थिए । बानेश्वरको सडकमा बसेर कान समातेर अब यस्तो लफङ्गा गर्दिनँ भनेपछि दुनियाँले मान्दै आएको अवस्था हो । करिब–करिब त्यही लिडरसीप अहिले पनि रजगज गर्दैछ । अनि, अनेक विवाद र काण्डहरूमा छन् । पार्टीभित्र पनि गर्नु–नगर्नु गरेका छन् ।

राजतन्त्रको नाममा सामाजिक लफङगाहरूले हामीलाई अत्याइरहनेछन् । धर्मको नाममा अरुले अत्याइरहनेछन् । धेरै मानिसहरू बेरोजगार हुँदै गए भने अरु साम्प्रदायिक कुराले अत्याइरहनेछन् ।

पार्टीभित्र यिनीहरूले गरेको काम अलग राखेर तपाईंले मुलुकको संकट हेर्न सक्नु हुन्न । किनभने, गणतन्त्र लोकतन्त्रमा पार्टी नै बाहक हो, र कर्ता हो । पार्टीको आन्तरिक जीवन नै लथालिङ्ग भएपछि, पार्टीभित्रै पञ्चायत तन्त्र भएपछि बाहिर लोकतन्त्र दिँदो रहनेछ ।

पार्टीहरूभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्यो भने गणतन्त्रको रक्षा गर्ने सामर्थ्य बनाउन सक्दैन ?

पञ्चायत ढाँचामा बनेका राजनीतिक पार्टीले (राजासहितको पञ्चायत जस्तो अभ्यास पार्टीहरूभित्र छ) लोकतन्त्रको रक्षा गर्छु भन्नु बेकार कुरा हो । त्यस्ता पार्टीहरूले गणतन्त्रको रक्षा गर्दैनन् । भन्दा राम्रो सुनिँदैन । तर गणतन्त्र सुरक्षित देख्दिनँ ।

गणतन्त्र सुरक्षित गर्ने दायित्व त ल्याउनेहरूकै होला नि ?

हो । दुर्भाग्य ! लिडरसीप हिजो पनि टेस्टेड थियो, तर हाम्रा पार्टीहरूभित्रको मान्यताका कारणले लिडरसीप लिडरसीपमै रह्यो । उसले पार्टीभित्र पनि माफी माग्यो, बाहिर पनि माफी मागेपछि होला नि त भनेर मान्छेले शंकाको सुुविधा दिए ।

तर पछिल्ला दिनहरूमा त्यही लिडरसीप दलाल पुँजीपतिसँग गठजोड गर्दै स्थापित भइरह्यो । अहिले गभर्नर छान्न नसक्नुमा दलाल पुँजीपतिहरूको स्वार्थ नै कारण छन् भन्दा अतिरञ्जना हुँदैन ।

हिजो राजाका पालामा पुँजी बजारको विस्तार अहिले जति थिएन । राजश्व नै त्यत्रो जम्मा हुँदैन थियो । अहिले आर्थिक अवसरहरू खुलेका छन्, खासगरी दलाल पुँजीवादी विकासका लागि ।

मैले पटकपटक भनेको छु– मुलुकमा बाटो बढेको हो । मोबाइल फोन बढेको हो । शिक्षालय बढेको हो । स्वास्थ्य चौकीहरू बढेको हो । रेस्टुुरेन्टहरू बढेको हो । तर, यो सबै मान्छेले खर्च गर्ने ठाउँहरू हुन् । देशमा नभएको त श्रमिक र किसानको आय बढ्ने काम नभएको हो ।

रोजगारी सिर्जना नगर्ने र उद्यम नखोल्ने पुँजी र नाफाले पार्टीहरूको लोकतन्त्रलाई हाइज्याक गरेको छ । कांग्रेसभित्र लोकतन्त्रको कुरा गर्ने मान्छे रुँदै हिंडेको देखिन्छ । कांग्रेसमा डाँको छोडेर मान्छे रुन पाइन्छ । एमालेमा त डाँको छोडेर रोयो भने पनि उसलाई कारबाही हुन्छ । यसरी पार्टीहरूको पञ्चायतीकरण भइरहेको छ । यो चाहिँ लोकतन्त्रका लागि खतरा हो । पार्टी नेताहरूको राजाकरण जो हुँदैछ, गणतन्त्रका लागि यो खतरा हो ।

जहाँ समस्या छ, त्यहीबाट सुधार थाल्ने होला नि त ?

हो । पार्टीहरूभित्रै सुधार नभइकन, अझ नेकपा एमालेभित्रको सुधार भन्छु म । किनभने कांग्रेसलाई संघीयताको मुद्दामा जे भए पनि हुन्छ, धर्म निरपेक्षताको मुद्दामा जे भए पनि हुन्छ, अरु सबै मामलामा जेसुकै भए पनि हुन्छ, उसलाई १८ वर्ष पुगेका मान्छेले भोट दिन पाउनुपर्छ । बस् यति भयो भने कांग्रेस जहाँ पनि जान तयार छ । कांग्रेसको बनोट नै त्यस्तै हो ।

बीपीले (राजासँग) कहिले घाँटी जोडेका थिए, कहिले सशस्त्र संघर्ष गरेका थिए । यो रेञ्जमा त जे भने पनि पाइयो नि सिद्धान्तको कुरामा । ओखलढुंगा संघर्षदेखि राष्ट्रिय मेलमिलापसम्म सिद्धान्तका जे कुरा गर्दा पनि भयो कांग्रेसलाई । त्यसैले कांग्रेस आफैंमा लोकतन्त्रको रक्षा गर्ने वा नगर्नेमा निर्णायक हुँदैन । जहाँ जस्तो परिस्थिति आउँछ, आफूलाई एडजस्ट गरिहाल्छ ।

अहिलेका लिडरसीपको ठूलो हिस्साले त २०६२/०६३ सालतिरै विश्वास गुमाइसकेका थिए । बानेश्वरको सडकमा बसेर कान समातेर अब यस्तो लफङ्गा गर्दिनँ भनेपछि दुनियाँले मानेको अवस्था हो । करिब–करिब त्यही लिडरसीप अहिले पनि रजगज गर्दैछ ।

लोकतन्त्रका लागि एमालेको बनोट, एमालेको लिडरसीप बढी महत्वपूर्ण छ । सम्भावना पनि त्यसैमा छ, खतरा पनि त्यसैमा छ । सम्भावना यसर्थमा कि, आन्तरिक लोकतन्त्रको धेरै राम्रो अभ्यास गरेर आएको परम्परासहितको इतिहास एमालेसँग छ । त्यो सप्पै इतिहासको विरुद्धमा अन्तै हिंडिरहेको यो लिडरसीप छ । यो डरलाग्दो विरोधास एमालेमा छ ।

वर्तमान नेतृत्वले बोध गरेर संकट समाधानतिर जान्छ भन्ने विश्वास गर्नु हुन्छ ?

हामीले पढेको फ्रेन्च रिभोलुसन अथवा रसियन रिभोलुसन भन्नुस्, अथवा जहाँसुकैका राजाहरू, बादशाहरू र सम्राटहरूको कस्तो प्रभाव थियो । तर बिस्तारै तिनका भ्रमका पर्दाहरू खुल्दै जाँदा तिनले साँचो बोल्दा पनि मान्छेले पत्याउँदैनन् । हिजो झुट बोलेर पनि पत्याउँथे ।

जस्तो– केपी ओलीजीले जतिखेर भ्यूटावरको गर्नुभयो, पानी जहाजको सपना देखाउनुभयो । त्यतिखेर प्रशान्त महासागरमा दगुर्ने पानी जहाजले जुम्ली दलितको रोजगारीमा सकारात्मक प्रभाव पार्दैन भने यो प्रतिक्रियावादी मोडेल हो भन्दा मैले थुप्रै गाली खाएँ । अहिले ओलीजीले राम्रो बोल्नुभयो भने पनि सायदै मान्छेले पत्याउँछन् । पत्याए जस्तो गर्यो भने पनि उसले पत्याइरहेको हुँदैन ।

एमालेभित्रको कुरा थाहा भइरहन्छ नि । तिमीले किन टाउँको हल्याइरह्यौ (केपी ओलीले बोल्दा) भन्दा के गर्ने त ? भन्छन्, साथीहरूले (एमाले नेताहरूले) । टाउको हल्लाइरहनुको अर्थ सहमति होइन ।

ओलीजीसहित लिडरसीपको यो पंक्तिले विश्वास गुमाइरहेका छन् । अब उनीहरूले जे भने पनि हुनेवाला छैन ।

कलिङको युद्ध लडेपछि अशोक सम्राटलाई बगेको रगतले समझ आयो भने जस्तै भयो भने, … ।

वर्तमान लिडरसीपमा त्यस्तो सम्भावना पनि देख्नु हुन्छ ?

समाज त समाज हो नि । मान्छे त मान्छे हो नि । म मात्रै स्वतन्त्रतालाई माया गर्छु, एमालेका सारा मान्छेहरू बेइमान छन् भन्नु हुँदैन । केही मान्छे बेइमान छन् । एउटा ठाउँमा पुगेपछि त्यो फेरिनेवाला छ ।

तर, ओलीजीको प्रयोगहरू असफल भए भनेर मैले गनेर बताएको छु । अब यसको नेतृत्वमा यथास्थिति र ओरालो बाहेक अरु छैन । त्यसकारण ओलीजीको लिडरसीप जान्छ, त्यसपछि के हुन्छ भन्नेमा पनि धेरै राम्रो देख्दिनँ ।

मैले कलेजमा रसियन साम्राज्यको पतन पढेको थियो । त्यहाँ एलेक्जेन्डर प्रथमले रिफर्म गर्दै गएको थियो, उनको छोरो आयो एलेक्जेन्डर तेस्रो । उसले ती सबै चिजहरूलाई पल्ट्याइदियो । त्यही क्रममा निकोलस आयो । उसलाई राजपाठ सिकाउन भनेर विभिन्न मुलुकमा पठाइएको थियो, फर्केर आउँदा डायरीमा अर्कै कुरा लेखेर आएको थियो । भनेको नालायक जन्म्यो । त्यो नालायकको पालामै साढे चार सय वर्षको रुसी साम्राज्यको वैभव गल्र्यामगुर्लुम् ढलेर सकियो ।

एमाले कतै त्यो दिशामा जाँदै छैन भनेर डर लाग्छ । हिजो एउटा राम्रो रिफर्मको प्रक्रियाबाट आउँदै थियो । त्यो सबै उल्टियो, ओलीजीको पालामा । आज राम्रो उत्तराधिकारी पनि छैन ।

उत्तराधिकारीको कुरा गर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वमा ल्याएर वाम आन्दोलनलाई नै एकताबद्ध गर्न सकिने सम्भावनाबारे छलफल चलिरहेको छ नि ?

व्यक्तिगत रूपमा विद्याजीसँग केही भन्नु छैन । तर, इतिहासमा क्रिश्चियन र मुस्लिमहरूको छिनाझम्टीमा जब जेरुसेलम मुस्लिमहरूको पकडमा गयो । त्यसपछि त्यहाँ तीन/चार सय वर्ष लामो धर्म युद्ध भयो । त्यस क्रममा एउटा केटाकेटीको युद्ध भन्ने छ । त्यहाँ अनेक लडाईं भए । ठूला र वयस्कहरू लडेर सकेनन्, तिनको आर्मीले सकेनन् । पछि धार्मिक विश्वासले गर्दा केटाकेटीलाई लड्न पठाइयो, किनभने केटाकेटीको संरक्षक त ईश्वर हो । ईश्वरले केटाकेटी मर्न दिंदैन भनेर पठाइयो । र ती केटाकेटीहरू धेरैजसो बेचिए, केही मारिए ।

राजतन्त्रको नाममा सामाजिक लफङगाहरूले हामीलाई अत्याइरहनेछ । धर्मको नाममा अरुले अत्याइरहनेछन् । धेरै मानिसहरू बेरोजगार हुँदै गए भने अरु साम्प्रदायिक कुराले अत्याइरहनेछन् ।

एमाले जतिको पार्टीले अहिले विद्या भण्डारी खोजेर हिड्ने भनेको केटाकेटीले युद्ध जितेर जेरुसेलम फर्काउँछ भने जस्तो मात्र हो ।

पूर्वराष्ट्रपति आउनु समाधान होइन ?

किन आउने उहाँले ? दुईदुई पटक ओलीजीको समर्थन गरेबापत ? जिन्दगीभर ओलीजीको गुटबन्दीलाई सेवा गरेबापत ? आजको समस्या समाधान गर्ने योग्यता त्यो हो ?

त्यहाँ पार्टीमै लागेका तमाम साथीहरू छन् । ईश्वर पोखरेल हुनुहुन्छ, युवराजजी (युवराज ज्ञवाली) हुनुहुन्छ, अष्टजी (अष्टलक्ष्मी शाक्य) हुनुहुन्छ । शंकर पोखरेल आफैं हुनुहुन्छ । विष्णु पौडेल हुनुहुन्छ, सुरेन्द्र पाण्डे हुनुहुन्छ । पृथ्वीसुब्बा गुरूङ, जो माक्र्सवादी सिद्धान्तको राजनीतिक व्याख्या गर्ने योग्य नेता हुनुहुन्छ । अनेक क्षमता भएका साथीहरू हुनुहुन्छ ।

तर समस्या के छ भने त्यहाँ एकले अर्कालाई मान्दैनन् । उहिलेउहिले देशभित्र झगडा भएर एकले अर्कालाई नमान्दा विदेशी ल्याएर राजा माने जस्तै अहिले त्यहाँभित्र (एमालेभित्र) आफूआफू लडेर राष्ट्रपति भइसकेको, त्यो पनि योग्यता देखाउन नसकेको मानिस ल्याउँदा आजको समस्या हल हुन्छ भन्ने लाग्दैन ।

गणतन्त्रवादी, राजावादी, समाजवादी सबैले देशमा समस्या छ भनिरहेकै सुनिन्छ । सबैले भनेको समस्या समाधानको कुनै क्याप्सुल .. ?

क्याम्सुल के हुन्छ र ! एउटा माक्र्सवादी अर्थ–राजनीतिमा चासो राख्ने मानिसका हिसाबले के देख्छु भने हाम्रो जस्तो मुलुकमा रोजगारी सिर्जना र सुशासन नै मुख्य समाधान हो ।

कुशासन र बेरोजगारीले दुर्गा प्रसाईंंहरू निकालिरहन्छ । दुर्गा प्रसाईंंहरूलाई जेल पठाएर एकैछिनलाई समस्या ठीक भएको पनि देखिन्छ । तर यस्ता दुर्गा प्रसाईंहरू निक्लिरहन्छन् ।

राजा र हिन्दूको पटका यस्तरी पड्काइन्छ कि सुशासन र रोजगारीको एजेण्डा हराउँछ । पार्टीहरूले पनि दुर्गा प्रसाईंं आयो खतरा छ भनेर सबैको माइन्ड वास गरिदिन्छन् कि सुशासन र रोजागारीको कुरा ओझेलमा पारिदिन्छन् ।

विदा भएका ज्ञानेन्द्र शाहदेखि हाल नेतृत्वमै रहेका शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालहरू, जो एउटै उमेर समूह हुनुहुन्छ र एकप्रकारले मुलुकको संकटका साझेदार पनि हुनुहुन्छ । अब वर्तमान संकट समाधानका निम्ति कुनै एक्स फ्याक्टर जरुरी छ, अथवा उहाँहरूमै समस्या हल गर्ने विवेक आउने छ ?

अपवादका रूपमा इतिहासमा मानिस बदलिएका छन् भन्ने कुरा घटना हुन् । तर सामाजिक सिद्धान्तका हिसाबले अपवादको पुजा गर्न थालियो भने गए भयो नि त बनारस, नेपालमा सुशासन होस् भनेर । वा मुक्तिनाथमा गएर तपस्या गरे भयो ।

तर, म के कुरामा आशावादी छु भने हाम्रो राष्ट्रिय अवसरहरूमा लिडरहरूको खेलबाडले, त्यसअर्थमा दलाल पुँजीवादसँगको गठजोडले मुलुकमा जस्तो संकट ल्याएको छ, र यो संकटका प्रति जुन आक्रोश, उकुसमुकुस, र मौनता छ यसभित्र रुपान्तरणको ठूलो शक्ति छ ।

गणतन्त्रका विरुद्धमा मुलुक गइहाल्छ भन्ने मलाई लाग्दैन, विभिन्न कारणले । भू–राजनीति हाम्रा लागि चुनौती हो, तर भू–राजनीतिका अरु कतिपय पक्ष गणतन्त्रको सुरक्षामा पनि देखिन्छ । यी सबै हेर्दा उकुसमुकुसले केही चिज बनाउँछ, छलफल सुरु भएको छ ।

अन्त्यमा, शीर्ष नेतृत्व संकटमा छ ?

लिडरसीप र राजनीति छुट्याउन मिल्दैन । जतिखेर गलत मान्छेको हातमा सत्ता छ, र त्यो संकटमा छ । त्यो अवसर पनि हुन सक्छ । लेनिनको भाषामा यस्तोलाई क्रान्तिकारी संकट भनिन्छ ।

सत्ताधारीले सत्ता चलाउन सकिरहेको छैन, उसले भनेको जनताले पत्याउन छोडिसक्यो, उसले सत्ता चलाउँदैन र अरुले मान्दैन । त्यस्तो अवस्थामा नयाँ सिर्जना हुन्छ भनेर लेनिनले भनेको मात्र होइन कि सामाजिक–राजनीतिक सिद्धान्तको कुरा पनि हो ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?